बंगलादेशको अदालतद्वारा नोबेल पुरस्कार विजेता मोहम्मद युनुसलाई श्रम कानून उल्लंघन गरेको आरोपमा ६ महिनाको कारागार सजाय

इनेप्लिज २०८० पुष १७ गते २:०१ मा प्रकाशित

बंगलादेशको राजधानीको एक श्रम अदालतले सोमबार नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसलाई देशको श्रम कानून उल्लंघन गरेको आरोपमा छ महिनाको कारागार सजाय सुनाएको छ।

गरिब जनतालाई सहयोग पुर्‍याउन माइक्रोक्रेडिट (सुक्ष्मऋण) प्रयोग गर्ने अग्रगामी युनुस अदालतमा उपस्थित भएका थिए भने उनलाई जमानत दिइएको छ । अदालतले युनुसलाई फैसला र सजायविरुद्ध पुनरावेदन गर्न ३० दिनको समय दिएको सिबिएसन्यूजले समाचार लेखेको छ ।

ढाकाको तेस्रो श्रम अदालतकी प्रमुख शेख मेरीना सुल्तानाले आफ्नो फैसलामा युनुसको कम्पनी(सँस्था)ले बंगलादेशको श्रम कानूनको उल्लंघन गरेको बताएकी छन् । उनले भनिन् कि कम्तिमा ६७ ग्रामीण टेलिकमका कर्मचारीहरूलाई स्थायी कर्मचारी बनाउनु पर्ने थियो तर बनाईको थिएन ।

आपतकालीन वा विशेष आवश्यकताहरूमा कर्मचारीहरूलाई सहयोग गर्न “कल्याण कोष” कहिल्यै गठन गरिएको थिएन। सँस्था (कम्पनी)को नीतिअनुसार ग्रामीणले ५ प्रतिशत लाभांश कर्मचारीलाई बाँड्नु पर्ने थियो तर नभएको पनि उनले बताइन् ।

सुल्तानाले सँस्था (कम्पनी)को अध्यक्ष युनुस र कम्पनीका अन्य तीन निर्देशकलाई दोषी ठहर गर्दै प्रत्येकलाई ६ महिनाको जेल (कारागार )सजाय सुनाइन् । युनुसलाई ३० हजार टाका अर्थात् २६० डलर जरिवाना पनि गरिएको छ ।

युनुसले पुनरावेदन गर्ने बताए ।

“हामीले नगरेको अपराधको सजाय भोगिरहेका छौं। हामीले यो फैसलालाई स्वीकार गरेका छौं, तर यो फैसलाविरुद्ध पुनरावेदन गर्नेछौं र यो सजायको विरुद्ध लडाइँ जारी राख्नेछौं,” ८३ वर्षीय अर्थशास्त्रीले पत्रकारहरूलाई भने।

एक बचाव पक्षका वकिलले निर्णयको आलोचना गरे र यो अनुचित र कानून विरुद्ध भएको बताए। अधिवक्ता अब्दुल्लाह अल मामुनले भने, ‘हामी न्यायबाट वञ्चित भएका छौं ।

युनुसका समर्थकहरूले प्रधानमन्त्री शेख हसिनासँगको नराम्रो सम्बन्धका कारण उनीमाथि दुर्ब्यबहार भएको विश्वास गरेका छन्। बंगलादेश सरकारले उक्त आरोपको खण्डन गरेको छ ।

बंगलादेशले जनवरी ७ मा हुने आम निर्वाचनको तयारी गरिरहेको बेला सोमबारको फैसला आएको छ ।

हसिनाले कडा प्रतिक्रिया दिईन र युनुस विरुद्धको अभियोगमा संलग्न कागजातहरू जाँच्न र कानुनी कार्यवाहीको मूल्याङ्कन गर्न बंगलादेश आउन अन्तर्राष्ट्रिय विशेषज्ञहरू र वकिलहरूलाई स्वागत गर्ने बताइन्।

१९८३ मा युनुसले ग्रामीण बैंक स्थापना गरे । जसले उद्यमीहरूलाई साना ऋण दिन्छ जो सामान्यतया बैंक ऋणको लागि योग्य हुँदैनन्। धितो बिना सामूहिक जमानतमा ऋण दिइन्छ । यसैको आधारमा नेपालमा ग्रामिण बिकाश बैंक स्थापना भएका छन् ।

युनुसले यसअघि देशका राजनीतिज्ञहरूलाई पैसामा मात्र रुचि रहेको भन्दै आलोचना गरेका थिए। २०११ मा हसिनाको प्रशासनले बैंकको गतिविधिहरूको समीक्षा गर्न थाल्यो। युनुसलाई सरकारी सेवानिवृत्ति नियम उल्लंघन गरेको आरोपमा प्रबन्ध निर्देशकबाट बर्खास्त गरिएको थियो।

प्रतिक्रिया