समुदायमा कांग्रेस अभियान फलदायी बनोस

बेद प्रसाद घिमिरे २०८० माघ १५ गते ४:३० मा प्रकाशित

समुदायमा कांग्रेस अभियानका लागि यतिबेला नेपाली कांग्रेसका नेता कार्यकर्ता जिल्ला फर्कने क्रममा छन् । हिमाली १० जिल्लाबाहेकमा सञ्चालन हुन लागेको यो अभियानमा कांग्रेसले हरेक जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ ।माघ १२ गते पार्टीको स्थापना दिवस मनाएको कांग्रेसले १३ गतेबाटै यो अभियान थालेर साङ्गठनिक सक्रियता देखाएको छ । कांग्रेसका अनुसार, जिल्लामा खटिएका प्रतिनिधिले १५ गतेसम्म पार्टीको आन्तरिक काम गर्ने छन् । जे जस्तो शब्दावलीको प्रयोग भए पनि १५ गतेसम्म केन्द्रीय प्रतिनिधिलाई जिल्लामा पुग्न दिएको बाटो म्याद हो । १६ गते सहिद दिवसका दिन देशभरका हरेक वडामा कार्यक्रम गरेर कांग्रेसले समुदायमा कांग्रेस अभियानको औपचारिक प्रारम्भ गर्ने छ । त्यसपछि २६ गतेसम्म अभियान अन्तर्गत निरन्तर विभिन्न कार्यक्रम हुने छन् । कांग्रेसका पूर्वसभापति सुशील कोइरालाको स्मृति दिवससमेत जोडेर माघ २६ गते यो अभियान समापन हुने छ ।समुदायमा कांग्रेस अभियान अन्तर्गत कांग्रेस कार्यकर्ताले हरेक टोल र वडामा वृक्षारोपण, सम्पदा सरसफाइ, नदीनाला सरसफाइ, शिक्षा शिविर, स्वास्थ्य शिविर, रक्तदान, श्रमदान वा स्वास्थ्यसँग सम्बन्धित वा वडाले तय गरेका अन्य कुनै न कुनै सामाजिक अभियान सञ्चालन गर्ने छन् । कांग्रेसको यो अभियानले चुनावमा मात्र भोट माग्न आउने भनेर आरोप खेप्दै आएका नेतादेखि कार्यकर्तासम्मलाई टोल टोलमा पु¥याउने छ । नेता भएर सत्ताको स्वादमा मात्र रमाउनेले नागरिकको दुःख र पिरमर्कालाई आफ्नै आँखाले हेर्न पाउने छन् । कांग्रेसका मतदाता र कार्यकर्ताले नेतासँग फेरि एक पटक आफ्ना समस्या र गुनासा सुनाउन पाउने छन् । कांग्रेसले कसैका लागि केही गरेन भनेर गुनासो गर्ने कांग्रेसका शुभचिन्तकले कांग्रेसले केही गर्न लागेछ है भन्ने सन्देश पाउने छन् । अभियानको औपचारिक प्रारम्भको दिन सहिद दिवसलाई विशेष बनाउने कांग्रेसको योजना छ । यो दिन कांग्रेसका लाखौँ क्रियाशील सदस्यलाई आआफ्ना वडामा अनिवार्य रूपमा पुग्न पार्टीले निर्देशन दिएको छ । यो कार्यक्रममा सहिद परिवार, द्वन्द्वपीडित परिवार र प्रजातन्त्र सेनानीलगायतलाई सम्मान गरिने छ ।

राज्यले हजारौँ हजारलाई सहिद घोषणा गर्ने र गरिरहने प्रवृत्तिका बिचमा हुन लागेको सहिद दिवस कार्यक्रममा कांग्रेसले सहिदको खास अर्थ र यसको औचित्यका बारेमा पनि बोल्नु पर्छ । सहिदका सहिदबारे के बोल्ने भनेर कार्यकर्तालाई पक्कै भन्ने छ । हिजो कांग्रेसका नाममा लोकतन्त्रका लागि सहादत प्राप्त गरेका नेता कार्यकर्ताले सहिदको सम्मान प्राप्त गर्न नसक्नाको कारण पनि बताउनु पर्छ । एउटा पार्टी सरकारमा रहँदै गर्दा आफ्नो पार्टीका नाममा मरेका मारिएका सबैलाई सहिद घोषणा गर्ने र सरकारको सहयात्री बनेको कांग्रेस आफ्नो पार्टीका कार्यकर्ता र सहिद परिवारलाई केवल सम्मानको खादा मात्रै ओडाउने अवस्थाबारे पनि प्रस्ट पार्नुपर्ने छ ।कांग्रेसबिना लोकतन्त्रको रक्षा किन असम्भव छ भनेर उसलाई बुझाउनु पर्छ । कांग्रेस सबैभन्दा पुरानो पार्टी हो भनेर मात्र नयाँ पार्टीसँग लड्ने ऊर्जा प्राप्त गर्न सक्दैन । नयाँप्रतिको आकर्षणलाई रोक्न सक्दैन । कांग्रेसको पहिचान हरेक खालका स्वतन्त्रताको रक्षा गर्ने जिम्मेवार पार्टीका रूपमा हुनु पर्छ । आजसम्म जेजति कमजोरी भए, ती व्यक्तिका दोष हुन्, लोकतन्त्रको होइन र लोकतन्त्र रहेन भने हरेक खालका विकासका सम्भावना कुण्ठित हुन्छन् भन्ने उदाहरणबाट पुष्टि गर्न सक्नु पर्छ l यो अभियानले जन्ता र नेपाली कांग्रेसको सम्बन्ध साथै लोकतन्त्र र पाटिको साइनो बारेमा सबैमा बुझाउन सकोस ।।

जयनेपाल

प्रतिक्रिया