नेपालले उचाल्यो एसीसी यू-१६ इस्ट जोन कपको उपाधि

इनेप्लिज २०८० असार १९ गते ६:४६ मा प्रकाशित

काठमाडौं, नेपालले एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको उपाधि जितेको छ।

मलेसियाको बायुमास मैदानमा मङ्गलबार भएको फाइनलमा नेपालले घरेलु टोलीलाई २२१ रनको विशाल अन्तरले हराउँदै उपाधि जितेको हो।

यो नेपालको लगातार तेस्रो उपाधि हो। २५३ रनको लक्ष्य पछ्याएको मलेसिया १४.५ ओभरमा मात्र ३१ रनमा अलआउट भयो ।

मलेसियालाई ध्वस्त बनाउन नेपालका अभिषेक तिवारीले ५ विकेट लिए । यस्तै सन्तोष यादवले ३ तथा अशोक थापा र सागर गैरेले १–१ विकेट लिए।

मलेसियाका लागि मुहम्मद अक्रमले सर्वाधिक १० रन बनाए । अन्य कुनै पनि ब्याटरले दोहोरो अंकको स्कोर गर्न सकेनन् ।

त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेट गुमाएर २ सय ५२ रन बनाएको थियो । नेपालका लागि नरेन भट्टले शतक बनाए । उनले नटआउट १ सय १२ रन बनाएका थिए ।

यस्तै निरजकुमार यादवले ४७, सन्तोष यादवले २६ र सूर्यांशु कोइरालाले १८ रनको योगदान गरे ।

समूह ए मा दुवै खेल जितेर विजेता बनेको नेपालले सेमिफाइनलमा सिंगापुरलाई ९७ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।

प्रतिक्रिया