नेपालमा भाइटीका लगाउने क्रम जारी ,अमेरिकामा आजै नेपाली समुदायले लगाउदै

इनेप्लिज २०८० कार्तिक २९ गते १२:१२ मा प्रकाशित

नेपालीहरुको दोस्रो मुख्य चाड भाइटीका नेपालमा शुभ साइतमा लगाईएको छ भने लगाउने क्रम जारी रहेको छ। अमेरिकामा नेपाली समुदायले केही समय पछि नेपालकै शुभ साइतमा लगाउदै छन् ।

अमेरिकामा आज बुधबार बिदाको दिन नभएकोले कामबाट आएर र अधिकांशले छुट्टी लिएर पनि भाइटीका मनाउने तयारी अवस्थामा रहेका छन् ।

तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदी बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाइदिएका छन् ।

आज दिनभर लगाउन कुनै बाधा नभएपनि बिहान १०ः५१ बजे को समयलाई उत्तम साइत मान्दै सोही अनुसार टीका लगाईएको छ । यस वर्ष भाइटीका लगाइदिने दिदीबहिनी पश्चिम र लगाइमाग्ने दाजुभाइ पूर्व फर्कनुपर्ने छ ।

लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको आज पूजा गरी दिदी बहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्परा अनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री वा गोदावरी लगायतका फूलका माला लगाइदिने गरिन्छ ।

दिदी बहिनी नहुनेका लागि काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् ।

राष्ट्रपति निवास शीलतनिवासमा आज बिहान १० बजेर ५१ मिनेटको शुभसाइतमा उनले बहिनीहरूबाट टीका ग्रहण गरेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

काठमाडौँको वसन्तपुरस्थित काष्ठमण्डपमा अञ्जली दिदी (मास्के) ले दिदीबहिनी नभएका दाजुभाइलाई तिहारको सामूहिक टीका लगाइदिएकी छन् ।

विसं २०५५ सालदेखि निरन्तर सामूहिक भाइटीका लगाइदिँदै आएकी अञ्जली दिदीले आज करिब दुई सय बढी दाजुभाइलाई सप्तरङ्गी टीका र मखमलीको माला लगाइदिइन् ।

प्रतिक्रिया