जेष्ठ ३०,२०८२,सन् २०२५ जुन ११ तारिखका दिन नेपाली कूटनीतिक इतिहासमा एक महत्वपूर्ण र गौरवपूर्ण क्षण अभिलेखित भयो। संयुक्त राज्य अमेरिकाका लागि नवनियुक्त नेपाली राजदूत लोक दर्शन रेग्मीले अमेरिकी राष्ट्रपति डोनाल्ड जे. ट्रम्प समक्ष आफ्नो ओहोदाको प्रामाण पत्र (Letters of Credence) प्रस्तुत गर्दै, दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई औपचारिक रूपमा थप प्रगाढ बनाउने दिशामा एक महत्वपूर्ण कदम चाल्नुभयो।
संयुक्त् राज्य अमेरिकाको सेतो घरमा विशेष सम्मान (White House)
विश्वकै सबल लोकतन्त्रको प्रतिक ‘सेतो घर’ अर्थात् व्हाइट हाउसमा आयोजित विशेष समारोहमा राष्ट्रपति ट्रम्पले राजदूत रेग्मीलाई सम्मानपूर्वक स्वागत गर्नुभयो। परम्परागत कूटनीतिक विधिअनुसार सम्पन्न यो समारोहले दुई स्वतन्त्र र सार्वभौम राष्ट्रहरूबीचको ऐतिहासिक सम्बन्ध, आपसी सम्मान र सहयोगको गहिराइलाई पुनः पुष्टि गर्यो ।
ओहोदाका प्रामाण बुझाइसकेपछि, राजदूत रेग्मीले राष्ट्रपतिको समक्ष आफ्नो मन्तव्य राख्दै, नेपालप्रति अमेरिकाले देखाउँदै आएको दीर्घकालीन सहयोग र समर्थनप्रति नेपाल सरकार र जनताको तर्फबाट हार्दिक आभार प्रकट गर्नुभयो। उहाँले विशेष रूपमा विकास, शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन, जलवायु परिवर्तन र लोकतान्त्रिक संस्थाको सुदृढीकरण जस्ता क्षेत्रमा अमेरिकी सहायताको चर्चा गर्दै त्यसले नेपालमा स्थायित्व, समावेशीता र समृद्धि ल्याउने प्रक्रियामा सशक्त योगदान पुर्याएको उल्लेख गर्नुभयो।
नेपाल-अमेरिका सम्बन्धको गहिरो ऐतिहासिक पृष्ठभूमि
नेपाल र अमेरिका बीच औपचारिक कूटनीतिक सम्बन्ध सन् १९४७ मा स्थापना भएको हो। त्यसयता, यी दुई देशबीचको सम्बन्ध केवल राजनीतिक तहमा सीमित नभई, जनस्तरमा समेत बिस्तार हुँदै गएको छ। शान्तिपूर्ण सहअस्तित्व, लोकतान्त्रिक मूल्यप्रति प्रतिबद्धता र मानवीय सहयोगप्रतिको साझा दृष्टिकोणले यो सम्बन्धलाई थप दृढ बनाएको छ।
राजदूत रेग्मीले नेपाल–अमेरिका सम्बन्धको आगामी यात्रामा आर्थिक विकास, जलवायु प्रतिरोधी पूर्वाधार निर्माण, प्राविधिक साझेदारी, युवा शशक्तिकरण, व्यापार तथा लगानी प्रबर्द्धन, सांस्कृतिक आदानप्रदान र शान्ति स्थापनाका क्षेत्रमा सहकार्य गहिर्याउने प्राथमिकता रहेको उल्लेख गर्नुभयो।
राष्ट्रपति ट्रम्पको सकारात्मक प्रतिबद्धता
राष्ट्रपति ट्रम्पले राजदूत रेग्मीको स्वागत गर्दै नेपाली जनताप्रति आफ्नो शुभेच्छा व्यक्त गर्नुभयो। उहाँले नेपालसँगको सम्बन्धलाई अमेरिका अत्यन्त महत्त्वका साथ हेर्ने राष्ट्र भएको पुनः उल्लेख गर्दै, दुवै देशको साझा हित र अन्तर्राष्ट्रिय स्थायित्वका निम्ति सहकार्य जारी राख्ने प्रतिबद्धता जनाउनुभयो।
कूटनीतिक भूमिकामा राजदूत रेग्मीको अनुभव र योगदान
नेपालका वरिष्ठ प्रशासक तथा अनुभवी कूटनीतिज्ञको रूपमा चिनिएका लोक दर्शन रेग्मीले नेपाल सरकारका विभिन्न उच्च पदमा सेवा गरिसक्नुभएको छ। उहाँको समर्पण, दूरदृष्टि र अन्तर्राष्ट्रिय सम्बन्धप्रति गहिरो समझले उहाँलाई नेपालको प्रतिनिधित्व गर्न उपयुक्त व्यक्तित्व बनाएको छ। अमेरिकामा आफ्नो कार्यकालका दौरान, उहाँले नेपाली समुदायसँगको समन्वय, नेपालमैत्री नीति निर्माणमा प्रभावकारी भूमिका तथा आर्थिक र प्राविधिक साझेदारी विस्तारमा क्रियाशील रहने अपेक्षा गरिएको छ।
निष्कर्ष: नयाँ युगको सुरुवात
राजदूत रेग्मीद्वारा ओहोदाका प्रामाण प्रस्तुत गरिएको समारोह केवल एक कूटनीतिक औपचारिकता मात्र थिएन, यो नेपाल–अमेरिका सम्बन्धको नयाँ अध्याय आरम्भ गर्ने अवसर पनि हो। यो घटनाले दुई देशबीचको पारस्परिक सम्मान, साझा हित र दीर्घकालीन सहकार्यलाई अझ सुदृढ बनाउने मार्ग प्रशस्त गरेको छ। भविष्यमा नेपाल र अमेरिकाबीचको सम्बन्ध अझ मजबुत, व्यावहारिक र जनहितमा केन्द्रित हुनेछ भन्ने विश्वासका साथ यो कूटनीतिक पहलको हार्दिक स्वागत गरिन्छ।
डी.बी. तामाङ
प्रतिक्रिया