अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसकाे अवसरमा टुक्का कविता लेखन कार्यक्रम सम्पन्न!

इनेप्लिज २०८० असोज १५ गते १:५५ मा प्रकाशित

काठमाडाैँ,


टुक्का साहित्य समाजकाे आयाेजना २०८० असाेज १४ गते ३३ ओैँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस विशेष टुक्का कविता लेखन श्रृङ्खला ४७ सम्पन्न भएकाे छ ।

टुक्का साहित्य समाजका अध्यक्ष ताराप्रसाद चापागाईँकाे संयाेजकत्वमा सञ्चालन भएकाे उक्त कार्यक्रममा नेपाल भारत लगायत विश्वका विभिन्न देशहरूबाट ७१ जना टुक्काकारहरूकाे सहभागिता रहेकाे थियाे । भर्च्युअल माध्यमबाट सञ्चालन भएकाे उक्त कार्यक्रमकाे प्रशिक्षण अध्यक्ष चापागाईँले नै गर्नु भएकाे थियाे । सहभागीहरूले ज्येष्ठ नागरिककाे हक, अधिकार र उनिहरूकाे संरक्षणकाे विषयमा केन्द्रित भई सुन्दर टुक्का कविताहरू सिर्जना गर्दै शुभकामना आदान प्रदान गरेकाे थिए ।

टुक्का साहित्य समाजले चाडपर्व उत्सव लगायत विशेष अवसरहरूमा विशेष टुक्का कविता लेखन कार्यक्रमहरू सञ्चालन गर्नुकाे साथै अन्य विभिन्न किसिमका नियमित अभ्यासका कार्यक्रम तथा प्रशिक्षणहरू समेत सञ्चालन गर्दै आएकाे छ ।

कार्यक्रमकाे अन्त्यमा, अध्यक्ष / प्रशिक्षक चापागाईँले संसारका धेरै जस्ताे देशहरूमा ६० वर्ष पूरा भएका नागरिकलाई राज्यले ज्येष्ठ नागरिकको श्रेणीमा राखेका छन् । अनेकाै कष्ट सहेर आफ्नाे इच्छा चाहनालाई मारेर राम्राे नखाई र राम्राे लुगाफाटा नगाई सन्तानलाई खुसी बनाउदै हुर्काएकाेमा तिनै छाेराछाेरीले हेला गर्ने, झर्काे फार्काे गर्ने, वृद्धाश्रममा लगेर छाेडिदिने प्रथा नेपालमा पनि बढ्दै गएकाे हुँदा आधुनिकताका नाममा आएका यस्ताे प्रथाले सामाजिक विकृतिकाे रुप लिँदै गरेकाे हुँदा यस बारेमा हामी र हाम्राे समाजलाई सचेत गराउनु पर्ने कुरामा जाेड दिँदै हामी सबैले ज्येष्ठ नागरिकहरूकाे सम्मान गराैँ, माया गराैँ, उनिहरूकाे मानव अधिकार सुनिश्चित गराैँ, ज्येष्ठ नागरिक मैत्री समाज निर्माण गरौँ भन्ने आव्हान गर्दै कार्यक्रममा सहभागी सबै टुक्काकारहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नु भएकाे थियाे ।

टुक्का कविता लेखन कार्यक्रममा सङ्कलन गरिएका केही ज्येष्ठ नागरिक सम्बन्धी टुक्का कविताहरू
[१]
१.
नखाई नलाई माया गर्दै हुर्काएका ती सन्तान
वृद्ध बुबाअामा घृणा गर्दै ठुला ठान्छन् धुनधान ।
२.
धर्म गर्न मन्दिर नै किन ? पिडामा मह्लम लगाउनु
ज्येष्ठ नागरिक भगवान झैँ हुन् सेवा भाव जगाउनु।
✍️ ताराप्रसाद चापागाईँ
धुनिबेसी
[२]
१.
