सूचक सम्मान

इनेप्लिज २०८० भदौ २१ गते ०:३४ मा प्रकाशित

अरुण नदि खत्री,काठमाडौ, सूचक प्रकाशनले विगत १५ वर्षदेखि प्रदान गर्दै आएको सूचक सम्मान यो वर्ष पनि विभिन्न क्षेत्रका प्रतिभाशाली व्यक्तिहरूलाई प्रदान गर्ने भएको छ । प्रकाशनको १५ औं वार्षिकोत्सवको अवसरमा विभिन्न क्षेत्रका ८ जना प्रतिभाहरूलाई सम्मान गर्न लागिएको सूचक प्रकाशनका संरक्षक कृष्ण बहादुर श्रेष्ठले बताएका छन् ।

उहाँका अनुसार विभिन्न माध्यमबाट नेपाली भाषा र साहित्यको विकासमा निरन्तर सक्रिय साहित्यकारहरू गीता कार्की, ज्ञानु अधिकारी, सपना लामिछाने, लिलादेवी श्रेष्ठ, रेनुका सोलु, वसन्त नकर्मी तथा नेत्र अनुसन्धान विज्ञ सिद्धार्थ रन्जित र समाजसेवी हेमन्त कुमार कार्कीलाई सम्मान अर्पण गर्न लागिएको हो । साथै सोही अवसरमा तत्कालीन शाही नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट रतन बहादुर लामिछानेको स्मृतिमा स्थापना गरिएको क्याप्टेन रतन बहादुर लामिछाने
पुरस्कार साहित्यकार इल्या भट्टराई र पत्रकार राजेश खनाललाई प्रदान गर्ने सूचकले जनाएको छ ।

विगत १५ वर्षदेखि निजी प्रयासको माध्यमबाट नेपाली कला, भाषा, संस्कृति, साहित्य र अध्यात्मको क्षेत्रमा क्रियाशील सूचक प्रकाशनले भगवान बुद्धको सम्यक शिक्षालाई स्वतन्त्र ढंगबाट जनमानसमा पुर्‍याउन सम्यक सन्देश नामक समानान्तर बौद्ध आध्यात्मिक पत्रिका प्रकाशन गरिरहेको छ भने देशव्यापी रूपमा नि: शुल्क पुस्तक समेत वितरण गर्दै आएको छ । हालसम्म सूचक प्रकाशनबाट सत्यमोहन जोशी, माधव प्रसाद घिमिरे, सुवर्ण शाक्य लगायत झन्डै दुई सय विभिन्न क्षेत्रका प्रतिभाहरू सम्मानित भइसकेका छन्।

प्रतिक्रिया