अमेरिकामा रहेका नेपाली इन्जिनियर्स (अभियन्ता)संघको इन्जिनियर्स नाइट(रात्री)भव्यताको साथ सम्पन्न

इनेप्लिज २०८० फागुन १३ गते १४:४६ मा प्रकाशित

अमेरिकामा रहेका नेपाली मूलका इन्जीनियर्स (अभियन्ता) को संगठन अमेरिकन सोसाइटी अफ नेपलिज इन्जिनियर्सको डिसी शाखाले आयोजना गरेको इन्जिनियर्स नाइट कार्यक्रम भव्यताको साथ सम्पन्न भएको छ l

गत फेब्रुअरी २४ शनिबारका भर्जिनिया राज्यको फेयरफ्याक्स काउन्टी अन्तर्गत फेयरफ्याक्स शहरमा आयोजना भएको कार्यक्रममा संस्थाका पदाधिकारीहरु ,सदस्यहरु र सदस्यहरुका घर परिवारहरु,अतिथिहरुको उपस्थिति रहेको थियो ।

सन् २००७ मा स्थापित अमेरिकन सोसाइटी अफ नेपलिज इन्जिनियर्स संघले मातृभूमिको लागि थुप्रै कामहरु गरेको छ । तर डिसी शाखा सन् २०११ मा स्थापित भएको हो भने अमेरिकामा केन्द्रको बिभिन्न राज्यहरुमा शाखा रहेका छन् ।

अमेरिकामा यत्रतत्र छरिएर रहेका इन्जिनियर्स (अभियन्ता)लाई समेट्नु ,संलग्न गराउनु ,पेशालाई मर्यादित बनाउदै मातृभूमि तथा नेपाली समुदायरुपमा पेशागत हिसावले सहयोग गर्नु यस संस्थाको मुख्य उद्धेश्य रहेको छ ।

साथै अमेरिकामा अवसर र कामका खोजीमा रहेकालाई संस्था तथा संजाल (नेटवर्क)मार्फत रोजगारमा समेत सहयोग गर्दै आएको यो संस्थाले बिगतमा भूकम्प ,बाढी पहिरो ,छात्रवृति लगायतमा अद्वितीय काम गरेको छ ।

सम्पन्न इन्जिनियर्स नाइटमा कुनै भाषण र खादा नलगाई सिधै डिसी शाखाका अध्यक्ष अभियन्ता(इन्जिनियर)सागर खड्काले स्वागत गर्दै समितिका पदाधिकारीलाई परिचय गराएका थिए । साथै अभियन्ता मंगल दास महर्जनले पनि बोलेका थिए ।

लगत्तै बिभिन्न प्रस्तुतिहरु प्रारभ गरिएको थियो भने आयोजना गरिएको तन्दुरी चमेनागृहका लगभग सबै कुर्सीहरु भरिभराउ भएका थिए । आफू लगायत सबै परिवारहरुको उपस्थिति निकै बाक्लो रहेको थियो ।

सांगीतिक कार्यक्रममा तामाङ्ग सेलो अभियन्ता सुनिता अमात्यले सुरु गरेकी थिइन् भने उनले थप अर्को राम भगवानको भजन प्रस्तुति गरेकी थिइन् । त्यस्तै सांगीतिक कार्यक्रममा केन्द्रका पूर्व अध्यक्ष अभियन्ता ठाकुर ढकाल र जोडीले एक गीत प्रस्तुत गरेका थिए ।

यसैगरी यसैका सदस्यहरुले बिभिन्न गीतहरु प्रस्तुति गरेका थिए । बिभिन्न प्रस्तुति पछि नेपालीहरुको ग्रुभ संगीत मण्डल( ग्रुभ म्युजिक ब्याण्ड )ले आधा दर्जन भन्दा नेपाली चर्चित गीतहरु प्रस्तुत गरेका थिए । उक्त सङ्गीत मण्डलमा आशिष पाठक ,सुजित श्रेष्ठ,आयुष श्रेष्ठ ,कुमुद श्रेष्ठ तथा रबि खड्का रहेका थिए ।

सांगीतिक कार्यक्रम पछि रात्री भोजनको आयोजना गरिएको थियो । कार्यक्रमको अन्त्यमा भर्जिनिया १० का अमेरिकी संसदका उम्मेदवार एड्रियन पोखरेलले स्व नारायण गोपालको गीत प्रस्तुति गर्दै आफ्नो परिचय दिएका थिए ।

प्रतिक्रिया