‘देहात तापेर आयुर्वेद’ भित्रका रचनाहरू

सञ्जय साह मित्र २०७९ चैत १३ गते २१:५३ मा प्रकाशित

सञ्जय साह मित्र

डा. शालिगूाम शर्मा आफैँमा एक युग हुन् । ८७ वर्षको उमेरमा कर्मशील व्यक्तित्व हुन् । डा. शर्मा अहिले झन् सक्रिय छन् । पहिले पनि साहित्य सिर्जना गर्ने तथा चिकित्सीय कर्ममा जुटिरहने डा. शर्मा अहिले पनि दुवै कर्मलाई एकसाथ अगाडि बढाइरहेका छन् ।

वि.स. १९९३ कात्तिक बडादसैँको दिन पिता रामनाथ शर्मा र माता रेवतीदेवी शर्माको कोखबाट लमजुङ जिल्लाको भोर्लेटारमा जन्मेका डा. शर्मा रौतहटको चन्द्रनिगाहपुरका स्थायी बासिन्दा हुन् । लामो समयदेखि बिरामीको उपचार गर्दै आएका साहित्यकार डा. शर्माले पिता र माताको नाममा राम–रेवती प्रतिष्ठान चन्द्रनिगाहपुर, रौतहट स्थापना गरेका छन् । यसै प्रतिष्ठानले साहित्यकार डा. शर्माको ‘देहात तापेर आयुर्वेद’ कृति प्रकाशन गरेको छ । यो कृतिको पहिलो संस्करण २०७८ मा दोस्रो संस्करण २०७९ असोजमा प्रकाशित छ । यो संस्मरण सङ्ग्रह हो र यसमा नियात्राहरू पनि समेटिएका छन् । अधिकांश शीर्षकले नै विषयवस्तु कस्तो छ भनेर अनुमान लगाउन सजिलो भएको छ । कृतिमा अन्तर्वार्ता, अनुभूतिको पोयो, उपेक्षाको एउटा पोयो, उल्लेख्य उपादान, ऊँ शेषायै नमः, करपात्रीजीको पाठशाला, कस्मिरी उडान, काशी, जर्नेलको थप्पड, जे भयो राम्रै भयो, धनुषाधाम परिक्रमा, प्रेम झा, परमतृप्तिका पाइलाहरू, पुना परिक्रमा, बलबादुरको कोर्रा, बहिर्गमन, बालापन, बाह्र वर्षपछि, बोक्सी, यात्रा बराहक्षेत्रको, राजगीर, वैद्याङ्गीको वीणा, सन्तुष्टिको रुमानी तरङ्ग, सम्झना भोपालको, सारनाथ, त्रासदी भुसाहा काण्डको, गजाधर सोतीको पाश्र्वछायामा र अन्तिम बिसाउनी गरी २८ रचना सङ्कलित छन् ।

शीर्षकहरू हेर्दा नै उमेरको यो पडावमा आएर जीवनयात्राको मूल्याङ्कन गरेको जस्तो देखिन्छ । यो एउटा पाटो हो तर सतासी वर्षको उमेरमा यसरी सम्झना गरेर लेख्नु चानचुने कुरो होइन । यसले दुई कुरालाई प्रत्यक्ष संकेत गर्दछ : पहिलो त स्मरणशक्ति बलियो छ जसले बाल्यकालदेखिका कुराहरुलाई सम्झेको छ । दोस्रो लेख्नलाई त्यो जाँगर छ जसले अभिव्यक्ति कलालाई पछ्याइरहेको छ ।

साहित्य अनुत्पादक क्षेत्र हो भन्ने कुरो धेरैले बताउने गरेका छन् । कतिपयले मुखले नबनाए पनि कर्ममा भने यसलाई त्यही भन्ने गरेका छन् तर डा. शर्माको सिर्जनाले जीवनका लागि अनेक शिक्षा र जानकारीहरु दिन्छन् जसले यस कृतिको अध्ययनमा लागेको समय सार्थक बनाएको हुन्छ । वास्तवमा सामान्य मानिसले कसैको कृति पढ्ने किन ? कृतिले धेरैलाई आकर्षित गर्न नसकिरहेको वर्तमानमा यस कृतिले एक वर्षमा दुई संस्करण निकाल्न पाउनुमा यो वास्तवमा सर्वसाधारणसित जोडिन सक्ने सामथ्र्य राखेको कारणले हो ।

