पूर्व प्रधानमन्त्री इमरान खानको पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) दलसँग सम्बद्ध स्वतन्त्र उम्मेदवारहरूले संसदमा सबैभन्दा बढी निर्वाचन क्षेत्र (सिट )प्राप्त गरेको पाकिस्तानको निर्वाचन आयोगले आइतबार आधिकारिक चुनावी नतिजा घोषणा गरेको छ।
पाकिस्तानको निर्वाचन आयोगका अनुसार स्वतन्त्र उम्मेदवारले १०२ सिट जितेका छन् । अधिकांश स्वतन्त्र उम्मेदवार खानको दल पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) सँग आबद्ध छन्।
पूर्व प्रधानमन्त्री नवाज सरिफको नेतृत्वमा रहेको पाकिस्तान मुस्लिम लिग नवाज पार्टी (पीएमएलएन) ७३ निर्वाचन-क्षेत्र (सिट)का साथ दोस्रो स्थानमा रहेको छ भने पाकिस्तान पिपुल्स पार्टी (पीपीपी)ले ५४ सिट जितेको छ ।
देशका तीन प्रमुख दलमध्ये कुनै पनि दलले संसदमा बहुमतका लागि आवश्यक १६९ सिट जित्न नसकेकाले देशको आगामी प्रधानमन्त्री को हुने र कसले सरकार बनाउन सक्छ भन्ने दुबिधा उत्त्पन्न भएको छ ।
गत बिहीबारको अत्यधिक विवादास्पद चुनावमा मतदान बन्द भएको ३ दिन भन्दा बढी पछि नतिजा घोषणा गरिएको छ । हिंसा कारणले नतिजा बिलम्ब भएको र अवस्था बिग्रिएको थियो । साथै ढिलो भएकोले चुनाव धाँधली भएको भन्दै व्यापक बिरोध प्रदर्शनहरु भै रहेको सिएनएनले जनाएको छ ।
पीटीआई पार्टी(दल)ले दलका कार्यकर्ता र समर्थकहरूलाई आइतबार मतदान कार्यालयहरू बाहिर विरोध प्रदर्शन गर्न आह्वान गरेको छ । राजधानी इस्लामावादले धारा १४४ लागू गरेको छ, जसले प्रहरीलाई कुनै पनि गैरकानूनी सम्मेलन र गतिविधिहरू विरुद्ध कानुनी कारबाही गर्न अनुमति दिएको छ।
प्रतिक्रिया