नेकपा फुटाएको अदालतले होइन प्रचण्डले हो, निर्वाचन आयोगले पनि सघायो : अध्यक्ष ओली

इनेप्लिज २०८० भदौ ११ गते १२:५६ मा प्रकाशित

काठमाडौ, नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेकपालाई अदालतले नभई वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालले फुटाएको आरोप लगाएका छन् ।

काठमाडौंमा आयोजित जनप्रतिनिधिसँगको अन्तक्र्रिया कार्यक्रममा उनले अदालतले नेकपा फुटाइदिएको भन्ने भाष्य खडा गरेर दाहालले कम्युनिष्ट पार्टीलाई फुटाएको बताए ।

उनले भने, ‘अदालतले नेकपा फुटाइदिएको भन्ने भाष्य तयार गरिएको छ, त्यो उचित होइन, ठीक होइन ।

अदालतले ऋषि कट्टेलले त्यही नाममा पहिले नै दर्ता गराइसकेको हुँदा अर्को नाम दर्ता गर्न आऊ भनेको थियो ।

अर्को नाम लिएर दर्ता गर्न मैले अनेक कोसिस गर्दा पनि दाहाल जान मानेनन् । अदालतले फुटाएको होइन, दाहालले हो ।’

दाहालअलग भएपछि निर्वाचन आयोगले एमालेलाई तलैसम्म फुटाउने षड्यन्त्रमा माधव नेपाललाई सघाएको लागेको आरोप लगाउँदै अध्यक्ष ओलीले भने,‘ दाहाल अलग भएपछि निर्वाचन आयोग, सभामुख र माधव नेपालको संयुक्त साँठगाँठबाट एमाले भदौ १० गते फेरि फुटाए, अदालतमा गएर मुद्दा हालेर ल्याउनेहरु २० प्रतिशतमा फुटाउन मिल्ने भन्ने लाज, शरम छोडेर निर्लज्ज भएर पार्टी फुटाए, एमाले फुटाउन अग्नि सापकोटा र निर्वाचन आयोगले सहयोग गरे, नेपाललाई पार्टी तलैसम्म फुटाउने षड्यन्त्रमा निर्वाचन आयोगले पनि सघायो ।’

अध्यक्ष ओलीले एमालेसँग कसरी कमाउने नभएर कसरी देश बनाउने भन्ने भिजन रहेको तर्क गरे ।

प्रतिक्रिया