४० करोड लगानीमा तिलोत्तमामा अन्तर्राष्ट्रिय क्रिकेट मैदानको शिलान्यास

इनेप्लिज २०८० जेठ ३० गते १:५३ मा प्रकाशित

काठमाडौं, रुपन्देहीमा एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको शिलान्यास भएको छ । नगरपालिका वडा नम्बर १७ दरखसवामा ४० करोड रुपैयाँको लागतमा निजि लगानीमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदानको शिलान्यास भएको हो ।

झन्डै दुई वर्ष अघि जग्गा खरिद प्रकृया सुरु गरिएको थियो । पौने ५ विघा जग्गा किनेर मैदान निर्माण प्रकृया अगाडि बढाइएको छ ।

जग्गा थप खरिदको प्रकृयामा रहेको छ । गएको दुई साता झन्डै ८ सय ट्रक माटो हालेर जग्गा सम्याउने कार्य सम्पन्न गरिएको छ ।

पहिलो वर्ष ५ हजार दर्शक क्षमताको रंगशाला बनाइने छ । प्रत्येक वर्ष ५ हजार दर्शक क्षमता थप्दै ४ वर्ष भित्र २५ हजार दर्शक क्षमताको क्रिकेट रंगशाला बनाइने छ ।

एक्स्ट्राटेक ओभल क्रिकेट मैदानलाई रंगशालाको स्वरुपमा निर्माण सम्पन्न गर्दा ४० करोड रुपैया लाग्ने अनुमान गरिएको छ ।

एक्स्ट्राटेक ओभल प्राली र यसका निर्देशक विनोद कुँवरले मैदान निर्माणको लागि अहिले नै रकम सुनिश्चित गरिएको बताए।

एक्स्ट्राटेक ओभल प्राली र यसका निर्देशक विनोद कुँवर र चिफ अपरेटिङ अफिसर सुदिक्षा गौतमसँग यस नवनिर्मित क्रिकेट रंगशालाको स्वामित्व रहेको छ ।

एक्स्ट्राटेक अस्ट्रेलियाको सिड्नीमा अवस्थित आइटी ट्रेनिङ इन्सिच्युट हो । पूर्व राष्ट्रिय क्रिकेट खेलाड़ी शक्ति गौचन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको ब्रान्ड एम्बासडर रहेका छन् ।

यो क्रिकेट रंगशला होस्टलसहितको एकेडेमी र ट्रेनिङ सेन्टर हुनेछ र शक्ति गौचनलाई यसको जिम्मेवारी दिइएको छ । रंगशाला कम्पाउन्डमा चार तलाको भवन बनाई १ सय जनालाई एकेडेमीमा राखेर प्रशिक्षण दिइने छ ।

यूएईमा लामो समय बसेर अवुधावीको शेख जायेद अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा क्युरेटरको जिम्मेवारी लिएका माधव पाठक एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको क्युरेटरको भुमिकामा हुनेछन् ।

प्रतिक्रिया