नेपाल र अमेरिकाबीच द्धौत्य सम्बन्धको ७५औं वार्षिकोत्सव मनाइँदै

नातिबाबु भट्ट, कोलोराडो २०८० भदौ ७ गते २१:५९ मा प्रकाशित

अगष्ट २३, २०२३
कोलोराडो, अमेरिका ।

नेपाल र अमेरिकाबीच द्धौत्य सम्बन्ध सुरु भएको ७५औं वर्ष पुगेको खुसियालीमा विभिन्न कार्यक्रमका साथ कोलोराडोमा ७५औं वार्षिकोत्सव धुमधामका साथ मनाउने तयारी अन्तिम चरणमा पुगेको छ ।

कोलोराडोको लङमन्टस्थित बोल्डर काउन्टी फेयर ग्राउन्डमा सेक्टेम्बर १ र २ तारिकका दिन राजु लामा (मङ्गोलियन हार्ट) र निरोजको बेजोड सांगीतिक प्रस्तुतिसँगै विभिन्न शैक्षिक, सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमका साथ सो कार्यक्रम मनाउन लागिएको हो ।

हेल्पिङ हेन्ड हेल्थ एजुकेसनका अध्यक्ष नारायण श्रेष्ठको नेतृत्वमा गठन गरिएको समितिका सदस्यहरुमा बुद्धिजीवी तथा समाजसेवी डा. विजयराज शर्मा र नवीन दत्त रहेका छन् । यसैगरी, कोलोराडोमा नेपाली तथा नेपालीभाषी समुदायबीच क्रियाशील डेढ दर्जनभन्दा बढी संघ-संस्था र नेपाली समाज टेक्सास कार्यक्रमका आयोजक रहेका छन् । सेक्टेम्बर १ तारिक शुक्रबार दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म कार्यक्रमको समुद्धाटन समारोह हुनेछ भने साँझ ७ बजेदेखि राति १० बजेसम्म डिजे निरोजको प्रस्तुति रहने आयोजकले जानकारी दिएका छन् ।

त्यसैगरी, सेक्टम्बर २ तारिक शनिबार बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म विभिन्न चारओटा फोरम सञ्चालन हुनेछन् । नेपाल र अमेरिकाको द्धौत्य सम्बन्धका बारेमा अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्रीको प्रस्तुति रहनेछ । त्यस्तै, सन् १९४४ देखि १९५२ को अवधिमा नेपाल र अमेरिकाको सम्बन्धको बारेमा पूर्वपिस्कोर भोलेन्टियर Dan Edwards को प्रस्तुति रहने छ । सोही दिन इमिग्रेसनसम्बन्धी फोरम खगेन्द्र जीसीले सञ्चालन गरेपछि एनआरएनए नागरिकता तथा दोहोरो ट्याक्ससम्बन्धी फोरम एनआरएन अमेरिकाका अध्यक्ष डा. अर्जुन बन्जाडेले सञ्चालन गर्ने कार्यक्रम रहेको मूल समितिका सदस्य डा. शर्माले जानकारी दिए । यसैगरी, त्यसै दिन साँझ ७ बजेदेखि राति १० बजेसम्म बहुचर्चित गायक राजु लामाको लाइभ कन्सर्ट हुने आयोजक कमिटीका सदस्य सुनन्दा डंगोलले जानकारी दिइन् ।

त्यसैगरी, नेपाल एम्बेसीले सेक्टेम्बर २ देखि ५ तारिकसम्म आयोजना गर्न लागेको कन्सुलर सेवा शिविरको तयारी अन्तिम चरणमा पुगेको एनआरएनए कोलोराडो च्याप्टरका निवर्तमान अध्यक्ष आरसी पन्तले बताए । राहदानीका लागि अगष्ट २६ भित्र तोकिएको ढाँचामा फाराम भरी आवश्यक कागजपत्रसहित भेरिफिकेसनका लागि राजदूतावासमा इमेल गर्नुपर्ने राजदूतावासले जनाएको छ ।

सेप्टेम्बर १ र २ मा दिन हुने शैक्षिक, सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रममा सहभागी हुन टिकटको व्यवस्था गरिएको टिकट केही नेपाली ग्रोसरी स्टोरहरूमा पनि बिक्रीका लागि राखिने बताइएको छ । एउटै टिकटले दुवै दिनको कार्यक्रममा सहभागी हुन पाइने आयोजक कमिटीले जनाएको छ ।

कार्यक्रमलाई भव्यताका साथ सफल पार्न आ-आफ्नो क्षेत्रबाट सक्दो सहयोग गरिदिनुहुन आयोजक कमिटीले सबैलाई अनुरोध गरेको छ । कार्यक्रममा सहभागी हुन सबैलाई पत्र पठाउन सम्भव नभएकाले यसैलाई आधार मानी उपस्थित भई कार्यक्रमको शोभा बढाइदिनसमेत मूल समितिका सदस्य नवीन दत्तले अनुरोध गरेका छन् ।

  • नातिबाबु भट्ट, कोलोराडो ।

प्रतिक्रिया