इजरायली आक्रमणमा ७८ इरानीको ज्यान गयो, ३२० भन्दा बढी घाइते — इरानले राष्ट्रसंघमा गर्यो कडा प्रतिवाद

इनेप्लिज २०८२ जेठ ३१ गते २१:२४ मा प्रकाशित

संयुक्त राष्ट्रसंघमा इरानका स्थायी प्रतिनिधि अमीर सईद इरवानीले शुक्रबार आपतकालीन सुरक्षा परिषद् बैठकमा जानकारी दिँदै भने इजरायली आक्रमणमा अहिलेसम्म ७८ जना मारिएका छन् भने ३२० भन्दा बढी घाइते भएका छन्। 

उनले इजरायलको यस आक्रमणलाई “बर्बर र आपराधिक” भन्दै कडा शब्दमा निन्दा गरे।

इरवानीका अनुसार इजरायलले गरेको हमला मुख्य रूपमा वरिष्ठ सैनिक अधिकारीहरू र आणविक वैज्ञानिकहरूलाई लक्षित गरिए पनि मारिएका मध्ये “धेरैजसो सर्वसाधारण, महिला र बालबालिका” रहेका छन्।

शुक्रबार पनि इजरायलले इरानका विभिन्न शहरमा सैन्य र नागरिक संरचनालाई लक्षित गर्दै आक्रमण जारी राखेको उनले बताए।

इरानी अधिकारीका अनुसार इजरायलले पहिले नै इरानभित्र भित्र्याइएका मानव रहित यान र युद्धक विमान प्रयोग गर्दै इरानको आणविक तथा सैनिक संरचनाको केन्द्रमै आक्रमण गरेको हो। 

यस क्रममा केही उच्च श्रेणीका वैज्ञानिक र उच्च सैनिकहरु मारिएको दाबी गरिएको छ। इजरायली पक्षका अनुसार यो कारबाही अत्यावश्यक थियो किनभने इरान आणविक हतियार निर्माणको नजिक पुगेको थियो।

यस आक्रमणले क्षेत्रीय तनाव झनै चर्किएको छ, र अन्तर्राष्ट्रिय समुदायले तुरुन्तै संयमता अपनाउन आह्वान गरिरहेको छ।

प्रतिक्रिया