युवराज भण्डारीको कवितासङ्ग्रह ‘अर्को कर्नाली’ प्रकाशित

इनेप्लिज २०८० असोज १९ गते १६:५५ मा प्रकाशित

कवि तथा गजलकार युवराज भण्डारीको कवितासङ्ग्रह ‘अर्को कर्नाली’ बजारमा आएको छ ।

लामो समयदेखि लेखनमा क्रियाशील भण्डारीको यो पहिलो कवितासङ्ग्रह हो । यस सङ्ग्रहमा भण्डारीले २०७५ सालदेखि २०८० सालसम्म लेखेका ५६ वटा समसामयिक कविताहरू सङ्कलित छन् । कवितासङ्ग्रह सँगसँगै उनको ‘भावनाको तस्वीर’ (गजलसङ्ग्रह) प्रकाशनको प्रतीक्षामा प्रेसमा छ । ‘नारीको आवाज’ (तिजका गीतसङ्ग्र्रह, २०४७) प्रकाशित कृति हो ।

‘अर्को कर्नाली’ सङ्ग्रहमा साहित्यकार डा. नेत्र एटमले भूमिका लेखेका छन् । भूमिकाको क्रममा उनले लेखेका छन् “युवराज भण्डारीको ‘अर्को कर्नाली’मा सङ्कलित कविता समसामयिक समस्या, चिन्ता, मुद्दा र परिवेशसँग कविको भावनाले अन्तरक्रिया गरेपछि अभिव्यञ्जित आलोकका काव्यगुच्छा हुन् । यी कविता भौतिक संसार, लौकिक जीवन र अध्ययन-अनुभवका विविध स्रोतबाट माथि उठ्दै गरेको कविका गहन चिन्तनसार हुन् । उनका कविता भावावेगमा प्रवाहित छन्, जसले गर्दा तिनले पाठकको गूढ अनुभूतिलाई प्रदीप्त पार्छन् र भाषिक कलाका रूपमा कविताको पृथक् सौन्दर्यशास्त्रीय विशिष्टता स्थापित गर्छन् ।”

डुम्रिबेसी, तनहुँमा जन्मिएका युवराज भण्डारी अहिले टोरन्टो, क्यानडामा रहेर आजीविका चलाउँदै नेपाली भाषा साहित्य सिर्जनामा सक्रिय छन् । पेसाले इन्जिनियर भण्डारीका विभिन्न पत्रपत्रिकामा दर्जनौँ फुटकर रचना प्रकाशित हुँदै आइरहेका छन् ।

कवि भण्डारीको ‘अर्को कर्नाली’ भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो । यस कृतिको मूल्य मूल्यः रु. २९० रहेको छ ।

प्रतिक्रिया