माडी, चितवनमा गुरु गोरखनाथको प्रतिमा निर्माण अभियानलाई सघाउन आह्वान

इनेप्लिज २०८२ जेठ २९ गते २१:१९ मा प्रकाशित

माडी, चितवन — माडी नगरपालिका चितवनको पवित्र चक्रतीर्थ धाम क्षेत्रमा राष्ट्रगुरु गोरखनाथको प्रतिमा निर्माण अभियानलाई सघाउन विभिन्न संघसंस्थाहरुले आग्रह गरेका छन्।

चक्रतीर्थ धाम, परशुराम धाम धार्मिक पर्यटन समिति, थारु कल्याणकारिणी सभा क्षेत्र नं. १, माडी, वैदिक सनातन साँस्कृतिक सम्पदा संरक्षण संघ माडी, गोरखनाथ सेवा संघ लगायतका संस्थाहरुले गुरु गोरखनाथ प्रतिमा निर्माण अभियान शुरु गरेका हुन्।

हाल परशुराम पार्कमा विश्वकै अग्लो २७ फिट उचाईको बिँड सहितको इस्पात धातुद्वारा निर्मित परशु (बञ्चरो) स्थापनाको तयारी समेत संगसंगै अन्तिम अवस्था पुगेकोछ। त्यस्तै ८८० मिटर (२८८७ फिट) उचाईको सोमेश्वरगढीमा अवस्थित गुरू गोरखनाथका शिष्य एवं राजा भर्तृहरिको तपस्थल “भरथरि बाबा मन्दिर“, “भरथरि बाबा गुफा“ को साथै करिब दुई हजार वर्ष प्राचीन शिवलिङ्ग रहेको “सोमेश्वर शिवालय” को संरक्षण अभियान पनि जारी छ। हालै चक्रतीर्थधाम विकास समिति र श्रीराम संस्था अमेरिकाको पहलमा विशालकाय १५ फिट उचाई र १७ टन वजन भएको विश्वकै ठूलो शालग्राम शिला सहितको उद्यान निर्माण सम्पन्न भएकोछ।

“हठयोगको प्रारम्भ स्थलको रूपमा परिचित यो पवित्र धाममा राष्ट्रगुरु गोरखनाथको प्रतिमा निर्माण गरी उहाँले प्रतिपादन गर्नु भएको हठयोग तथा ध्यानको प्रचारप्रसार गर्ने अभियानलाई तन, मन र धनले सहयोग गर्नु हुन हामी संसारभरि रहेका नेपाली मित्रहरुलाई आह्वान गर्दछौं,” श्री रामजानकी अनुसन्धान एवं अध्ययन मण्डल (श्रीराम संस्था) अमेरिकाका अध्यक्ष तथा धार्मिक इतिहासका अध्येता वरिष्ठ इन्जिनियर थल’राज पन्तले भने ।

त्यस्तै गुरु गोरखनाथ प्रतिमा निर्माण समितिका एक जना ट्रष्टी डा राजेन्द्र गिरीले चितवन माडीको पवित्र भूमिमा राष्ट्र गुरु गोरखनाथको प्रतिमा निर्माण गरी संसारभरि नेपालको पहिचान र इज्जत अभिवृद्धि गर्न यो अभियान थालिएको बताए । उनले दाताहरुबाट प्राप्त सहयोगको सम्पूर्ण हिसाब सार्वजनिक गरिने र अडिट पनि गरिने बताए।

नेपालमा रहेको निम्न खातामा सहयोग रकम जम्मा गर्न पनि राष्ट्रगुरु गोरखनाथ प्रतिमा निर्माण समितिले आग्रह गरेको छ:

गुरु गोरखनाथ प्रतिमा निर्माण परियोजना
Prime Commercial Bank Ltd
खाता नं : 11301000000390101631

प्रतिक्रिया