रवि लामिछाने शानदार भारी मतान्तरले विजयी, कांग्रेस र एमालेले पहिले प्राप्त गरेको मत समेत जोगाउन सकेनन्

इनेप्लिज २०८० वैशाख १२ गते १०:४५ मा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन-२ को उपनिर्वाचनमा भारी मतान्तरले बिजयी भएका छन् । लामिछाने ५४ हजार १ सय ७६ मतका विजय हासिल गर्दा उनका एक प्रतिस्पर्धीले २ मत पाएको निर्वाचन आयोगले जनाएको छ । उनलाई हराउन कुनै कसर नराख्ने कांग्रेस र एमालेले पहिले प्राप्त गरेको मत समेत जोगाउन सकेनन् ।

लामिछानेले करिब ६९ भन्दा बढी प्रतिशत मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठको ११ हजार २१४ मत ल्याएका छन् । त्यसैगरी नेकपा एमालेका रामप्रसाद न्यौपानेले १० हजार ९३६ मत ल्याएका छन् । यहाँ कुल ७८ हजार २७७ मत खसेको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले सुशासनको एजेन्डामा टेकेर समृद्धि ल्याउने बताएका छन् । दोस्रोपटक विजयी भएका लामिछानेले पत्रकारहरुलाई छोटो प्रतिक्रिया दिंदै जनताले खोजेको भष्ट्राचार नियन्त्रण र सुशासन भएकोले आफूहरुले मुख्य जोड त्यसैमा रहने बताए ।

आयोगले सार्वजनिक गरेको तथ्यांकअनुसार स्वतन्त्र उम्मेदवारी दिएका ताराप्रसाद बरालले जम्मा २ मत पाएका हुन् । यस्तै अन्य स्वतन्त्र उम्मेदवारहरु सन्तोष थापाले ३, रामकृष्ण ओझाले ९ तथा विक्रम श्रेष्ठले १३ मत पाएका छन् ।

चितवन २ मा कुल २२ जना उम्मेदवार चुनावी मैदानमा थिए । जसमा कांग्रेसका जीतनारायण श्रेष्ठ र एमालेका रामप्रसाद न्यौपानेबाहेक सबैको जमानत जफत भएको छ ।

लामिछानेले आफू चितवनका बालबालिकादेखि वृद्धसम्मको प्यारो नेता हुने मन रहेको बताएका छन् । ‘मलाई मात्रै होइन मेरो प्रतिस्पर्धीलाई भोट हाल्नेहरुलाई निर्धक्क हुन अनुरोध गर्दछु । म सबैको नेता हुन चाहन्छु । बेहिसाब चितवनको विकास निर्माणमा लाग्ने छु ।’

आफूले सबैभन्दा पहिले दुर्गम स्थानीय तहलाई प्राथमिकतामा राखेर काम गर्ने लामिछानेले बताए ।

गत मंसिर ४ मा भएको निर्वाचनमा ८४ हजार ३१५ मत खस्दा रवि लामिछाने ४९ हजार २९६ मत ल्याएर विजयी भएका थिए । पहिलेभन्दा खसेको मत कम भएपनि यसपटक लामिछानेले भने पहिलेभन्दा ४ हजार ९१२ मत वृद्धि गराउन सफल भएका छन् ।

प्रतिक्रिया