केन्यामा ट्रकले अन्य सवारी साधन र पैदल यात्रुहरूमाथि ठोक्किदा ४८ जनाको मृत्यु

इनेप्लिज २०८० असार १६ गते ८:५१ मा प्रकाशित

एजेन्सी, पश्चिमी केन्याको व्यस्त सडकमा ट्रकले नियन्त्रण गुमाउँदा अन्य सवारी साधन र पैदल यात्रुहरूमाथि ठोक्किदा ४८ जनाको मृत्यु भएको छ ।

अल जजिराले उल्लेख गरेअनुसार अहिलेसम्म ४८ जनाको मृत्यु भएको र एक वा दुई जना अझै ट्रकमुनि फसेको आशंका गरिएको छ ।

केरिचो र नाकुरु शहरहरू बीचको राजमार्गमा शुक्रबार राति भएको सो दुर्घटना बारे स्थानीय प्रहरी कमाण्डर जेफ्री मायेकले बताएका छन् ।

दुर्घटनामा तीस जना गम्भीर घाइते भएका छन् । उनीहरूलाई विभिन्न अस्पतालमा लगिएको छ। यद्यपि पीडितको सङ्ख्या धेरै हुन सक्छ । तर, अहिले सम्म हामी ३० जनाको बारेमा निश्चित भएका छौं ।’

साथै क्षेत्रीय प्रहरी कमाण्डर टम ओडेराले मृत्यु हुनेको सङ्ख्या ४८ पुगेको पुष्टि गरेका छन् ।

‘केरिचो तर्फ गुडिरहेको एउटा ट्रकले नियन्त्रण गुमाएको र बस स्टपमा खचाखच भरिएका माटाटस स्थानीय मिनिबसहरूे मा ठोक्किएको र बस स्टपमा उभिरहेका यात्रुहरू र पैदल यात्रुहरूलाई घाईते बनाएको हामीले आशंका गरेका छौं,’ मायेकले भने ।

दुर्घटनाका प्रत्यक्षदर्शी रहेका चालक पिटर ओटिएनोले भने, ‘मैले तीव्र गतिमा आउँदै गरेको ट्रेलर देखेँ । इक्कासि ठोक्किएपछि म भागें ।मैले आफ्नै आँखाले करिब २० वटा शव देखेँ। गाडीमुनि अन्य शव पनि थिए ।’

भारी वर्षाका कारण उद्धार कार्यमा बाधा पुगेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया