देउसीभैलोको रमझमसँगै बोर्ड अफ ट्रस्टीमा निर्वाचित भए तिम्सिना

इनेप्लिज २०८० कार्तिक ३० गते २:३५ मा प्रकाशित

अमेरिको भर्जिनिया राज्यमा सामाजिक पहिचान बनाएको संस्था अमेरिका नेपाल सहयोगी समाज (एएनएचएस) को बोर्ड अफ ट्रष्टी सभापतिमा केदार तिम्सिना निर्वाचित भएका छन्।

एएनएचएसको पूर्व अध्यक्ष रहेका तिम्सिना २०२३–२०२८ का लागि सभापतिमा निर्विरोध निर्वाचित भएका हुन्। गत नोभेम्बर ११ शनिवारका दिन देउसी भैलो कार्यक्रमको अवसरमा उनीसहित ७ सदस्यीय समिति घोषणा गरिएको हो । निर्वाचन समितिका अनुसार सात सदस्यीय समिति सर्वसम्मत निर्वाचित भएको हो।

नवनिर्वाचित सभापति तिम्सिनाले सबैलाई समेट्ने र संस्थाको गरिमालाई उच्च प्राथमिकतामा राखेर काम गर्ने बताए।

नवनिर्वाचित समितिको उप सभापतिमा रोम ज्ञवाली, सचिवमा उत्तम गौतम तथा कोषाध्यक्षमा मोहन बस्ताकोटी निर्वाचित भएका छन् भने समिति सदस्यहरुमा रोजिना रेग्मी, इन्द्र श्रेष्ठ तथा बाबुराम शर्मा निर्वाचित भएका छन्।

अमेरिका नेपाल सहयोगी समाज अमेरिकाको भर्जिनिया राज्यको मनासस सहरमा सन् २००८ मा स्थापित अमेरिकाभरि रहेका संस्थाहरूमध्येको क्रियाशील र लोकप्रिय संस्था मानिन्छ।

सामाजिक र मानवीय सेवाका विभिन्न काम गर्दै आएको यो संस्थाले सृजनात्मक, सांस्कृतिक, शैक्षिक कामहरू पनि गर्दै आएको छ। सन् २०१५ मा नेपालमा गएको भूकम्पमा संस्थाले राहत सामग्रीसहित ठुलो आर्थिक सहयोग जुटाएको थियो ।

नोभेम्बर ११ कै दिन देउसी भैलो कार्यक्रम पनि सफलतापूर्वक सम्पन्न भएको छ । उक्त देउसीभैलो कार्यक्रममा सोहीसंस्थाद्वारा संचालित अमेरिका नेपाल शिक्षा सदनमा अध्ययनरत छात्रछात्रा र संस्थाका सदस्य तथा पदाधिकारीहरुले विविध सांस्कृतिक प्रस्तुतिहरू रहेका थिए भने अभिभावक, शैक्षिक तथा सामाजिक व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो ।

अमेरिकामा जन्मेका नेपाली बालबालिकाहरूमा नेपाली संस्कृति, चाडपर्व,भाषा र गीतसंगीतमा रूचि जगाई त्यसप्रति सम्मान बढाउन यस्ता सांस्कृतिक र शैक्षिक क्रियाकलापको सकारात्मक प्रभाव रहने नवनिर्वाचित बीओटी सभापति तिम्सिनाको विश्वास रहेको छ ।

एएनएचएसको सक्रियतामा संचालित अमेरिका नेपाल शिक्षा सदन विद्यालयमा नेपाली भाषाको पठनपाठन गराइनुका साथै नियमित सृजनात्मक क्रियाकलाप पनि गरिन्छ । यसै प्रसङ्गमा नेपाली भाषालाई नयाँ पुस्तामा पुर्याउन र विश्वसमाजमा चिनाउन यस विद्यालयले यस्ता शैक्षिक क्रियाकलाप गर्दै आएको संस्थाकी अध्यक्ष जानु ओझाले जानकारी दिनुभयो ।

पहिलो चरणमा वैदिक मन्त्रोच्चारणसँगै विधिवत् प्रारम्भ भएको लक्ष्मीपूजापश्चात भैलोगीतमा छात्रछात्राहरूले नृत्य प्रस्तुत गरे भने विद्यालय संयोजक भूपाल पौडेलले कार्यक्रमले नृपालीहरूबीच सद्भाव र प्रेमको भावना बढाउनेमा विश्वास व्यक्त गरे ।

कार्यक्रममा एकल नृत्य प्रस्तुति इर्शिता श्रेष्ठ, युगल नृत्यमा आभानी तथा अनुश्री ,सामूहिक नृत्य प्रस्तुतिमा रिम्भा, सोफिया, इर्शिता,अनुष्का,सारिका, आहानालगायत थिए भने भैलो गीतमा सम्बोधन, आभास , गौरव लगायतले प्रस्तुति राखेका थिए । एएनएचएस महिला समूहको देउसी भैलो प्रस्तुतिसमेत रहेको उक्त कार्यक्रममा एएनएचएस पुरुष समूहको परम्परागत देउसी भैलोको आकर्षण तथा उत्कृष्ट विद्यार्थीहरूलाई गरिएको पुरस्कार वितरणका थप विशेषताले विधता थपेको थियो भने अध्यक्षताको तर्फबाट जानु ओझाको धन्यवाद मन्तव्यसँगै कार्यक्रम समापन गरिएको थियो ।

जगन्नाथ पौडेल

मेडिया कोअर्डिनेटर, एएनएचएस .

प्रतिक्रिया