अमेरिकाको न्यूयोर्कमा लामो समय देखि बस्दै आएका सफल दम्पत्ति राम खत्री तथा गीता खत्रीको जोडीले श्री रामगीता बाङ्गमय मन्दिरको स्थापना गरेका छन् । उक्त जोडीले नेपाली समाजको रूपान्तरणका लागि सदैव सक्रिय रहेका साहित्यिक तथा सामाजिक अभियन्ताहरूलाई सम्मानित तथा पुरस्कृत गर्ने उद्देश्यले बैशाख १० गते ‘श्री रामगीता वाङ्मय मन्दिर’ को स्थापना भएको घोषणा गरेका छन ।
दम्पतिले एक छापा बिज्ञप्ति निकाल्दै बैशाख १० गतेका दिन बिबाह बन्धनमा बाँधिएको ३९ बर्ष भयो भनि उल्लेख गरेका छन् । साथै दम्पत्तिले आफ्नो योग्यता, बुद्धि, विवेक तथा पौरखले कति असल तथा राम्रा कामगर्न सक्यौं वा सकेनौं समयले बताउने नै छ । असल कामका लागि हामी निरन्तर प्रयत्नरत रहिरह्यौं भनि बिज्ञप्तिमा जनाएका छन् ।
साथै दम्पत्तिले यसैको निरन्तरता स्वरुप आज अर्थात् बैशाख १० गते देखि रामगीता बाङ्मय मन्दिर २०८० को स्थापनागरि नेपाली भाषासाहित्यमा समर्पित चारवटा दम्पतिहरुको सम्मानस्वरुप प्रत्येक दुई बर्षमा प्रदान गर्नेगरि ने.रु ५०।५० हजारको चारवटा पुरस्कारहरुको स्थापना गर्ने निर्णय गरेका छौं भनि बिज्ञप्तिमा उल्लेख गरेका छन् ।
साथै अक्षय कोषको व्याज आम्दानीबाट उक्त पुरस्कारहरुको रकम प्रदान गर्ने व्यवस्थासमेत मिलाईएको छ । यो पुनीत कार्यले हामी(गीता तथा राम )लाई गौरवान्वित र सन्तुष्टि दिलाएको छ भन्दै दम्पत्तिले सबैसँग सकारात्मक सल्लाह र सहयोग मागेका छन् ।
बिस्तृत जानकारी लिन छापा विज्ञप्तिको पूर्ण अंश जस्ताको त्यस्तै :
आफ्नो सफल वैवाहिक जीवनको ३९ औँ वार्षिकोत्सवको पावन अवसरमा हामी अमेरिकाको न्यूयोर्क निवासी राम खत्री र गीता खत्रीको जोडीले नेपाली समाजको रूपान्तरणका लागि सदैव सक्रिय रहेका साहित्यिक तथा सामाजिक अभियन्ताहरूलाई सम्मानित तथा पुरस्कृत गर्ने उद्देश्यले आजैका मितिमा यो ‘श्री रामगीता वाङ्मय मन्दिर’ को स्थापना भएको घोषणा गरेका छौँ । नेपाल र अमेरिकाको प्रचलित कानूनअनुसार दुवै देशमा यो संस्था दर्ता गरिनेछ र यस संस्थाले देहायको औचित्यको आधारमा स्थापना गरिएका तल उल्लिखित स्रष्टा दम्पतीका नाममा बनाइएका छुट्टाछुट्टै नियमावली र कार्यविधिअनुसार देहायबमोजिमका पुरस्कारहरू स्थापना गर्ने निर्णय गरेको व्यहोरा सगौरव घोषणा गरेका छौँ ।
(१) नेपालको पहिचान भन्नु नै यहाँको ‘विशिष्ट भूगोल’ हो र त्यो विशिष्ट भूगोल भनेको हाम्रा गौरवशाली हिमालहरू नै हुन् भन्दै विश्वकै निधिको रूपमा रहेको यो अतुलनीय सम्पतिका बारेमा नेपाली जनतालाई परिचित गराउन अहोरात्र खटिरहेका मूर्धन्य पर्वतीय नियात्राकार श्री प्रतीक ढकालज्यूलाई उहाँ जीवित छँदै उचित सम्मान गर्नु आवश्यक छ भन्ने आत्मबोध गरी उहाँकै दम्पतीका नाममा प्रत्येक जोर वर्षमा प्रदान गर्ने गरी अक्षयकोषसहितको नेपाली रु. ५०,०००.०० नगद राशिको “प्रतीक ढकाल–लक्ष्मी सर्वोत्तम कृति पुरस्कार” स्थापना गरेका छौँ ।
(२) रंगमञ्चमा मात्र सीमित रहेको नेपाली नाट्य परम्परालाई जनताको घर–आँगन र सार्वजनिक सडकसम्म पु¥याई नेपाली नाट्य विधाको संस्थागत विकासमा युगान्तकारी परिवर्तन ल्याउन उल्लेखनीय भूमिका खेल्न अहोरात्र खटिरहेका मूर्धन्य नेपाली नाट्यशिल्पी श्री अशेष मल्लज्यूलाई उहाँ जीवित छँदै उचित सम्मान गर्नु आवश्यक छ भन्ने आत्मबोधगरी उहाँकै दम्पतीको नाममा प्रत्येक जोर वर्षमा प्रदान गर्ने गरी अक्षयकोषसहितको ने.रु ५०,०००.०० नगद राशिको “अशेष–सावित्री मल्ल नाट्यकर्म पुरस्कार” स्थापना गरेका छौँ ।
(३) त्रिमुर्ति निकेतन र नइ प्रकाशनका माध्यमबाट नेपाली भाषासाहित्यका धरोहरको सम्मानगर्दै नेपाली साहित्यको संस्थागत विकासमा व्यक्तिगत प्रयासबाट नेपाली वाङ्मयको विकासमा उल्लेखनीय भूमिका खेल्न अहोरात्र खटिइरहनु भएका मूर्धन्य नेपाली वाङ्मय साधक श्री नरेन्द्रराज प्रसाई र श्री इन्दिरा प्रसाईज्यूलाई जीवित छंदै उचित सम्मान गर्नु आवश्यक छ भन्ने आत्मबोध गरी उहाँकै दम्पतीका नाममा प्रत्येक बिजोर वर्षमा दिइने ने.रु.५०,०००.०० नगद राशिको “नइ रामगीता अन्तर्राष्ट्रिय पुरस्कार” स्थापना गरेका छौ ।
(४) नेपाली समाजमा युगीन चेतना भर्दै जनताको स्वास्थ्य, शिक्षा, उद्यमशीलता, पर्यावरण, देशभक्ति, विज्ञान, प्रविधि आदिजस्ता क्षेत्रमा उदाहरणीय काम गर्दै सामाजिक जागरणको भूमिका खेलिरहेका अभियन्ताहरूको सुकर्मलाई पनि उहाँहरू जीवित छँदै उचित सम्मान गरिनुपर्छ भन्ने आत्मबोध गरी समाजसेवी श्री राम खत्री र साहित्यकार गीता खत्रीको दम्पतीका नाममा प्रत्येक बिजोर वर्षमा प्रदान गर्ने गरी अक्षयकोषसहितको ने.रु.५०,०००.०० नगद राशिको “राम–गीता विशिष्ट नागरिक पुरस्कार” स्थापना गरेका छौँ ।
राम खत्री गीता खत्री
संरक्षक अध्यक्ष
मितिः २०८० साल बैशाख महिनाको १० गते रोज १ शुभम् ।
प्रतिक्रिया