हिन्दु धर्ममा लेखिएअनुसार नाग(सर्प) लाई देवताको रुपमा पुजिन्छ, परापूर्व कालदेखि नै विभिन्न पूराण तथा धर्मग्रन्थ आदिमा नाग देवताको विशेष महत्व रहदै आएको पाइन्छ । भगवान शंकरजीको आभुषणहोस् वा भगवान विष्णुजीको शय्या होस्, विभिन्न स्थानमा नागको स्वरुप र आकारप्रकार सचित्र देख्न पाइन्छ ।
पौराणिक कथनअनुसार नागपञ्चमी पर्व कसरी सुरु भयो ? भन्ने सम्बन्धमा पनि विभिन्न धार्मिक ग्रन्थहरुमा लेखिएका कुराहरुलाई आधार मान्दा राजा परीक्षितका छोरा जनमेजयले गरेको सर्पसत्र यज्ञ रोक्नलाई तक्षक नागकै भानिज आस्तिक(जरत्कारु र मनसादेवी सुपुत्र)ले अनुरोध गरेपछि सर्पयज्ञ रोकियो र सम्पूर्ण नागहरुको उद्धार भएको दिन पनि श्रावण शुक्ल पञ्चमीको दिन भएकाले यो दिनदेखि नै नागपञ्चमी पर्व मनाउन थालिएको कुरा धेरै पुराणहरुमा उल्लेख भएको पाइन्छ । त्यस्तै
ब्रह्मबैवर्तपुराणको प्रथम भाग अध्याय ४५, श्लोक नं १४–१६ मा पनि भनिएको छ कि जरत्कारु, जगद्गौरी, मनसा, सिद्धयोगीनी, वैष्णवी, नागभगिनी, शैवी, नागेश्वरी, जरत्कारुप्रीया, आस्तीकमाता, विषहरी तथा महाज्ञानयुता ।
त्यस्तै भविष्योत्तर पुराणमा पनि शिव पार्वती संवादमा के भनिएको छ भने कुनै समयमा एक जना किसानको घरमा उसको दुइवटा छोरा र एउटी छोरी थिई । एक दिन त्यस किसानले खेतमा खनजोत गर्दा नागको तीनवटा बच्चा मरेकाले नाग देवता रिसाई किसानको घरमा गई किसानसहित उसको परिवारलाई नै डस्यो तर उसको छोरी छिमेकीको घरमा भएकोले बाँची र भोलिपल्ट किसानको छोरीलाई पनि डस्न भनी जाँदा किसानको छोरीले नाग देवताको पूजा गरी दूध चढाई, त्यो देखेपछि नाग देवता प्रसन्न भएर किसानसहित उसको परिवारलाई बचाइदिएकाले यसै दिनदेखि नाग पञ्चमी पर्व मनाउन थालिएको पाइन्छ । यसरी नागपञ्चमी पर्वको सुरुआत भएको पाइन्छ । यो पर्व हाम्रो हिन्दु संस्कृतिमा विशेष महत्वका साथ मनाउँदै आएको पाइन्छ ।
नागले हामीलाई जल प्रदान गरी सुभिक्ष सहकाल बनाइदिने हुनाले हामी नागलाई पूजनीय मान्दछौँ ।
आजकै दिन जब वसुदेवको कुलमा उत्पन्न भएका विष्णुका अंश श्रीकृष्ण स्वर्गारोहण हुनु भएथ्यो, त्यसै बेलादेखि कलियुगको आरम्भ भएको हुनाले आजको दिनलाई कलियुग आरम्भ भएको दिन मानिन्छ ।
साथै वज्रपातको भय निवारणको लागि अगस्त्य, पुलस्त्य, वैसम्यायन, सुमन्तु, जैमिनियो पाँच ऋषिमुनिलाई पनि आह्वान गर्छन् । नागचित्रमा यी पन्चऋषिका नामाङ्कित श्लोक पनि लेख्ने गर्छन् । जस्तै;
अगस्त्यश्र्वयुलस्त्यश्र्वैसम्यायनएवच ।
सुमन्तुर्जैमिनिश्चैवपन्चैतेवज्त्रवारका: ।।
उक्त पाँच ऋषि बज्रलाई रोक्न सक्ने क्षमता भएका हुनाले ती पाँच जनालाई बज्रवारक भन्दछन् । श्रावणशुक्ल पन्चमीको दिन घरको ढोकामा गोबरले शुद्धि गरी नाग चित्र टाँसी पूजा गर्यो भने नागदोष र गरुड भय नाश भई उनीहरूको सुदृष्टि पर्दछ भनेर गरुडतन्त्रमा बताएको छ । अग्निपुराण तथा क्रियासमुच्चयमा पनि नागपन्चमीको महत्त्व बताइको छ ।
नाग पन्चमीको दिन नेपाल, भारतलगायतका देशहरुमा गुरुद्वारा प्रत्येक यजमान (भक्त)को घरमा नागको तस्बिर लिई आउने परम्परालाई निरन्तरता दिनको लागि अमेरिकालगायतका देशहरुमा पनि गर्नाले हाम्रो धर्म तथा सॅस्कृतिको पनि पहिचान हॅुदै जाने र बच्चाहरुले सॅस्कृति सिक्ने दुबै फाईदा मिल्न सक्छ । प्राचिन परम्परा अनुसार नागको तस्बिर घरको ढोकामा टॅासेपछि घर पनि सुरक्षित हुने र आई पर्ने प्रकृति प्रकोपजन्य बिघ्नबाधा र भयबाट मुक्त हुन सकिने जनविश्वास नै नाग टास्नुको प्रमुख कारण हो ।
अमेरिकामा यस वर्षको नाग पञ्चमी पर्व यहीं अगस्टको २१ तारिख सोमवार पर्दछ,
स्कन्दपुराणमा नागपन्चमीको व्रत बस्ने विधान पनि बताएको छ ।
नागपञ्चमी पूजा र विधि:
प्रत्येक वर्ष आउने श्रावण शुक्लपञ्चमी तिथि नागपञ्चमी हो । यो दिन बिहानै उठी, स्नान गरी नागको चित्रमा वा मूर्तिमा पूजा गर्नाले नागको भय हुँदैन । गाईको गोबर अथवा गहुँको पिठोबाट निर्मित नागमा वा कागजमा बनाएको नागलाई दियो, कलश, गणेशको पूजा गरी दूध,दही,घ्यु, दुबो, कुश, फूल, सिन्दुर, चन्दन आदिले नागको पूजा गरी, धूप, दीप, नैवैद्य सहित प्रार्थना गरी घरमा वा घरको ढोकामा टाँस्नाले भूकम्प आदि दोषको साथै नागको तथा चट्याङको भय हुँदैन ।
-राजेन्द्र खनाल
प्रतिक्रिया