माओवादी केन्द्र र एमालेबीचको गठबन्धनको तयारी भइरहँदा सरकार गठबन्धनको बैठक स्थगित

बेद प्रसाद घिमिरे २०८० फागुन २१ गते १०:५८ मा प्रकाशित

आज बिहान ८ बजेका लागि बोलाइएको सत्ता गठबन्धनको बैठक स्थगित भएको छ । गठबन्धनमा तीव्र अविश्वास बढिरहेको अवस्थामा बोलाइएको बैठक स्थगित हुन पुगेको हो ।

माओवादी केन्द्र र एमालेबीचको गठबन्धनको तयारी भइरहँदा आइतबार नेताहरूको दौडधुप चलेको थियो । जसका कारण माओवादी केन्द्रले कांग्रेससँगको सहकार्य तोड्दै एमालेसँग सहकार्यको तयारी गरेको छ । त्यसका लागि गए राति एमाले र माओवादीबीच संक्रमणकालीन न्याय र राष्ट्रियसभा अध्यक्षको निर्वाचनमा मिलेर जाने सहमति भएको छ ।

गठबन्धनको बैठक रोकिएसँगै प्रधानमन्त्री निवास बालुवाटारमा माओवादी केन्द्रको पदाधिकारी बैठक बसिरहेको छ । उता एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा पनि आज बिहान एमाले पदाधिकारीको बैठक बसेको थियो ।

त्यस्तै जसपा अध्यक्ष उपेन्द्र यादवले पनि पार्टीको पदाधिकारी बैठक बोलाएका छन् । यी सबै बैठकहरूमा सत्ता गठबन्धनलगायत समसामयिक राजनीतिक घटनाक्रम मुख्य छलफलको विषय रहेको नेताहरूले बताएका छन् ।

प्रतिक्रिया