पाँचथर फिदिमकी श्रमिक सीता लावतीले ३० हजार पैसा माया मार्न नसकेर कतार पुग्नु परेको बताएकी छन् । बिहीबार काठमाडौंमा आयोजित ‘कान्तिपुर इम्प्लोयमेन्ट, माइग्रेसन एन्ड रेमिट’ सम्मेलनको तेस्रो सत्र ‘फ्रि टिकट, फ्रि भिसा: अवसर कि अवरोध’ कार्यक्रममा बोल्दै उनले विश्वासका आधारमा म्यानपावरलाई उक्त पैसा दिए पनि फिर्ता नपाएको बताइन् ।
‘पहिला क्युभिसी गर्न पैसा लाग्छ भन्दै म्यानपावरबाट ५० हजार माग्नुभयो, ५० हजार छैन, ३० हजार खातामा हालिदिन्छु भन्यौं,’ उनले भनिन, ‘खातामा हाल्न मिल्दैन, हातैमा पैसा दिनु भन्नुभयो, विश्वासले पैसा दियौं, त्यसको प्रमाण भएन, जसले गर्दा धेरै दुःख भयो ।’
सुरुमा म्यानपावर खोज्दा धेरै दुःख पाएको उनले गुनासो गरिन् । ‘कोटेश्वर नेसनल ओभरसिपमार्फत कतार गएँ, फ्रि भिसा भनिए पनि फ्रि भिसा भएन, ३ लाख २५ हजार तिरेर कतार पुग्यौं,’ उनले भनिन, ‘वेटरको अन्तर्वार्ता लिएर पठाए पनि काम पाइएन । तीन महिना त्यत्तिकै बितायौं ।’ त्यो ३० हजार रुपैयाँ मार्न नसकेर पैसा फिर्ता नहुने भएपछि कतार गएको उनले बताइन् ।
प्रतिक्रिया