२८ अप्रिल २०२५, सोमवार १५ बैसाख २०८२ को दिन दिउँसो नेपालका एक प्रसिद्ध वैज्ञानिकका घरमा पुग्ने मौका जु¥यो ।
कतिपयले भन्ने वा बुझ्ने गरेका छन्, नेपालमा वैज्ञानिक नै छैनन् । अज्ञानताको कुनै सीमा हुँदैन । ज्ञान असीमित भए झैँ अज्ञानरुपी अन्धकारको साम्राज्य पनि मस्तिष्कको परिवेशभरि हुन्छ । यस्तै अज्ञानताको द्योतक हो उक्त बुझाइ । नेपालका विभिन्न वैज्ञानिकहरुले देश र विदेशमा सम्मान पनि पाएका छन् । यस्तै एक प्रसिद्ध वैज्ञानिक हुन् डा. मुकेशकुमार चालिसे ।
गत वर्ष रौतहटको चन्द्रपुरमा भएको भेटघाटपछि अलिकति नवीकृत हुन पाएको चिनापर्ची हो । मैले त पहिलेदेखि नै चिनीराखेको तर उहाँले भने मलाई नचिन्नु भएको अवस्थामा गत वर्षको एउटा साहित्यिक कार्यक्रममा मैले उहाँलाई दुई दशकभन्दा पहिले हेटौँडामा भेटेको भनी सम्झना दिलाउने प्रयास गरेको थिएँ ।
ठुला मानिसहरुसित धेरै पहिलाको सान्निध्य पनि सम्झना हुँदोरहेछ । यद्यपि ठुला मानिसहरुलाई सम्झना हुँदैन तर पनि सहानुभूति र हार्दिकता भने हुन्छ । मेरो सामान्य बानी यो रहेको छ कि म प्रायः ठुला मानिसको नजिक पर्न चाहँदिन । मेरो कामले यदि कसैले चिन्दछन् भने म फेरि प्रभावित भएर निकट हुन चाहन्छु । चन्द्रपुरमा प्रा.डा. मुकेशकुमार चालिसेले आफ्ना केही पुस्तकहरुका साथै श्यामप्रसाद शर्माद्वारा लिखित केही पुस्तक–पुस्तिकाहरुको एउटा पोका बनाएर सबैलाई एकमुष्ठ उपलब्ध गराउने व्यवस्था मिलाउनु भएको थियो, अत्यन्त कम मूल्यमा । एक पोका लिएर अलिक हार्दिकतापूर्वक मैले प्रा.डा. चालिसेसित निकट हुनका लागि भनें, – “श्यामप्रसाद शर्माका यी सबै किताब मसित छन् । मैले पहिल्यै पढिसकेको छु र अधिकांशको समीक्षा पनि गरेको छु ।” मैले उहाँको ध्यानाकृष्ट गराउन सफल भएँ आफूतिर । सामान्य भलाकुसारी भयो । उहाँ अत्यन्त सरल मिजासका गुनिला मानिस हुनुहुँदोरहेछ ।
आधुनिक साधनको उपयोग गरी हामीबिच निरन्तर कुराकानी हुन थाल्यो त्यसपछि । उहाँका पुस्तक पढेर मैले एक पत्रिकामा आफ्नो धारणा पठाएँ । प्रकाशित भयो पनि । मलाई सामान्यतया के लागेको छ भने मैले जुन पुस्तक पढ्छु, त्यसबारे आफ्नो धारणा सार्वजनिक गर्छु तर कहिलेकाहीँ यसमा फरक मान्यता राख्न पुग्छु । कतिपय पुस्तक पढ्दा जब लाग्छ कि यस पुस्तकको अध्ययनमा लगाएको समय नै खेर गयो, अर्थात् पुस्तकमा केही पनि पाउँदिन तब आफ्नो धारणा सार्वजनिक गर्दिनँ । अनि, यो पनि, जुन पुस्तक मैले किनेर अर्थात् मूल्य तिरेर किन्छु सायदै त्यसबारे कुनै समीक्षात्मक टिप्पणी लेख्छु । जुन लेखकले मलाई चिन्दैनन्, उनका राम्रा पुस्तकहरु किनेर पढ्छु तर समीक्षात्मक टिप्पणी गर्दिनँ किनभने मैले लेखे वा नलेखे पनि फरक पर्दैन । फेरि पनि, मेरा श्रद्धेयहरु भने यसभन्दा माथि हुनुहुन्छ ।
मैले प्रा.डा. चालिसेसित भनेको थिएँ – पढेपछि कतै लेख्छु ।
