अमेरिकी राष्ट्रपति जो बाइडेनले एलेक्सी नाभाल्नीकी पत्नि तथा छोरीसँग अमेरिकाको क्यालिफोर्नियामा भेट गरेका छन् । राष्ट्रपति बाइडेनले उनीहरुसँग क्यालिफोर्नियामा भेट गरेको दुई वटा तस्बिरहरु समेत आफ्नो सामाजिक संजाल एक्समा प्रकाशन गरेका छन् ।
बाइडेनले क्यालिफोर्नियाको यात्राको क्रममा गत बिहीबार एलेक्सी नाभाल्नीकी विधवा पत्नी युलिया नवलनाया र उनकी छोरी दशासँग भेट गरेका हुन ।
लामो समयदेखि रुसी विपक्षी राजनीतिज्ञ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक नभाल्नीको ४७ वर्षको उमेरमा गत हप्ता कारागारमै मृत्यु भएको थियो।
आफ्नो पतिको मृत्यु पछि युलिया नवलनायाले पुटिनलाई उनको मृत्युमा संलग्न भएको आरोप लगाएकी छिन् भने आफ्नो काम जारी राख्ने वाचा गरिन ।
ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, राष्ट्रपति बाइडेनले एलेक्सी नाभाल्नीको असाधारण साहस र भ्रष्टाचार विरुद्ध लड्ने उनको प्रशंसा गरे ।
राष्ट्रपतिले सामाजिक संजाल एक्समा प्रकाशन गरेको सान फ्रान्सिस्को बैठकमा नाभाल्नीकी श्रीमती र छोरीसँग भेट गरेको तस्बिर सार्वजनिक भएको छ ।
बैठक पछि बाइडेनले नाभाल्नीलाई “अविश्वसनीय साहसका व्यक्ति ” भनि प्रशंसा गरे र श्रीमती र छोरीले पनि त्यसको अनुकरण गरेकोमा खुसी व्यक्त गरे ।
ह्वाइट हाउसले नाभाल्नीको मृत्युका साथै यसको “दमन र आक्रामकता र युक्रेनमा भएको क्रूर र गैरकानूनी युद्ध” को प्रतिक्रियास्वरूप रुसविरुद्ध गत शुक्रबार “प्रमुख नयाँ प्रतिबन्धहरू” घोषणा गर्ने तयारी गरेको बताएको छ।
तस्बिर कृतज्ञता : जो बाइडेन (सामाजिक संजाल एक्स -X)
प्रतिक्रिया