भन्छन् हाम्रा, बुधजन सबले, ज्येष्ठ नै श्रेष्ठ धेर
राखौँ हामी, गुरु प्रवर भनी, वृद्धलाई पुजेर।
२.
पाका मान्छे, जति नजिक भए, भव्य सप्रिन्छ काम
दिन्छन् दीक्षा, घर सब नरको, बन्छ हो ईश धाम।
✍️ रामशरण न्यौपाने
भक्तपुर
[३]
१.
जिउँदो छँदा वास्ता छैन मरे पछि पीण्ड खिर,
त्यो भविष्यको आफ्नै ऐना ठानी लिने गर पीर।
२.
डोकाको कथा याद गरी सचेत बन्नु पर्छ
अमुक प्रभाव पर्दै आफ्नै सन्तानमा सर्छ ।
✍️ शर्मिला श्रेष्ठ
ललितपुर
[४]
१.
आमाको ममता बाबुको काँध
सुरक्षित स्थान खुशीको बाँध।
२.
जीवित छँदा वृद्धाश्रम  पुर्याउने  छोरा,
मरेपछि पितृ श्रद्धा श्राद्ध गर्ने हुन् मोरा।
✍️ बि के मुखिया
दार्जिलिङ
[५]
१.
जेष्ठ नागरिकको सदैव पाउ छुनुपर्छ
बुढा-बुढीको आदर गर्ने बानी हुनुपर्छ।
२.
जेष्ठ नागरिक दिवस राम्रै मनाउछौ दामी
बुढा-बुढीलाई सम्मान साथ हसाउँछौ हामी।
✍️ शिव कुमार रेग्मी
पोखराथोक, पाल्पा
[६]
आमा बाको जीवित छँदा गरौँ स्यार सुसार,
मरेपछि  लिपापोतीको  नगरौँ व्यवहार।
✍️ सुरेशकुमार पाण्डे
दाङ घोराही १८
[७]
जीवन रहँदै गरौँ वृद्ध वृद्धाको सेवा
मरणोपरान्त  किन चढाउने र मेवा।
✍️ कमला  देवकोटा
पाल्पा
[८]
सक्छौँ भने लौरो बनिदेउ, बा-आमाको सहारा,
मर्म तिनको नबुझे आँसुको दोष लाग्ला सारा।
✍️ होम प्रसाद नेउपाने
धरान, सुनसरी।
[९]
जन्म दिएर लालन -पालन गरी जसले संसार चिनायो,
वृद्ध अवस्थामा उसैले बाबु-आमाको स्यहार गर्न घिनायो।
✍️ राजेन्द्र प्रधान ‘पासा’
दार्जिलिङ ।
[१०]
१.
सबैको हो पालो त्यही उमेर छुने
बोल्नु हुन्न बोली उनको मन रुने ।
२.
नलगाऊँ वचन मुटु दुख्ने गरी
सेवा गरौँ घरमा नै देवका सरी ।
✍️ इन्दिरा देवकोटा
कपिलवस्तु न पा ३
[११]
१.
मान सम्मान गर्ने नानी बन यहाँ सबैको
हुन्न फेरि तिमी दुनियाँमा टुहुरा कसैको ।
२.
पाकाहरू सबै सबै यहाँ हाम्रो शान
सबैले उसै गर यहाँ मिलेर मान।
✍️ नीमा छिरिङ भोटिया
जलढाका कालेबुङ
[१२]
१.
सफलता मिलाउन भनि कोसिस अनेक बाधा हरे ,
हुर्काउन  बढाउन  उनले  कठिन  खोला तर्दै  गरे ।
२.
खुसी दिऊँ सकेको कसैले नगरौँ हेलाँ उनलाई ,
बिर्सन हुन्न जीवनमा नखाई दिएको गुनलाई ।
✍️ जमुना आचार्य
सिन्धुपाल्चोक
[१३]
बुढा बा आमालाई खुसी राखौँ घर हुन्छ उज्यालो
हेलाँ नगरौ हाम्रो पनि आउँछ एकदिन पालो ।
✍️ हिमा आर.सी
मेहेलकुना सुर्खेत
[१४]
१.
