तर्क र तथ्यसहित पार्टी नेतृत्वमा दाबी गर्न कोही नेता आएमा नेतृत्व छोडदिन्छु प्रचण्ड

बेद प्रसाद घिमिरे २०८० फागुन १ गते ११:०४ मा प्रकाशित

काठमाडौंमा आज आयोजित माओवादीको विधान सम्मेलनलाई सम्बोधन गर्दै दाहालले तर्क र तथ्यसहित पार्टी नेतृत्वमा दाबी गर्न कोही नेता आएमा आफूले छोड्न तयार रहेको बताए । ‘नयाँ क्रान्तितिर देशलाई लैजाने संकल्प गरेको छु । कोही कामरेडहरू आउनुहुन्छ र तर्कसहित, तथ्यसहित भन्नुहुन्छ भने मलाई फेरि नेतृत्वमा बसिराख्ने कुनै लोभ छैन, यो कुरा पनि म प्रष्ट भन्न चाहन्छु,’ उनले भने, ‘आउनुस्, फेरि यो मोर्चालाई एकताबद्ध गरौं । प्रतिक्रियावादी र प्रतिक्रान्तिकारीले टाउको उठाउन खोजेका छन्, तिनको प्रतिवाद गरौं, सबै एक हौं ।’

पछिल्लो समय विचार मिल्ने पार्टीहरूबीच समाजवादी मोर्चा गठन भएको र त्यसै अवसरमा विगतमा माओवादीले संचालन गरेको जनयुद्धमा सहभागी सबैलाई एकताबद्ध हुन दाहालले आग्रह गरेका हुन् । ‘माओवादी जनयुद्धका सहभागी सम्पूर्ण नेता र कार्यकर्ताहरूलाई अब ढिलो नगरी एउटै मोर्चा र केन्द्रमा एकताबद्ध हुन अपील गर्न चाहन्छु । ढिलो नगरौं, जति ढिलो गर्‍यो त्यति ठूलो क्षति । राजनीतिक परिवर्तनप्रति त्यति ठूलो घाटा हुनसक्छ,’ उनले भने ।

विगतमा गरेका गल्तीको समीक्षा गर्दै राजनीतिक परिवर्तनको रक्षा गर्न र समाजवादी आन्दोलनमा अगाडि बढ्न पनि एकताबद्ध हुनुपर्ने दाहालको भनाइ थियो ।

प्रतिक्रिया