गत चैतमा उहाँको पछिल्लो पुस्तक सार्वजनिक हुन लागेको थियो तर राजधानी काठमाडौँमा राजनैतिक कारणले उक्त कार्यक्रम सम्भव हुन नसकेको जानकारी प्राप्त भयो । यद्यपि पुस्तक प्रकाशित भइसकेको जानकारी भने सामाजिक सञ्जालबाट पाइसकेको थिएँ । उहाँले मलाई पनि मेरो सामाजिक सञ्जालमा पुस्तक विमोचन तथा सम्मान कार्यक्रममा सहभागिताका लागि हार्दिकतापूर्वक निमन्त्रण दिनुभएको थियो । जाने कुनै कार्यक्रम थिएन तर मलाई के विश्वास थियो भने कुनै माध्यमले मेरो हातमा पुस्तक पर्छ । सम्भवतः मेरो छोराले प्रा.डा. चालिसे निवास देखेको छ वा कुनै पुस्तक पसलबाट पनि ल्याउनुपर्नेछ । पुस्तक निकै गहन विषयमाथि छ, पुस्तकको नाम हो – उमेरिँदाको कथा र व्यथा । पाका मानिस (अर्थात्, ज्येष्ठ नागरिक) हरुका लागि, उनका अघिल्ला पुस्तकहरु झैँ, यो पनि, अमृत नै हुनुपर्छ भन्ने विश्वास थियो । किनभने उहाँले यस पुस्तकको विषयसूची मलाई पठाइदिनुभएको थियो । विषयसूचीले नै मनलाई तानेको थियो । म उत्साहित हुँदै प्रा.डा. चालिसेको प्रशंसक साहित्यकार बिन्दा साहनी सरलाई विषयसूची पढेर सुनाएको थिएँ । उहाँ पनि निकै खुसी हुनुभएको थियो ।
आज कुनै कारणले काठमाडौँमा छौँ र फर्किने पालो छ । घरि बादलले बाटो छेक्न खोजिरहेको छ त घरि पानी परेर हाम्रो बाटोलाई शीतल बनाउन खोजिरहेको छ । आजै घर पुग्नु छ । पानी परिरहेको समयमा काठमाडौँमा हामीजस्ता मानिसलाई निकै समस्या हुन्छ तर अहिले भने उति धेरै समस्या लागिरहेको छैन किनभने अरुको भरमा हिँड्नु पर्ने छैन । मोटरसाइकलले यात्रा गर्दाको आनन्द नै फरक हुन्छ । काठमाडौँबाट फर्किनुपर्ने भनेको घरसम्म त हो । जतिबेला पनि पुग्दा हुन्छ नि आफ्नो घर । आफ्नो घर अबेरै पुगे पनि के भयो र ? तर काठमाडौँ आइसकेपछि यसपटक भने प्रा.डा. चालिसेलाई नभेटी नफर्कौं कि ? किशुन सरसित सल्लाह गर्दछु ।
“बिहान नै मैले एकपटक कुराकानी गरिसकेको छु प्रा.डा.चालिसेसित । उहाँको आज कतै बाहिर निस्कने योजना वा कार्यक्रम रहेनछ । अनि सम्भव भयो भने आज घर फर्किनुअघि एकपटक दर्शनभेट गर्न आउँछु भनेको छु वा अनुमति लिएको छु । उहाँसित भेटौँ, देशको धरोहर हुनुहुन्छ । हामीले चिनेका छौँ र हामीलाई चिन्नुभएको छ । यसर्थ थोरैबेर भए पनि उहाँको घरमा पुगेर आफ्नो गन्तव्य लागौँला ।” किशुन सरसित यत्ति भनेपछि उहाँ तयार भइहाल्नु हुन्छ र हामी सोझिन्छौँ उहाँको घरतिर । किशुन सर, अर्थात् बज्जिका साहित्य संगम रौतहटका अध्यक्ष । रौतहटको एक परिचित साहित्यकार तर मुख्य पहिचान चाहिँ बज्जिका भाषाको अभियन्ता । एक प्राथमिक विद्यालयका प्रधान शिक्षक पनि हुनुहुन्छ । उहाँकै बाइक र उहाँ नै चालक । म केवल पछाडि बसेर बकबक गर्ने खलासी ।