माया गर वृद्धलाई हेला नगरी,
माता पिता सम्झ सधैँ देवता सरी।
२.
बुझिदेउ वृद्धहरूको दुःख कष्ट पीर,
नपुर्याऊ हेला गरी वृद्धआश्राम तिर ।
✍️ विवश पारदर्शी
(झापा) नेपाल
[१५]
१.
आफ्नो पनि बुबाआमा पालो आउॅंछ सबैको बन्ने
नसोचिकन थालौला कसैले तिनकै जरो खन्ने।
२.
बाँचुन्जेल नै गरौँ बाउआमाको स्याहार सुसार
देखाउने नभई आत्मैदेखिको सच्चा व्यवहार।
✍️ अर्जुन प्रसाद चौलागाई
रामेछापः-सुनापति-१
हालः-अमेरिका,बोस्टन।
[१६]
१.
वृद्ध वृद्धालाई माया अनि सम्मान गरौँ
उनीहरूको आशीर्वादले जीवन भरौँ ।
२.
ज्येष्ठ नागरिक हुन् देशका नै धन
यिनीहरूको दुखाउनु हुन्न मन ।
✍️ राजेशराज गड्तौला
रतुवामाई- १०, मोरङ
हाल- काँडाघारी, काठमाण्डौ
[१७]
१.
भवितव्य नभए आउँछ सबको यहाँ पालो,
अपहेला नगर्नु बुढापा नगर्नु मन कालो ।
२.
जीवनको हरेक पलमा गर्नु जेष्ठको  सेवा,
दुर्बलमा कर्मठ सन्तति सबले दिनु टेवा ।
✍️ कृष्णकुमार वैद्य
बनेपा ९, काभ्रे
[१८]
सकिन्छ भने बुबा अामाको,सहारा बनिदेउन,
घृणा तिरस्कार धेरै भयो,स्याहार गरीदेउन।
✍️ एवाइ प्रभात
सहिदभुमि-३, छेन्ताङ धनकुटा
हाल मोरङ
[१९]
अती भयाे धेरै नबुन है जाली जालाे
जता गएनी हाेला है अनुहार कालाे ।
✍️ हरी गाेपाल प्रधान
[२०]
१,
सन्तानको लागि जस्ले गर्‍यो आफ्नो जीवन उत्सर्ग
ती दयाका पात्र हैनन्, हुन अति सम्मानित वर्ग ।
२,
नराखौ नाम वृद्धाश्रम राखौँ अनुभवी समाज
ज्ञानको खानीलाई राखौँ शिरमा पहिर्‍याई ताज ।
✍️ ध्रुव श्रेष्ठ
खोटाङ वजार, हाल काठमाण्डौ ।
[२१]
१.
ज्येष्ठ नागरिकको कुरा यहाँ कसले पो सुन्छ ?
सबैजसो त हेर! आफ्नो मात्रै तानाबाना बुन्छ।
२.
पछि पालो सबैको लौ! उही त होला
यसरी बुझे कसको मन नछोला ?
✍️ परिक्रमा श्रेस्ठ
धरान -१५, सुनसरी ।
[२२]
१.
सुन्दर संसार देखाउने आमाबाबु नै हुन
तिरेर  सकिदैन कहिले उहाँहरूकाे गुन ।
२.
बुढा पाका भनेर आमाबाबुलाई किन घृणा गर्छौ
मानव शरीर  हाे तिमी पनि एकदिन फेला पर्छौ।
✍️ राज कुमार राजभण्डारी “खाेटाङ्गे”
मध्यपुर  ठिमी  ५ संगम काेलाेनी भक्तपुर ।
[२३]
१.
