थापाथली प्रसूति गृहबाट बालिका चोरी गर्ने महिला पक्राउ,प्रहरीलाई जंगलमा भेटेको दाबी

इनेप्लिज २०८० फागुन १२ गते १२:५२ मा प्रकाशित

थापाथली प्रसूति गृहबाट बालिका चोरी गर्ने महिला पक्राउ परेकी छिन । प्रहरीले दैलेख घर भई काठमाडौँको काँडाघारीमा डेरा गरी बस्ने २४ वर्षीय मनकुमारी सिंहलाई पक्राउ गरेको छ ।

गत शुक्रबार राति ११:४५ बजे प्रहरीको टोलीले काँडाघारीस्थित कोठामा पुगेर बालिकालाई उद्धार गरेको थियो ।

विवाह गरेको लामो समयसम्म पनि सन्तान नभएपछि सिंहले बालिकाको चोरी गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । प्रसूति गृहबाट बालिकाको चोरी गरेपछि आधा बाटोमा उनकी दिदीसमेत बालिका लिन पुगेको बताइएको छ।

सिंहका श्रीमान् नेपाली सेनामा कार्यरत छन् । बालिकाको उद्धारपछि अस्पतालमा प्रारम्भिक उपचार गरी बालिकाको परिवारको जिम्मा लगाइएको छ ।

काभ्रेको चौरीदेउराली गाउँपालिका–३ घर भएर कपन बस्ने २२ वर्षीया सविना श्रेष्ठको बच्चा गत शुक्रबार अपरिचित महिलाले चोरेर भागेकी थिइन् ।

बच्चा हराएको खबर प्राप्त हुन साथ प्रहरी टोली खोजीमा खटिएको थियो । जिल्ला प्रहरी परिसर काठमाडौँले शिशु चोरी गर्ने सिंह, उनकी दिदी र श्रीमानलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

अपहरण सम्बन्धी कसुरमा मुद्दा चल्यो र दोषी ठहरेमा ३ देखि १० वर्षसम्मको कैद सजाय हुनेछ । पक्राउ गरेपछि सुरुमा सिंहले आरोप अस्वीकार गरेकी थिइन् र उनले जंगलमा भेटेर ल्याएको हुँ भनि चक्मा दिने प्रयास गरेकी थिइन् ।

प्रतिक्रिया