सोध्दै र गुगलको भर पर्दै, दुवै माध्यम अपनाएर, नयाँ बानेश्वरबाट उहाँको घर पुग्दछौँ । उहाँ हामीलाई बाटोमा नै उभिएर पर्खिरहनु भएको छ । घर पुगेपछि, मलाई अनुभूति हुन्छ, एक तीर्थस्थलमा प्रवेश गरेको छु । मलाई समाज र देशको विशिष्ट सेवा गर्नेहरु देवताजस्तै लाग्दछन् । यसैले मैले कतिपय व्यक्तित्वलाई देवतासित तुलना गर्ने गरेको छु वा देवता भन्ने गरेको छु । आदरणीय प्रा.डा. चालिसको घरमा प्रवेशको सुखद अवसरले मलाई अलिकति भावुक बनाएको छ, म अलिकति यही भावनाले द्रविभूत भएको छु ।
उहाँका आधा दर्जनभन्दा बढी पुस्तक मसित छन् । यी महान् सर्जकको निवासमा मैले पनि अलिकति सास लिने अवसर पाउँछु ।
अत्यन्त हार्दिकतापूर्वक हाम्रो भलाकुसारी चल्छ । हामी कुनै म अलिकति उत्साहित छु, अलिकति असहज महसुस गरिरहेको छु । घरभित्र वरिपरि सबैतिर पुस्तक नै पुस्तक छन् । प्रशंसापत्र र सम्मानपत्रले भरिएको घर छ । विश्व परिचित जीववैज्ञानिकको घर हो । एक गहन अध्येताको निवास हो । एक चिन्तकको चिन्तन थलो हो । एक दार्शनिकको दर्शन फुर्ने भूमि हो । एक फरक धारका लेखकको धारा प्रवाह भावना बग्ने भवन हो । समग्रमा एक तपस्वीको तपोभूमि हो । कुराकानीमा अलिकति असहजता मलाई भएको छ । उहाँलाई होइन । अति हार्दिक र कुनै निकै पुराना साथीको जस्तो उहाँको व्यवहार । यत्ति विशाल व्यक्तित्व भएको मानिसको अत्यन्त सरल व्यवहार सायद खोेजेर पनि पाइन्न होला । उहाँको चिन्तन र जीवनको उद्देश्यले मलाई श्यामप्रसाद शर्माको सान्निध्य अनुभूति हुन्छ । मेरा अति आदरणीय श्यामप्रसाद शर्माप्रति उहाँ अझ अनुरक्त हुनुहुन्छ । यो निकटता अवर्णनीय छ ।
“हामीलाई हतार छ । आजै घर फर्किनु छ । अहिले डेढ बज्न लाग्यो दिउँसोको । घर फर्किनलाई घटीमा छ घन्टा लाग्छ र वर्षाको मौसम छ । अब हामी निस्कनु पर्ला कि सर ?” मनले अझै धेरै कुरा गर्न खोजेको छ तर मस्तिष्कले भने हतारको घन्टी हानिसकेको छ ।
उहाँले एउटा पुस्तक उपहार दिनुहुन्छ, आफ्नो छाप लगाएर । केही पुस्तक हामी सशुल्क लिन्छौँ । उहाँको यो चाहना होइन तर मेरो आग्रह छ प्रा.डा. चालिसेसित –“कम्तीमा परल मूल्य भने लिनुपर्छ, यो राम्रो चलन हो ।” उहाँले स्वीकार गर्नुहुन्छ । केही पुस्तक हामी लिन्छौँ ।
अनि उहाँको बारेमा हालै प्रकाशित अर्को एउटा प्रकाशनको पनि सम्झना हुन्छ । उहाँले उक्त प्रकाशन पनि उपलब्ध गराउनुहुन्छ । हामीलाई अब निकै हतार भइसकेको छ । सोचेको भन्दा करिब एक घन्टा ढिलो हुन थालेका छौँ । हतारमा बिदा माग्दछौँ । उहाँको मनले अझै बिदाइको हात हल्लाउन मानेको छैन । यो अनुभूति भइरहेको छ । उहाँ भन्नुहुन्छ –“चिया पनि खान पाइएन त ?”
अब बाटो खुलेको छ । अब आउन सजिलो हुन्छ भन्ने आग्रह छ हाम्रो । समयले हतार गरेको छ र बादलले सूर्यसित लुकामारी खेलिरहेको छ । पानी परेका चिन्हहरु धरणीले हामीलाई देखाइरहेकी छन् । विस्तारै हामी उहाँको कम्पाउन्डबाट बाहिरतिर पाइला राख्दै गर्दा उहाँ पनि हामीसित निस्कनुहुन्छ । बिदाइको हात हल्लाउन ।
मनमा एउटा गर्व लिएर निस्किइरहेका छौँ । उहाँको आँगनमा रहेको एभोकाडोको रुखका पातहरुले हात हल्लाइरहेका छन् ।
पत्रकार/लेखक
प्रतिक्रिया