सुमार्गमा हिँडाउने तिमी हौ सौम्य पवन
आमा,बाबाको कुरा म गर्छु सदैव मनन ।
२.
सन्तान हुर्काउने भनि गर्छन् योजना नापी नापी
जसले वृद्धको अवहेलना गर्छ उही हो पापी ।
✍️ प्रेम थापा “मन”
बागलुङ
[२४]
१.
कुकुरदेखि हाेसियार भन्दै घरमा पाल्छन्
देवतारूपी आमा बालाई सडकमा फाल्छन् ।
२.
सन्ततिलाई हुर्काउँदा मूल्य चुकाएका छन् चर्काे
आफ्नाे पालाे आउँदाखेरि नमानाैँ है हामीले झर्का ।
✍️ उमा गाैतम
काठमाडाैँ।
[२५]
१.
बुढ्यौली शरिरलाई ठानेर भार कसैले  नगर्नु कहिले हेँला
जीवन सबको उही हो तिमी पनि पछि परौला सन्तानको फेला ।
२.
के गर्छौ हेँला हामीलाई सरकारले दिएको छ वृद्धभत्ता
खान पुग्नेगरि दिएमा भत्ता जुगजुग टिकोस् शासन सत्ता।
✍️ चिरञ्जीवी श्रेष्ठ
धनकुटा ।
[२६]
१.
पालन पोषण गरि हुर्काए तिमीलाई ,
बा आमाको सेवा गर्नु है गुणगान गाइ ।
२.
वृद्ध वृद्धालाई सधै सम्मान गर्नु ,
बोली वचन मिठो गरि शान्ति छर्नु ।
✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
कनकाई ४ झापा
[२७]
माया ममता दिएर राख्न सकौँ सबैले
वृद्धा आश्रम तिर नपठाउ है कसैले।
✍️ सरस्वती श्रेष्ठ
इटहरी
[२८]
१.
उमेर जति ढल्कँदै गयो उति पीडा हुने
सन्तानले हेला गरे भनेँ झनै मन रुने।
२.
मन्दिर किन धाउँछौ तिमी धर्म गर्न खोजे
पाउँनेछौ भरपुर खुसी वृद्ध सेवा रोजे।
✍️ मन्दिरा सेढाई
मलेखु,धादिङ
[२९]
अपमान र हेला घृणा नगरौँ आमाबालाई
कदर गरौँ सधैँ हामी उनको भावनालाई ।
✍️ कृय्ण घिमिरे ‘उदार’
[३०]
१.
आफू भन्दा ठुलालाई सम्मान गर्ने गर
ज्येष्ठ नागरिक नै हाम्रा जिन्दगीका भर ।
२.
बाबु बाजे जेठा पाका अनुभवी हुन्छन्
अशक्त भै उनिहरू हेँला भई रुन्छन् ।
✍️ गुणनिधि घिमिरे
अमेरिका
[३१]
१.
आजभोलि वृद्ध वृद्धा हुन्नन् घरमा बास
साक्षात् ईश्वर यिनैलाई पूजा गरौँ खास ।
२.
आज हामी जे जे गर्छौं सन्तान त्यही सिक्छ
बाआमाको सेवा गर्दा सम्बन्ध पुस्तौँ टिक्छ ।
✍️ पद्मा काश्यप पाण्डे
पथरी मोरङ
[३२]
१.
बुबाआमा भगवान् हुन राम्रो सम्मान गराैँ,
सधैंँभरि आशीर्वाद लिई काममा अघि बढाैँ।
२.
बुबाआमाले सानाे छँदा सन्तानलाई दिए ज्यान,
बुढेसकालमा छाेराबुहारी सबैले दिऔँ ध्यान।
✍️ कल्पना भण्डारी
सिन्धुपाल्चोक हाल काठमाडौँ
[३३]
१.
पुरानो देशले लाचार सत्ता मन पराए
देशका युवाहरू बूढो भए भत्ता हराए।
२.
