सिग्नोरा -२०२३

इनेप्लिज २०८० साउन ३ गते ०:२९ मा प्रकाशित


-डा . दामोदर पुडासैनी किशोर

मृत्यु हो या जमिन
छनौटको दौडमा छौ हामी
कसैलाई नाँगेझार पारेर
ठड्याइँदैछ कतै अहमको झण्डा

घरको दुर्गन्ध
मासु र हड्डी जलिरहेको दुर्गन्ध
बाली र बस्तुहरू कुहिएको दुर्गन्ध
जताततै क्रन्दनको कोलाहल
सबैतिर फैलिरहेछ
रसिया र युक्रेनको चेपबाट
ताइवान र सुडानको गल्छेडाहरूबाट

म सिग्नोरा
मार्चपास गर्न चाहन्छु
मान्छेमा , बस्तीमा र सपनाका बिगुलहरूमा

यो आकाशमा
मृत्युका नगराहरू नबजुन्
नछरियुन् हत्याका बिउहरू
आशाका टुशाहरू उम्रनुपर्छ धर्तिमा
म चाहन्न मृत्यु ब्युँझाएर सिमाना फर्याक पार्न

मुटु तोडिनु हुन्न
भाँचिनु हुन्न सँबन्धका पुलहरू
भत्किनुहुन्न चराका गुँडहरू

सपनाझैँ झिलिक्क सकिने ज़िन्दगी
आफैँलाई मात्र खर्चेर कहाँ पुग्छ
केही त छुट्याउनुपर्छ
अरूकोलागिपनि

सँसार
पीरो रागले छोपिँदैछ
म सिग्नोरा हुँ सँसार बदल्ने
उज्यालो र सुगन्धित

सिग्नोरा सल्बलाउँछ समयसँग

प्रतिक्रिया