कथाशिल्पी कार्कीको ‘चौध भुवन’ : एक परिक्रमा

सञ्जय साह मित्र २०८० पुष २७ गते ११:०१ मा प्रकाशित

रौतहटेली साहित्यमा कथाको इतिहास निकै पुरानो छ । वि.स. २००३ मा द्रोण समशेर राणाको ‘अबला’ कथासङ्ग्रह प्रकाशित भएको पाइन्छ । रौतहटेली कथा साहित्यमा गुरुप्रसाद मैनाली, कुलचन्द्र कोइराला, धुस्वाँ सायमी, यमकुमार श्रेष्ठ, यशु श्रेष्ठ, रेणु गुप्ता, रेणुका जिसीसँगै जोडिएको नाम हो सपूत कार्की । फुटकर कथाको क्षेत्रमा रमेशमोहन अधिकारी, सञ्जय साह मित्र, दीपक खड्का आदिले पनि योगदान दिएका छन् ।

रौतहटेली साहित्याकाशमा निकै लामो समयदेखि सक्रिय साहित्यकार हुन् सपूत कार्की । समाजसेवा तथा साहित्य सिर्जनलाई एकसाथ अगाडि बढाएका कार्कीको २०४५ मै प्रकाशित कथाकृति हो – पागल । पहिलो कथाकृति प्रकाशित भएको साढे तीन दशकपछि कार्कीको २०८० मा प्रकाशित कथाकृति हो – ‘चौध भुवन’ ।
नेपाल रेडक्रस सोसाइटीमा सक्रिय रहँदै कार्कीले देश–देशावर घुमेका छन् । यही प्रभाव कार्कीको कथाकारितामा पनि रहेको छ । कार्कीको पछिल्लो कथाकृतिमा चौधओटा कथाहरू रहेका छन् । एक कथालाई एक भुवनको उपमा दिई कथाकार कार्कीले चौध कथालाई नै ‘चौध भुवन’ मानेका छन् ।

‘तिमी नै भन त मैना ?’ यस सङ्ग्रहको पहिलो रचना हो । मधेशमा सम्पन्न घरपरिवारकी एक बुहारीको कुण्ठित अभिव्यक्ति स्वतन्त्रतालाई विषयवस्तु बनाइएको छ । शान्ता मुख्य पात्र हो । शान्ताको विवाह अघि र पछिको अवस्थामा जीवनमा देखिएको परिवर्तनको मनोवैज्ञानिक तुलना गरिएको छ । धनी श्रीमान्को घरमा बोल्ने स्वतन्त्रता नहुँदा घरैमा पालिएको मैनासित शान्ताको तुलना गरिएको छ । अल्प संवाद भए पनि गतिशीलता रहेको कथा सरल रैखिक शैलीमा लेखिएको छ । कथामा स्वतन्त्रताको खोजी गरिएको छ ।

कुकुर पात्रको नाममा राखिएको कथा ‘कान्छी’ यात्राको क्रममा जोडिएको पात्र हो । मगर दाइकहाँ बास बसेर यात्रा अगाडि बढाउँदा ‘कान्छी’ सँगसँगै हिँड्छ । यात्रामा रहेका साथीहरूसँगै एक यात्रीपात्रकै रुपमा सुखदुःखमा रहेको ‘कान्छी’ यात्रा टुंगिएसँगै पूर्वतर्फ जानेको भागमा पर्छ । साथमा हुँदा रमाएको कान्छी विछोडमा रोएको छ । विछोडको पीडा गैरमानवीय पात्रमा पनि हुन्छ भन्ने सम्वेदनायुक्त भावको प्रस्तुति यस कथामा रहेको छ ।

लघुआयामिक कथा ‘पात्रको मृत्यु’मा शोक छ । म पात्रले आफ्नो कथामा बनाएको एउटा पात्रको मृत्यु भएको छ । नितान्त एक्लो उक्त पात्रको मृत्युमा कोही पनि शोक मान्ने हुँदैन तर म पात्रलाई भने कथाको पात्रको मृत्युप्रति दया जाग्दछ । विशेष परिस्थितिमा समाजका लागि मृत्यु पनि असम्वेदित हुन्छ तर सर्जकलाई भने मृत्युले सम्वेदित तुल्याउने भाव कथाको रहेको छ ।

