इजरायलको इरानी रक्षा प्रणालीमा भीषण हमला: २०० लडाकु विमान प्रयोग, सयभन्दा बढी निशाना ध्वस्त

इनेप्लिज २०८२ जेठ ३१ गते १०:०७ मा प्रकाशित

इजरायली सेनाले शुक्रबार इरानमाथि अभूतपूर्व हमला गरेको घोषणा गरेको छ। इजरायली रक्षा बलका अनुसार, उनीहरूले इरानको पश्चिमी क्षेत्रमा रहेको हवाई रक्षा प्रणालीमा ‘ठूलो मात्रामा’ हमला गरेका छन्, जसमा २०० लडाकु विमानको प्रयोग गरिएको थियो।

इजरायली रक्षा बलले जारी गरेको विज्ञप्तिअनुसार, यस हमलामा ३३० भन्दा बढी ‘गोलाबारुद’ खसालिएको र इरानभरि १०० भन्दा बढी लक्ष्यमाथि प्रहार गरिएको थियो। ‘हमलाको क्रममा दर्जनौं राडर र जमिनबाट हावामा मार हान्ने क्षेप्यास्त्र उपकरणहरू ध्वस्त पारिएका छन्,’ आइडिएफले बताएको छ।

यसैबीच, इरानी सरकारी सञ्चारमाध्यमले इरानको उत्तरपश्चिमी शहर तब्रिजमा नयाँ इजरायली हमला भएको विवरण दिएको छ। विवरणमा तब्रिजमा विस्फोटपछि धुवाँको ठूलो मुस्लो देखिएको उल्लेख छ। तासनिम समाचार निकायले तब्रिज विमानस्थल ‘हाल इजरायली हमलाको चपेटामा’ रहेको बताएको छ।

फर्ज समाचार निकायले पनि इजरायलले तब्रिजमा हमला गरेको तर थप जानकारी नदिएको उल्लेख गर्दै पूर्वी अजरबैजान प्रान्तका करिब १० स्थानलाई लक्षित गरिएको जनाएको छ।

सिएनएनका अनुसार इजरायलको यस हमलामा इरानको मुख्य आणविक संवर्धन केन्द्र नटान्जमा क्षति पुगेको इरानी आणविक ऊर्जा निकायले जनाएको छ।
राजधानी तेहरानबाट १५० माइल दक्षिणमा अवस्थित यो उच्च-सुरक्षित सुविधामा आणविक ऊर्जाका लागि युरेनियम संवर्धन गर्न प्रयोग गरिने हजारौं सेन्ट्रीफ्युज(घनत्वका आधारमा छुट्याउने उपकरण)हरू छन्।

संयुक्त राष्ट्रसंघीय आणविक निगरानी संस्थाका प्रमुख राफेल ग्रोसीले इरानी अधिकारीहरूले नटान्ज ‘प्रभावित’ भएको पुष्टि गरे पनि विकिरणको स्तर नबढेको बताएका छन्। ग्रोसीले अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकाय समितिका सदस्यहरूलाई इरानका अन्य आणविक सुविधाहरू, इस्फाहान र फोर्डो, ‘प्रभावित नभएको’ जानकारी दिएका छन्।

प्रतिक्रिया