नेपालमा विजया दशमीअर्थात् दुर्गापक्षको मुख्य दिन भब्य रुपमा मनाइदै ,मान्यजनहरुबाट टीका ग्रहण गर्दै

इनेप्लिज २०८० कार्तिक ७ गते ११:१० मा प्रकाशित

असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवीशक्तिको विजयका रुपमा मनाइने दशै पर्व अन्तर्गतको आज नेपालमा विजया दशमी अर्थात् दुर्गापक्षको मुख्य दिन भब्य रुपमा मनाइदैछ ।

नेपालमा आज अक्टोबर २४ तारिख मंगलबारको दिन नेपालीहरुले दशैँ मनाई रहेका छन् । नेपालमा आजको दिनलाई दशैँको सबैभन्दा मुख्य दिन मानिन्छ।

मान्यजनबाट दुर्गा भवानीको प्रसाद स्वरुप टीका, जमरा थापी मनाइँदैछ । नेपालमा आज ११ बजेर ०२ मिनेटको लागि विशेष साइत रहेकोले सोही अनुसार टीका ग्रहण गरिएको छ ।

तर, आजको दिन आफैंमा शुभ रहेकाले जुनसुकै समयमा पनि टीका लगाउन सकिन्छ भनिएकोले मानिसहरुले सोही अनुसार टीका लगाउन थालेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले ९१ वर्षीया भाउजू विष्णुमाया पौडेलबाट दसैँको टीका, जमरा, प्रसाद र आशिर्वाद ग्रहण गरेका छन् ।

साथै अन्तर्राष्ट्रिय पञ्चाङ निर्णय समितिले विदेशमा बस्ने नेपालीहरुका लागि विजयादशमीको टीकाको उत्तम साइत तोकेको छ ।

विजयादशमी आफैँमा शुभ दिन भएकाले नेपालमा आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने मान्यता समेत रहेको छ ।

नेपालमा आज बिहान १०ः३७ बजे देवी बिसर्जनको साइत रहेको समितिले जनाएकोले सोही अनुसार मानिसहरुले देवीको बिसर्जन गरेका छन् ।

नेपालमा आज मान्यजनको हातबाट टीका लगाएर आशिर्वाद लिने चलन छ। साथै, घटस्थापनाको दिन राखिएको जमरा लगाइदिने चलन छ। घटस्थापनाका दिन पूजाकोठामा राखिएको जमरा आजकै दिन विसर्जन गरेपछि कोजाग्रत पूर्णिमाको दिनसम्म टीका लगाउने प्रचलन छ।

विजयादशमीमा टीका लगाइदिँदा पुरुषलाई यस्ता मन्त्रले आशीर्वाद दिने गरिन्छ–

आयुद्रोणसुते श्रियं दशरथे शत्रुक्षयं राघवे ।
ऐश्वर्यं नहुषे गतिश्च पवने मानं च दुर्योधने ।।
शौर्यं शान्तनवे बलं हलधरे दानं च कुन्तीसुते ।
विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायण ।।

यसैगरी महिलालाई यस्ता मन्त्रले आशीर्वाद दिने गरिन्छ –

जयन्ती मङ्गला काली भद्रकाली कपालिनी ।
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तुते ।।

प्रतिक्रिया