भ्रमरविलासी छन्दकाे अभ्यास गर्दै छन्दमा टुक्का कविता लेखन कार्यक्रम सम्पन्न !

इनेप्लिज २०८० माघ १८ गते १०:५३ मा प्रकाशित

काठमाडौँ,


टुक्का साहित्य समाजकाे आयाेजनामा २०८० माघ १३ गते “छन्दमा टुक्का कविता लेखन श्रृङ्खला-९१” सम्पन्न भएकाे छ। ” छन्दमा टुक्का अभ्यासशाला ” मा सञ्चालन भएकाे उक्त कार्यक्रममा छन्द प्रशिक्षक रामशरण न्याैपानेले प्रशिक्षण गर्नु भएकाे थियाे । अभ्यासमा विश्वका विभिन्न स्थानहरूबाट १६ नेपालीभाषी सर्जकहरूकाे सहभागिता रहेकाे थियाे । कार्यक्रमकाे सहजीकरण टुक्का साहित्य समाजका अध्यक्ष तथा परिकल्पनाकार ताराप्रसाद चापागाईँले गर्नु भएकाे थियाे ।

विभिन्न छन्दहरू सिकाउँदै छन्दमा टुक्का कविता लेखनकाे विकासगरी नेपाली भाषा साहित्यमा विशेष याेगदान पुर्याउने उद्धेश्यका साथ छन्दमा टुक्का कविता लेखन अभ्यास श्रृङ्खला सञ्चालन भइरहेकाे छ । यस श्रृङ्खलाका सहभागीहरूले वार्णिक छन्द अन्तर्गत भ्रमरविलासी छन्दकाे अभ्यास गर्दै टुक्का कविताहरू सिर्जना गरेका थिए।

कार्यक्रमकाे समापन गर्दै अध्यक्ष चापागाईं तथा प्रशिक्षक न्याैपानेले प्रयाेगवादी काव्यिक उपविधा टुक्का कवितामा छन्दकाे प्रयाेग गर्दै केही मात्रामा भए पनि छन्दमा काव्य सिर्जना गर्न प्रेरित गर्दै नेपाली भाषा साहित्यकाे जगेर्ना गर्ने प्रयास गरिएकाे जानकारी गराउदै उत्साहपूर्वक सहभागी भई भ्रमरविलासी छन्दमा सुन्दर टुक्का कविताहरू सिर्जना गर्नुभएका सहभागी सबै टुक्काकारहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्नु भएकाे थियाे ।

~~~~~~~~~~~~~~~~~~
::::: भ्रमरविलासी छन्द :::::
~ गण : म, भ, न, लघु गुरु
~ गण सङ्केत- २२२ २११ १११ १२
~ ४ अक्षरमा विश्राम
~~~~~~~~~~~~~~~~~~

अभ्यासका क्रममा सङ्कलन भएका भ्रमरविलासी छन्दमा सिर्जना गरिएका केही टुक्का कविताहरू
[१]
१.
खोले खान्थे, लपलप पहिले
सामन्ती छन्, नव नव अहिले।
२.
नेपाली छन्, अझ पनि भ्रममा
नेता चुन्ने, जति पनि क्रममा ।
✍️ रामशरण न्यौपाने
भक्तपुर
[२]

धेरै पीडा किन कठिन भयो
आँखाबाटै जल सकल गयो ।

बाधा हर्दै सब सफल गरी
अर्पेँ शोभा नव कमलसरी ।
✍️ आर्त अकुलीन
कैलाली
[३]
१.
पापी मान्छे रनवन चुलियो
सोझा साझा मह रस भुलियो।
२.
दायाँबायाँ खलबल सुनिए
जाली झेली वरपर चुनिए।
३.
टाठाबाठा करबल छलमा
माछा मार्छन् दलदल जलमा।
✍️ होम प्रसाद नेउपाने
धरान, सुनसरी ।
[४]
दौडे सारा गलत पथ चुनी
नेपालीको अलमल छ जुनी।
✍️ ताराप्रसाद चापागाईँ
धुनिबेसी
[५]
१.
नेतै नेता सकल जन जति
आशा भाषा भव थकित कति।
२.
हत्या हिंसा छलकपट मति
खोजी हिड्ने बिषय सुख कति ?
✍️ दीपा समभाव
खोटाङ्ग
हाल बुनपा (काठमाडौँ )
[६]
१.
मायाको मौसम छ गजबको
खुल्ला आकाश पनि सहजको ।
२.
यस्तो होस् प्रेम तरल रहने
हार्नेले चोट  सहज‌ सहने । 
✍️ पद्मा काश्यप पाण्डे
मोरङ
[७]
१.
आमा बाबा असल जन भनी
हाम्रा आस्था सुमन प्रभु पनि ।
२.
बा आमाको चरणतिर छुनोस्
मान्छे भित्रै असल मनु हुनोस् ।
✍️ चूडा निर्भीक
हालः काठमाण्डौँ ।
[८]
व्यापारीको जरुर मन खुसी
नाफा गन्छन् अवगणित झुसी ।
✍️ म्यामराज राई
भाेजपुर
[९]
१.
खान्छौँ खेल्छौँ रनबन डुलछौँ
आफ्ना प्यारा जन मन भुलछौँ ।
२.
मज्जा लिन्छौँ उभयचर सरी
हाँस्दै नाच्दै अवनि तल भरी ।
३.
हामी मान्छे अबुझ किन भयौँ
स्वार्थी बन्दै कुदिन पर गयौँ ।
✍️ विवश पारदर्शी
झापा
[१०]
आशाको दीप झलमल बले
उस्तै ती सीप अलमल ढले ।
✍️ जमुना आचार्य
सिन्धुपाल्चोक
[११]
१.
देशीका खेल धपधप बले
नेपाली सीप परतिर चले ।
२.
मागेथ्याे भाेट छलफल गरी
हाँस्याे त्याे पाप सबतिर छरी ।
३.
मायाकाे जाल हरपल छरी
पार्याे यी चक्षु झमझम झरी ।
✍️ निरज काेइराला
इटहरी -१६
[१२]
१.
प्यारो माया दिन कठिन भयो
मायामा यो मन कसिन गयो ।
२.
हावापानी रनबन मनमा
झर्को मान्दै नवरस जनमा ।
✍️ बेदु न्यौपाने
काठमाडाैँ
[१३]
नेपालीको अधिक सुत सुता
त्यागी आफ्नो मुलुक पर उता ।
✍️ भगवती दवाडी
झापा
[१४]
चालामाला नजर मन पर्‍यो
बोलूँभन्दा बहुत पर सर्‍यो ।
✍️ अनुग्रह राना मगर ‘पुष्प’
पाँचखपन नपा -६ संखुवासभा ।
[१५]
कस्तो ओहो अलमल म परे
हिँड्दा हिँड्दै परपर नि सरे ।
✍️ शोभा आचार्य गौतम
काठमाडौँ
[१६]
हाकाहाकी छलकपट गरे
पाेको पारे धन अकुत भरे ।
✍️ बिके मुखिया
दार्जिलिङ, भारत।

::::: जय टुक्का! जय साहित्य!! :::::

प्रतिक्रिया