पालोसँगले सबैको पालो आउनेछन्
बृद्धअवस्था त्यो हो सबैले पाउनेछन् ।
✍️ बि.कुलुङ “रंगबुले”
दार्जिलिङ, भारत
[३४]
वृद्ध बुबा आमा हाम्रो हुन् पहिला गुरु,
माया दिई सधैँ सेवा गर्नु  है खुरु खुरु ।
✍️ भगवती दवाडी
झापा
[३५]
१.
श्रद्धा छ सधैँ तिमी प्रति तिम्रो जीवन मेरो विश्वविद्यालय हुनेछ,
देखाउँछौ गन्तव्यलाई अनि मेरा पाइलाहरूले शिखर छुनेछ।
२.
ढुक्क हुनु तिम्रा गोडाहरू काँप्दा थाम्ने सहारा मजबुद
बनेकाछन्,
आमा र बाबा जिउँदा भगवान हरेक श्रेष्ठ सन्तानले भनेकाछन्।
✍️ पुष्पा राई
खोटाङ।
[३६]
१.
ज्येष्ठ नागरिक हुनै पर्छ सबैलाई एक दिन
अजम्बरी त कोही छैन यौवन जान्छ बेला चिन ।
२.
आफू पनि बूढो हुनु पर्छ भन्ने कुरा बुझ
कसरी सुखी बा-आमा बुझेर लौ आफैँ सुझ ।
✍️ प्रीति आत्रेय ज्ञवाली
कम्बाेडिया
[३७]
समाजमा रहेका आमूल्य जेष्ठ नागरिक हाम्रो
अनुभव धेरै  हुन्छ सरसल्लाह  पाइन्छ राम्रो ।
✍️ सुशीला थापा
काठमाडाैँ
[३८]
अनुभव र व्यवहारमा सबभन्दा राम्रो ,
ज्येष्ठ नागरिकलाई बनाऔँ है साथी हाम्रो ।
✍️ गंगा खड्का
बूढानीलकण्ठ ,काठमाडौ
[३९]
१.
जसको घरमा सम्मानित हुन्छन् वृद्धा वृद्ध
उसैको  घर बन्छ आर्थिक रुपले समृद्ध ।
२.
श्रीसम्पति लुक्ष्नलाई बन्नेले नै गृद्ध
वृद्धाश्रम पुर्याउछन् बने पछि वृद्ध ।
✍️ बाबुराम गौतम
गुल्मी
[४०]
१.
जेष्ठ नागरिकका कुरा काट्नु हुन्न कहिले
कुरा गर्दा सानो स्वरमा बोल्नु पर्छ जहिले।
२.
उनको गल्ति भए पनि मिलाएर भन्नु पर्छ
राम्रो बोली व्यवहारले ओैषधिको काम गर्छ ।
✍️ पुष्पा सुवेदी
नेपालगञ्ज, बाँके ।
[४१]
१.
उमेर कटाएको मान्छे आलाकाँचा भन्दा हुन्छन् नै बाठो
अनुभवी र सक्षम हुन्छन् फुकाउन समस्याको गाँठो ।
२.
जेष्ठ नागरिकको सम्मान हुन्छ राम्रो पद्धति र प्रणाली भएको देशमा
वृद्ध वृद्धालाई हेँला गर्ने ती शासकहरू नै देखा पर्छन् विभिन्न भेषमा।
✍️ पवन कुमार बुढाथेाकी
काठमाडौं
[४२]
१.
आमा बाबा हाम्रो प्रथम ईश्वर हुन,
बिर्सनु हुदैन उहाँका निस्वार्थ गुन।
२.
यो सन्सारमा पाइला टेकाउने उनै आमा,बाबा हुन,
कसैगरि तिर्न सकिदैन है जेष्ठ नागरिकका गुन।
✍️ शोभा आचार्य गौतम
काठमाडौँ
[४३]
१.
