साहित्यकार सुभाष घिमिरेको नयाँ उपन्यास ‘अनामिका’ बजारमा

सुरेश कोइराला अमेरिका २०८३ असार १९ गते १७:२६ मा प्रकाशित

साहित्यकार सुभाष घिमिरेको नयाँ सामाजिक-दार्शनिक उपन्यास ‘अनामिका’ बजारमा आएको छ। मानव जीवनका सूक्ष्म अनुभूति, अव्यक्त पीडा, नारी मनोविज्ञान, पारिवारिक सम्बन्ध, सामाजिक मूल्य-मान्यता तथा आत्मसम्मानको संघर्षलाई केन्द्रमा राखेर लेखिएको यस उपन्यासले समकालीन नेपाली समाजका विविध यथार्थलाई संवेदनशील र जीवन्त ढंगले प्रस्तुत गरेको छ।

उपन्यासकी मुख्य पात्र अनामिकाको जीवनयात्रामार्फत नेपाली समाजमा महिलाले भोग्नुपर्ने पीडा, सामाजिक बन्धन, पारिवारिक जिम्मेवारी, आत्मसम्मान र आत्मपहिचानको खोजलाई उपन्यासमा मार्मिक ढंगले चित्रण गरिएको छ। मानवीय सम्बन्धका जटिल आयाम र जीवनका दार्शनिक प्रश्नहरूलाई समेत उपन्यासमा समेटिएको छ।

सुन्दर स्वदेश पब्लिकेशनद्वारा प्रकाशित ‘अनामिका’ को सरल भाषा, सशक्त प्रस्तुति, जीवन्त संवाद र यथार्थपरक कथावस्तुका कारण यसले पाठकलाई सुरुदेखि अन्त्यसम्म बाँधेर राख्ने विश्वास प्रकाशकले व्यक्त गरेका छन्। समकालीन नेपाली समाजका विविध पक्षलाई समेटिएको यस कृतिले साहित्यप्रेमी पाठकमाझ विशेष रुचि र चर्चा बटुल्ने अपेक्षा गरिएको छ।

यसअघि विभिन्न विधाका कृतिमार्फत नेपाली साहित्यमा आफ्नो विशिष्ट पहिचान स्थापित गरिसकेका घिमिरेको यो नयाँ उपन्यास नेपाली आख्यान साहित्यमा अर्को महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। अनामिका देशभरका प्रमुख पुस्तक पसल तथा विभिन्न अनलाइन माध्यमबाट उपलब्ध रहेको प्रकाशकले जनाएका छन्।

प्रतिक्रिया