हरेक वर्ष बाढीले प्रभावित हुने हजमिनियाँ गाउँको कथा हो ‘म आशा बाँडिरहेको छु’ । म पात्र राहत बाँड्न गएको छ । समान रुपले राहत वितरण भएपछि एक जना स्थानीय नेताले विरोध गर्छ । वर्णनात्मक शैलीमा रचित यस कथामा नियमित आकस्मिकताले पार्ने प्रभावलाई देखाइएको छ । साथै राम्रो काम गर्दागर्दै पनि कतिपयले विरोध गरेर राम्रो काम गर्नेको मन अमिलो बनाइदिने सत्यलाई पनि कथाले उजागर गरेको छ ।

प्रजातान्त्रिक आन्दोलनमा धेरै किसिमका मानिसको योगदान हुन्छ । वेश्यावृत्तिले समाजमा दुर्नाम कमाएकी मनमाया प्रजातन्त्रको लागि भएको आन्दोलनमा सहिद भएकी छ । दलहरूले आफ्नो पक्षबाट लड्नेहरूको विवरण सरकारलाई बुझाउँछन् तर मनमाया कतै पर्दिन । सहिद र सहादतमा पनि राजनीति हुने गरेको प्रति कथामा क्षोभ प्रकट गरिएको छ । कथामा सहानुभूति राखिएको पात्र मनमाया ‘अस्वीकृत सहिद’ भएकी छ ।

दाइँजो प्रथाले आक्रान्त छ मधेसी समाज । यसै समाजको अत्यन्त विपन्न पिता हो पिरित । पिरितले बडो मुस्किलले छोरी फुलवाको विवाह गर्न सकेको छ । बिहेको क्रममा भएको समस्यालाई यथार्थपरक र मर्मस्पर्शी शैलीमा प्रस्तुत गरिएको छ । छोरीको विवाह विपन्न समुदायका अभिभावकलाई कसरी समस्या हुन्छ भन्ने देखाउन सफल कथा हो ‘फुलवाको विवाह’ ।

सामन्ती संस्कृतिको विरोध गर्ने सामाजिक कथा ‘नियति’ केही दशक पहिलेको यथार्थवादी कथा हो । अझै पनि काजीहरूको अत्याचारले गोविन्दे र तिनका परिवार आफ्नो जन्मथलो र थातथलोबाट अज्ञातस्थल गन्तव्यतिर पलायन हुन बाध्य छन् । कथाको परिवेश कसिलो छ । उचित सम्वादको प्रयोगले कथालाई विश्लेषणात्मक बनाउन सहयोग गरेको छ । विपन्नप्रति सहानुभूति राखिएको यस कथाका पात्रहरू गतिशील छन् ।

सम्भवतः रौतहटकै एक गाउँ हो ‘गोपालकुटी’ । गोपालकुटीको निर्माण र दैवी प्रकोपले गाउँ नै खत्तम भएको स्मृति कथाको रुपमा यसको प्रस्तुति छ । विगतको निर्माण गर्नेले आगतको पनि महसुस गरेको हुन्छ । निर्माणमा समय लाग्ने तर विनाशमा खासै समय नलाग्ने प्राकृतिक नियति यसमा प्रस्तुत गरिएको छ । गोपालकुटी जस्ता ठाउँहरूले आफ्नै गर्वमा आफ्नो उत्थान र पतनका कथाहरू समेटेका छन् भन्ने खोतल्न कथा सफल छ ।

‘पुस्तक’ मनोवैज्ञानिक कथा हो । म पात्र र निकिता सानैदेखिका मन मिल्ने साथी हुन्छन् । निकितालाई पुस्तक मन पर्छ र निकिताको बिहेमा म पात्रले उपहारको रुपमा पुस्तक दिएको कथावस्तु छ । पुस्तक उपहार दिँदा मनमा उठेका तर्कना तथा पुस्तक दिँदा अरुले गरेका कानेखुसीलाई बडो मनोरम उत्सुकतापूर्वक कथामा प्रस्तुत गरिएको छ । असन्तोष र सन्तोषपूर्ण तर्कना तथा संवादले भरिएको कथा रोचक रहेको छ । समाजलाई हेप्नलाई बहाना मात्र चाहिएको हुन्छ, नजानेर वा नबुझेर पनि हेप्न पायो भने खिसिटिउरी गर्न छोड्दैन भन्ने कुरा देखाउन कथा सफल रहेको छ ।

‘ट्रेसी’ एक विदेशी महिला हो । केही दिनको परदेश बसाईँमा विदेशी नागरिक ट्रेसीसित भएको उठबस, भेटघाट तथा घुमाइको रोचक वर्णन छ । वर्णनात्मक र संस्मरणात्मक शैलीमा लेखिएको यस कथामा विदेशी महिलाको आफ्नो परिवेशानुसार खुल्लापन र विचारको वर्णन रहेको छ ।