सधैँभरी बा-आमाको सहारा बन्नुपर्छ ,
छोराछोरी हुर्काएको त्यो पीडा सबै टर्छ।
२.
स्वार्थको लागि जन्मदाता रुवाएर नगरौँ हेला,
हेँला गर्‍यो भने त्यही आँसुले पिर्ने आउँछ बेला।
✍️ बेदु न्यौपाने
काठमाडौँ
[४४]
१.
ईश्वर खोज्न पर्दैन जान घर घर पाइन्छन् ईश्वर
सेवा गर्दा निस्वार्थ भई वृद्धवृद्धाको पाइनेछ वर ।
२.
इतिहास र अनुभवका खानी नै हुन् जेष्ठ नागरिक
जीवन चलाउन के गर्नुपर्छ तिनबाट केही सिक ।
✍️ रचना शर्मा प्रतीक्षा
दतिटोल, इमाडोल टेम्पोपार्क, ललितपुर
[४५]
जेष्ठ बुवा आमाको मान गर्नु पर्छ,
सन्तानको खुसीले दुःख जति हर्छ।
✍️ सुशीला पाैडेल 

हाल काठमाडाैँ 
[४६]
१.
वहाँहरुले अँगालेको पथमा यात्रा गर्दै हामी मरौँ
वृद्धवृद्धा हुन साक्षत जिउँदो भगवान रक्षा गरौँ।
२.
इतिहासका धरोहरलाई गरेर सेवा
पाइनेछ मरणपछि कर्मको फल मेवा।
✍️ पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती न.पा.-३, काभ्रे।
[४७]
१.
बुढाबुढी त हामी पनि बन्छौं
जानेर किन मूलजरो खन्छौं?
२.
उमेर हुँदा धेरै ठुलो रहर
पुगेपछि सबै बुढ्यौली ठहर।
✍️ रतन पाण्डे ‘पारतन’
दार्जीलिङ।
[४८]
१.
सम्मान गरेर पुजा गरौँ जेष्ठ जनलाई,
सन्तानलाई खुवाउने बरु आफू नखाई।
२.
बालक बन्छ वृद्ध बरु, बन्दैन वृद्ध बाल,
निस्वार्थ भावले सेवा गरौँ पर्खनेछ काल।
✍️ समुद्र
जल्जला ७ गण्डकी
[४९]
१.
बाँचुन्जेल राम्राे गर अरू केही चाहिदैन
खाेजे सबै पाइन्छ हेर बा आमा पाइदैन ।
२.
बाउअामाकाे सेवा गर्नु तिम्रो हाम्रो धर्म
छाेराछाेरी भए पछि मान्नु नि लाज सर्म।
✍️ भवानी पाेखरेल (बाबू विराज)
बाणगङ्गा १ कपिलवस्तु
[५०]
१.
परिवर्तन  सँगसँगै प्रविधिको बलले हानेर,
वृद्ध बाबा आमा पुर्याउदैछन् वृद्धाश्रममा तानेर।
२.
आफ्नो अर्काको नभनि जेष्ठ नागरिकलाई सम्मान गरौँ,
उनिहरुको आशिर्वाद खेर जाँदैन ढुक्क भै भर परौँ।
✍️ अच्युत घिमिरे
सर्पाङ,भुटान🇧🇹
[५१]
१.
ज्येष्ठ नागरिकको सम्मानमा लाग्नु जहिले
कर्मकाे फल अवश्य मिल्छ नखाेज्नु पहिले ।
२.
वृद्ध वृद्धा ती राष्ट्रको गहना मानेर
हक अधिकार दिउँ सबैले जानेर ।
✍️ रश्मि रिमाल
झापा
[५२]
दुखेका पाउ दबाएनछ अय्या अय्या मरेँ भनेपनि
मूर्ख सन्तानले बाबुको सम्पत्ति आफ्नै नाम गरेछ नि ।
✍️ पुष्पासायरा।विराटनगर ।
[५३]
१.
