डा. दामोदर पुडासैनी ‘किशोर’ लाई यानीति साहित्य पुरस्कार

इनेप्लिज २०८० असोज १३ गते १:१० मा प्रकाशित

स्याङ्जा साहित्य प्रतिष्ठान, स्याङ्जाले जिल्ला सदरमुकाम पुतलीबजार स्थित जिल्ला समन्वय समितिको सभाकक्षमा एक भव्य समारोहकाबीच बरिष्ठ साहितयकार डा. दामोदर पुडासैनी ‘किशोर’ लाई यानीति साहित्य पुरस्कार अर्पण गरेको छ ।

स्याङ्जा साहित्य प्रतिष्ठानका अध्यक्ष विश्वप्रेम अधिकारीको अध्यक्षता, प्रा.डा. गोविन्दराज भट्टराईको प्रमुख आतिथ्यता एवं पुरस्कार संस्थापक तुलसी गिरी एवं कृष्ण गिरीको उपस्थितिमा डा. पुडासैनीलाई उक्त पुरस्कार प्रदान गरिएको थियो ।

डा. पुडासैनीलाई उक्त समारोहमा दोसल्लाह ओडाई, नगद पुरस्कार र सम्मानपत्र सहित सम्मान गरिएको थियो ।

सो अवसरमा प्रमुख अतिथि प्रा.डा. गोविन्दराज भट्टराईले डा. पुडासैनीजस्तो अत्यन्त उर्जावान र स्वच्छ छवीका लेखकलाई यो पुरस्कार प्रदान गर्दा पुरस्कार संस्थापकहरू र पुरस्कार प्रदान गर्ने संस्थाको समेत गरिमा बढेको कुरा बताउँनु भयो ।

कार्यक्रमका सभाध्यक्ष विश्वप्रेम अधिकारीले स्याङ्जा साहित्य प्रतिष्ठानले कसैको आग्रह र पूर्वाग्रहबाट मुक्त रहेर निष्पक्ष ढङ्गले पुरस्कारको लागि पात्र छनौट गरेको कुरा बताउँनु भयो ।

सो अवसरमा यानीति साहित्य पुरस्कारबाट विभुषित डा. दामोदर पुडासैनीले भन्नुभयो— ‘पुरस्कारले रासायनिक मलको जस्तै काम गर्छ । सही स्रष्टालाई पुरस्कार दिइयो भने त्यसले स्रष्टालाई थप मद्दत मिल्छ । मोलाहिजा र आग्रह पूर्वाग्रहको आधारमा कसैलाई पुरस्कार दिइयो भने त्यसको प्रतिफल प्रत्युत्पादक हुन्छ ।

अहिले नाम चलेका पुरस्कारहरू समेत आग्रह पूर्वाग्रहमा वितरण गरिन थालेको चर्चा चलिरहेको बेला कुनै दाग र गुनासोबाट मुक्त स्याङ्जा साहित्य प्रतिष्ठानका क्रियाकलापहरू मध्येबाट पुरस्कार पाउनु खुशीको कुरा हो ।’ पुरस्कारको निष्पक्षताले नै त्यसको गरिमा बढ्ने भएकोले निष्पक्ष ढंगले पुरस्कारको लागि छनौट गर्ने निर्णायक, स्याङ्जा साहित्य प्रतिष्ठान र यानीति साहित्य पुरस्कारका संस्थापकप्रति पनि डा. पुडासैनीले आभार व्यक्त गर्नुभएको थियो ।

यानीति पुरस्कार स्याङ्जा जिल्लाका प्रसिद्ध समाजसेवी यादव गिरी र उहाँका दुई पत्नीहरू नीलकण्ठ गिरी र तिलकुमारी गिरीका नाममा उहाँका पुत्रहरू तुलसी गिरी, कृष्ण गिरी र विश्वेश्वर गिरीले स्थापना गर्नुभएको हो ।

डा. दामोदर पुडासैनी नेपाली साहित्यका एक उर्जाशील नक्षण हुनुहुन्छ । उहाँका दश कवितासङ्ग्रह, सात नियात्रासङ्ग्रह र एक दर्शनकृति समेत अठार कृतिहरू प्रकाशित भइसकेका छन् । साझा प्रकाशनद्वारा प्रकाशित उहाँको नियात्राकृति डोल्पो ! ओ डोल्पो !! यतिखेर चर्चाको शिखरमा छ ।

सो कार्यक्रममा साहित्यकारहरू बनमाली निराकार, लक्ष्मण वियोगी, विजय हितान, धनराज गिरी, पूर्णप्रसाद अधिकारी, राजेन्द्रदेव आचार्य, चिन्तु गिरी र पुतलीबजार नगरपालिकाका प्रमुख तुलसीप्रसाद रेग्मीसहित काठमाडौँ, चितवन, रुपन्देही, कास्की, पाल्पा जिल्लाका साहित्यकारहरूको सहभागिता थियो ।

सो अवसरमा प्रमोद पंगेनीद्वारा सम्पादित द्रष्टाका दृष्टिमा स्रष्टा विश्वप्रेम अधिकारी, पूर्णप्रसाद अधिकारीद्वारा लिखित अनुरञ्जन आफैंभित्र र चिन्तु गिरीद्वारा लिखित आमा जन्मेको देश कृतिहरूको विमोचन पनि गरिएको थियो ।

सो कार्यक्रमको संयोजन तथा सञ्चालन साहित्यकार प्रमोद पंगेनीले गर्नुभएको थियो ।

प्रतिक्रिया