अचेल कामको खोजीमा अन्यत्र जानु स्वाभाविक छ । ‘गल्ली नम्बर आठ’मा मुख्य गरी चिया खान नियमित भेट हुने साथीहरूमध्ये विमल नामका एक सदस्य व्यापार गर्न बाहिर पुगेको कथानक छ । चिया खान एक दिन कोही नआउँदा पनि तिनको बारेमा हुने गफगाफलाई जस्ताको तस्तै प्रस्तुत गरिएको छ । यो यथार्थवादी कथा हो ।

‘सोनफी’ व्यक्तिको नाममा शीर्षक राखिएको अर्को कथा हो । अन्धविश्वास र धार्मिक आस्थाका कारण सोनफीकी श्रीमतीले सन्तानमाथि सन्तान जन्माएकी छे । स्वास्थ्यको ठेगान नराखी आफ्नो आर्थिक अवस्थाको पनि ख्याल नराखी बच्चा जन्माउने प्रवृत्ति रहेको यथार्थलाई उद्घाटन गरिएको छ । ग्रामीण क्षेत्रमा बालबालिकाप्रति रहेको अन्धविश्वासपूर्ण धारणाको चिरफार यसमा गरिएको छ ।

कहिलेकाहीँ लोभले लाभ र लाभले विलाप हुन्छ । सानोतिनो खुसीमा कहिलेकाहीँ ठूलो भोजभतेर गर्दा विचल्ली हुने हुन्छ । अनावश्यक भोजभतेरमा विपन्नको झन् विचल्ली हुने, रक्सी खाने बानीले घरपरिवारलाई हेर्नुपर्छ भन्ने कुराको ख्यालै नहुने र धरमा झैँझगडा भइरहने प्रवृत्तिलाई ‘राहत’मार्फत जगतवाको प्रवृत्तिलाई उजागर गरिएको छ । जगतवा एउटा प्रतिनिधि पात्र र उसको परिवार पनि प्रतिनिधि परिवार हो । यस्तो विचल्ली धेरै परिवारको भएको पाउन सकिन्छ ।

चरित्र जन्मजात हुन्छ, नैसर्गिक हुन्छ भन्ने कुरालाई ‘भुस्याहा कुकुर’मार्फत देखाइएको छ । भुस्याहा कुकुरप्रति माया लागेर सुधार्न खोज्दा नसकेर आफू नै पलायन हुनुपरेको कथामा देखाइएको छ । सानोले धेरै सुख पायो भने मात्तिन्छ र सुख दिनेलाई नै पिर्छ भन्ने तथ्य देखाउन कथा सफल छ । कुकुरमा रहेको जन्मजात प्रवृत्तिलाई कुनै मानिसको अहमले परिवर्तन गर्न सक्दैन भन्ने पनि कथामा स्पष्ट भएको छ ।

विषय वैविध्य, पृथकोद्देश्य तथा परिवेशमा पार्थक्य यस कथा सङ्ग्रहका विशिष्टता हुन् । एउटा कथाको आयाम लघु हुन गएको छ । बाँकी कथा मध्यम आयामका छन् । अधिकांश कथाहरू सरल रेखीय र केही कथाहरू वृत्तकारीय शैलीमा पनि छन् । कतिपय कथामा मनोविज्ञानको भरपूर प्रयोग गरिएको छ । सटिक संवादले कथ्यलाई स्पष्ट पार्न र पात्रलाई जीवन्त तुल्याउन सहयोग गरेका छन् । परम्परागत कथापाठकका लागि प्रस्तुत ‘चौध भुवन’ कथासङ्ग्रह एक पठनीय कृति बन्न पुगेको छ ।

२०८० वैशाखमा शब्दयात्रा प्रकाशन बनेपाद्वारा प्रकाशित ‘चौध भुवन’ कथासङ्ग्रहको पहिलो संस्करण ७२ पृष्ठमा रहेको छ । विभिन्न पत्रपत्रिकामा पहिले नै प्रकाशित भइसकेका कथाहरूको सङ्ग्रह ‘चौध भुवन’लाई सामाजिक कथाहरूको सँगालो मान्न सकिन्छ ।

गरुडा, रौतहट

सञ्जय साह मित्र

पत्रकार/लेखक

प्रतिक्रिया