जेष्ठ नागरिकहरूलाई हामीले गर्नुपर्छ सम्मान
ती नै हुन नेपाल राष्ट्रका विभूति गहना पहिचान ।
२.
वृद्ध वृद्धालाई कहिल्यै पनि नगराैँ हेला
घरमा बा आमा वृद्ध अवस्था भएको बेला ।
✍️ केसर बाेहरा ( सङ्घर्ष )
सुदूरपश्चिम अछाम ।
[५४]
१.
यो धर्तीमा जन्म दिई जुन बाआमाले सबै संसार चिनाए
उनकै हेँला भयो आज, काखी च्यापी श्रीमती सहर हिनाए।
२.
सबैलाई हुनुपर्छ वृद्ध,किन उमेर ढल्के पछि हेँला
बाटो अनि पाले तिम्रो पनि आउँछ,अनि पर्छौ सबै फेला।
✍️ शंकर कार्की
थाहा नगरपालिका ३ मकवानपुर।
[५५]
१.
बाबा आमा हाम्रा जिउँदा भगवान,
नगरौँ तिनको कहिल्यै अपमान।
२.
नगरे जन्मदाता बा-आमा माथि छलछाम,
मिल्छ पुण्य त्यसै,धाउनु पर्दैन चारधाम।
✍️ अरूण खड्का
काठमाडौँ।
[५६]
१.
लगाएर ज्यानको बाजी हुर्काइ बढाइ गरे
अन्न पानी जुटाउन कैयौँ जङ्घारहरू तरे ।
२.
नलगाऔं है रुखो वचन वृद्धाकाे मन रुन्छ
सम्मान राखी सेवा गरौँ हामीलाई धर्म हुन्छ।
✍️ सरिता सेढाई
धादिङ
[५७]
१.
माया गर्नुपर्छ बुढाबुढी बाआमालाई हेला नगरी,
मान्नुपर्छ हामीले बाबाआमालाई नै भगवान सरी।
२.
बुझ्नुपर्छ हामी सबैले वृद्धहरूको मनको पिर,
कहिल्यै पनि झुकाउन हुँदैन उहाँहरूको शिर।
✍️ सहयात्री शाेभा अर्याल
बुटवल, रुपन्देही
[५८]
१.
अमूल्य जीवन दिने हाम्रा जीवन दाता
देख्न सकिने ठुला ईश्वर पिता र माता।
२.
सम्झिएर आफ्नो कर्तव्य स्याहार र सेवा
बुढ्यौलीमा सबैले पाउन सकुन टेवा।
✍️ सुस्मिता अधिकारी
काठमाडौँ
[५९]                 
नियति हो समयको, सम्मान गरौँ ज्येष्ठलाई

आयु, अनुभूति, संस्कार सबैतिर श्रेष्ठलाई ।

✍️ दुर्गा वनवासी
झापा
[६०]
१.
बा आमा समय अनुसार रुँदैछन
सन्तानले  दिए आँसु मन धुँदैछन।
२.
ती अग्रजकाे हृदय सधैँ राेएकाे हेर
रातदिन दुख नदेउ अब बानी फेर ।
✍️ दीपा शाही रावत
कैलाली
[६१]
१.
मातापिताका लागि छोराछोरी हुन ज्यान
वृद्ध बाआमालाई सन्तानले दिउ ध्यान ।
२.
बाआमालाई कसैले गर्न हुन्न हेला
भोलि आफूलाई पनि हुन्छ यस्तै फेला।
✍️ रुना कर्माचार्य दाहाल
चितवन

[६२]
१.
फल पनि बोट विना त्यसै कहाँ फल्छ
बुबाआमा थिए र पो हाम्रो सृष्टि चल्छ।
२.
