अनेसास डीसी मेट्रोले भानुजयन्ती मनायो

इनेप्लिज २०८० साउन ३० गते १:२१ मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज डीसी मेट्रो च्याप्टरको आयोजनामा २१० औं भानुजयन्ती कार्यक्रम सम्पन्न गरिएको छ । आइतवार ६ अगस्ट मा भएको उक्त कार्यक्रममा भानुभक्तको जीवनी र कृतित्वको परिचर्चा गरिनुको साथै सृजनावाचन कार्यक्रम गरिएको संस्थाका महासचिव नीलकण्ठ सुवेदीले जानकारी दिनुभयो ।

कार्यक्रममा बालबालिकालाई नेपाली भाषासाहित्यप्रति आकर्षित गर्न र दोस्रो पुस्तामा नेपाली भाषा पुस्तान्तरण गर्न सहज हुने हेतुले बालसृजनावाचनका लागि अमेरिका र अन्य मुलुकमा बसेर नेपाली भाषा र साहित्यमा रुचि राख्ने बालबालिकाहरूलाई स्थान दिइएको थियो । साथै वरिष्ठ साहित्यकार कृष्ण धरावासीले भानुभक्तले नेपालीनेपालीबीच गरेको भाषिक र सांस्कृतिक एकीकरणको विषयमा चर्चा गर्नुभयो ।

स्वागत मन्तव्य राख्नु भएकी संस्थाका उपाध्यक्ष सुनिता खत्रीले कार्यक्रमले भानुभक्तको सम्झना गराउनुको साथै भाषिक एवम् सांस्कृतिक रूपमा संपूर्ण नेपालीहरू एक हौं र एक रहिरहने छौं भन्ने भाव जगाउन सहयोग मिलेको दावी गर्नुभयो ।

सामाजिक एकत्व र सहभाव वर्तमानको टड्कारो आवश्यकता रहेकाले यस्ता सृजनात्मक व्यक्तित्वहरूको स्मरण र मूल्याङ्कनले समाजमा सहअस्तित्व कायम गर्न सहज हुने र बाल सहभागिताले नेपाली भाषाको पुस्तान्तरणमा खास अर्थ राख्ने भन्दै कार्यक्रमको अध्यक्षता गर्नुभएका संस्थाका उपाध्यक्ष कवीन्द्र सिटौलाले सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

कार्यक्रममा बोल्दै कवि तथा साहित्यकार जगन्नाथ पौडेले नेपाली साहित्यमा रुचि राख्ने अमेरिका, नेपाल र अन्य देशमा रहेका सृजनकर्मी, समाजसेवी र शैक्षिक व्यक्तित्वहरू मिलेर नेपाली भाषालाई विश्वस्तरमा चिनाउन अनेसासले नेतृत्व लिनुपर्ने र उत्कृष्ट कृतिहरू प्रकाशन गरी नोबल पुरस्कारसम्म पुर्याउनुपर्ने भन्दै भानुभक्तको सन्देशको कदर र उहाँले गरेको साँस्कृतिक र भाषिक एकीकरणको सम्झना गर्नुभयो ।

अनेसास डीसी च्याप्टर विश्वका सम्पूर्ण च्याप्टरहरूको केन्द्र र सबै भाषा साहित्य, कला, संस्कृतिप्रेमीहरूको अभिभावक रहेकाले जिम्मेवार भएर सृजनात्मक कार्यहरू सञ्चालन र सम्पादन गर्नुपर्ने कुरा प्रमुख अतिथिको रूपमा रहनुभएका अनेसासका संस्थापक होमनाथ सुवेदीको भनाइ थियो साथै अनेसासमा दोस्रो पुस्ता अत्यन्त सबल रूपमा उदाएको धारणा राख्दै आगामी भानुजयन्ती अनेसासले स्थापना गरेको भानुभक्तको सालिकमा माल्यार्पण गरी मनाउने वातावरणका काम गर्न सुझाव पनि दिनुभयो ।

बीओटी महासचिव प्रकाश नेपालले डीसी च्याप्टरले बालबालिकालाई भाषिक र साहित्यिक कार्यक्रममा सहभागी गराउन खेलेको भूमिका र साहित्यकार जगन्नाथ पौडेलले भानुभक्तमाथि राखेको टिप्पणीको खुलेर प्रशंसा गर्नुभयो । बीओटी सल्लाहकार पुरु सुवेदीले आगामी समय रोबोटले कविता र समीक्षासमेत लेख्ने आफ्नो पुरानो विचार अहिले आएर प्रमाणित भएको भन्दै रोबोट बिषयको कविता सुनाउनुभयो । साथै डीसी च्याप्टरका गतिविधि र कार्यक्रमहरूले खास अर्थ राख्ने धारणा व्यक्त गर्नुभयो । बीओटी सल्लाहकार रोहिणी शर्माले भानुभक्तको स्मरण गर्दै बालबालिकाहरूलाई प्रोत्साहन गर्न सुझाव दिनुभयो । एएनएका अध्यक्ष खगेन्द्र अधिकारीले डीसी च्याप्टरले सधैं गुणात्मक कार्यक्रमहरू गर्दैआएको भन्दै खुसी व्यक्त गर्नुभयो । कार्यक्रममा अनेसासका केन्द्रीय सदस्य शकुन ज्ञवाली, अनेसासका केन्द्रीय सदस्य सुदीपभद्र खनाल तथा साहित्यकार रामशरण हुमागाईं, प्रेम शर्मा पौडेल, पुष्पा खनाल , पुष्पा घिमिरे, शकुन्तला अधिकारी र बाल कवि सचिन चापागाईं र प्रसून पौडेलले कवितावाचन गर्नुभयो ।

भावी पुस्तामा पनि नेपाली भाषा, सँस्कृति र सृजना बचाइराख्न बाल सहभागितालाई प्रोत्सान गर्नुपर्ने भन्दै साहित्यकार जगन्नाथ पौडेलले बालकविहरूलाई पुरस्कारको व्यवस्था गर्ने वचन व्यक्त गर्नुभयो ।

-जगन्नाथ पौडेले

प्रतिक्रिया