सम्झ तिमी बुढो हुँदा यस्तै भोग्नु पर्छ
जब आफू पाको हुन्छौ अनि आँसु झर्छ।
✍️ दस्ता कौशिक
पाँचथर।
[६३]
१.
जन्माएथ्याै छाेराछाेरी भविष्यलाई ठानि
हुर्काएथ्याै उनलाई साथै रहेुँला मानि।
२.
आँसु हाम्रा सबै सुकी सके, बिछाेडमा रुदै
आमाबाबा भेट्ने मन भए, आउँ सास हुदैँ।
✍️ रमादेवी बानिया
कटुन्जे-५, भक्तपुर ।
[६४]
१.
तेत्तिसौँ अन्तर्राष्ट्रीय जेष्ठ नागरिक दिवस स-सम्मान गरौँ
हामी पनि वृद्ध हुन्छौ उहाँहरूको स्याहार प्यारमा लागि परौँ ।
२.
वृद्ध वृद्धाको पनि चाहाना हुन्छ छोराछोरी वरिपरी बसिदिउन्
तीर्थ दान धर्म यहीँ मिल्छ मिठो बोली जस्तो छ गुनासो सुनिलिउन् ।
✍️ चुडामणी देबकोटा
चनपा १३ काठमाडौ
[६५]
माता पिता जिउँदा देउता ,घृणा अनि अपमान,
श्रेष्ठ मान्दै पूजा त गर्छौं राम र सीता भगवान ।
✍️ मनोहरी पौडेल
गैडाकोट १
[६६]
१.
ज्येष्ठ नागरिकको सबैले सधैँ सम्मान गर्नु
नभुलौ एक दिन हामीले पनि छ नदी तर्नु ।
२.
वृद्धाश्राममा देख्छु मैले आमा बाबु रोएको
आफ्नै ऑसुको धाराले आफ्नै त्यो पीडा धोएको।
✍️ नीता गुरूंग भाटिया
असम, भारत।
[६७]
१.
जन्म दिएर हुर्काए बा आमाले जसैगरी,
बुढेसकालमा माया गर्नु पर्थ्यो कसैगरी ।
२.
कोही अमेरिकामा छन् ती कोही छन् कतारमा,
लिंदैनन् चाख बा आमाका छन् आफै हतारमा ।
✍️ ऋषिराम खनाल
मध्यबिन्दु नगरपालिका -६, नवलपुर ।
[६८]
१.
जेष्ठ नागरिक वृद्वा आश्रममा नछाेड्नु
आफ्ना पुर्खा ती जन्म दाताकाे मन नताेड्नु ।
२.
आधुनिक जमाना भन्दै वृद्वा आश्रम खाेजेर
ती अग्रजकाे मन राेयाे गलत बाटाे राेजेर ?
✍️ भाेलनमान बर्देवा
धरान ८ सुनसरी
[६९]

मातापिता सेवा होइन कर
भौतिक सन्सार होइन घर ।
२.
असल कर्मको मानौँ भर
कुकर्मको सधै मानौँ डर ।
✍️ कार्की डिबी माकुम
सुनवल-४, नवलपरासी
[७०]
१.
जेष्ठ नागरिकको गरे सेवा
भगवानले दिनेछन मेवा ।
२.
जेष्ठ नागरिकलाई गरे हेला
पछि आफू पनि त्यस्तै भइएला।
✍️ प्रफुल्ल भण्डारी
धरान सुनसरी
[७१]
१.
बाँचुन्जेल लगाए अनेक लाञ्छना ,
मरे पछि तर्पणमा फाेस्राे वाञ्छना ।
२.
आमा बा बाेल्ने देवता, पवित्र मन्दिर हुन्छ घर ,
बाँचुन्जेल सेवा गर ,वृद्धअवस्थामा दिनु भर ।
✍️ प्रद्युम्न चालिसे
भक्तपुर कटुञ्जे ।

::::: जय टुक्का ! जय साहित्य !! :::::

प्रतिक्रिया