माथि नै संकेत गरिएजस्तो यसमा दुई प्रकृतिका रचनाहरु छन् । बढी रचनाहरु छन् संस्मरण । संस्मरणहरु आफ्नै परिवेशका छन् । यस कृतिमा धेरै रचनाहरु चन्द्रनिगाहपुर र विश्रामपुरको सेरोफेरोमा रचिएका छन् । लमजुङबाट विश्रामपुर बसाईँ सर्दाको बाल्यकालको संस्मरण कुनै काल्पनिक कथाको भन्दा कमजस्तो लाग्दैन । विश्रामपुर मूल केन्द्र यसै कारण बन्न पुगेको छ यस कृतिको । आयुर्वेद विज्ञानमा स्नातक पढ्नलाई अन्तर्वार्ता दिँदाको अवस्थाबाट सुरु भएको यो कृतिमा बाल्यकालका सम्झना पनि छन् र आयुर्वेदमा स्नातक गरी घर फर्केपछि चिकित्सा सेवा सुरु गर्दादेखिका अनेक स्मृतिहरु पनि छन् । पढ्दै गर्दाका केही भ्रमणहरु, केही अनुभूतिहरु र केही सुन्दर यादहरु यस कृतिका गहना बनेका छन् । कृतिकार डा. शर्माले चिकित्सकीय पेसाबाट सन्तुष्ट हुनुपर्दाका विभिन्न अवस्थाहरु सम्झेका छन् । कसरी कठिन समयमा उपचार गर्दा अविश्वसनीय तरिकाले सेवा दिन पुगिएछ भन्ने कहालीलाग्दा स्मृतिहरु यसमा संकलन गरेका छन् ।

दोस्रो थरि रचना नियात्रा हुन् । नियात्रामा भ्रमण गर्दाका अनुभव र अनुभूति मात्र होइन जुन ठाउँमा भ्रमण गरिएको छ, उक्त ठाउँको बारेमा पर्याप्त जानकारीहरु प्रस्तुत गरिएका छन् । जुन जुन ठाउँको नियात्रा रहेका छन्, शीर्षकमै आएका छन् । यात्राको तारतम्य कसरी मिल्यो, यात्रामा कोको थिए, कसरी पुगियो, केके देखिए, कुन कुरा बुझियो, त्यस ठाउँसित सम्बन्धित तथ्यहरु केके छन्, कसरी विशिष्ट छ भन्ने कुरो नियात्रा पढ्दा जानकारी पाइन्छ । साँच्चिकै एउटा नियात्रा पढेपछि अर्को नियात्रा पढ्न उत्सुकता जाग्छ । नियात्राहरु रोचक मात्र होइनन्, जानकारीमूलक छन् । जिज्ञासामूलक छन् । उत्सुकता प्रदान गर्ने किसिमका छन् र जिज्ञासा तथा उत्सकुतालाई शान्त पार्ने किसिमका छन् । सही अर्थमा नियात्राहरु साँच्चिकै ज्ञानवद्र्धक छन् ।

यस कृतिको महत्व दुई किसिमले रहेको छ । पहिलो त यो साहित्यिक कृति हो । रौतहटमा साहित्यिक कृतिहरु कमै प्रकाशित हुन्छन् । केही साहित्यकारहरु छन् जो रौतहटको हूँ भनेर आफूलाई कतै देखाउन चाहँदैनन् । रौतहटको परिवेशलाई सम्भव भएसम्म नकारात्मक देखाउन चाहन्छन् तर यो कृतिमा रौतहटको धरतीसित अनन्त प्रेम देखाइएको छ । नेपाली साहित्यमा रौतहटसित सम्बन्धित भएर यत्तिका संस्मरण सायदै कुनै कृतिमा परेका होलान् । यो साहित्यिक कृति भएकोले यसले साहित्यिक पाठकलाई रौतहटको चिनारी दिनमा सफल छ । रौतहटलाई चिनाउँदा यसले कतै रौतहटमाथि अन्याय गरेको देखिँदैन ।

यसको अर्को मूल्य आयुर्वेदप्रति आकर्षण जगाउन सक्नुमा छ । गाउँघरमै रहेका वनस्पतिहरुमा अनेक औषधीय गुण छन् । उपचारपद्धतिमा कहिलेकाहीँ गाउँघरमा प्रचलनमा रहेका परम्परागत तरिकाले पनि अविश्वसनीय र अकल्पनीय काम गर्ने रहेछ । उपचार गर्दा कहिलेकाहीँ आफूमाथि विश्वास नहुँदा ईश्वरको भरोसा गर्नुपर्ने रहेछ । अकल्पनीय सफलता पाउँदा ईश्वरलाई धन्यवाद दिनु स्वाभाविक हो । विरामीको नजरमा कहिलेकाहीँ भगवान भइदिन्छन् चिकित्सक । कतिपयलाई सोझै मेरो र मेरो परिवारको लागि फलानाको हातमा जश छ भन्ने मनोविज्ञान हुन्छ र यस किसिमको मनोविज्ञानले काम गरेको पनि हुन्छ ।

‘देहात तापेर आयुर्वेद’ एउटा पठनीय कृति हो । यसलाई पढेर सबै उमेरका मानिसहरुले लाभ लिन सक्छन् । बढी प्रेरणादायी त ज्येष्ठ नागरिकलाई रहेको छ यो कृति । ८४ को उमेर कटेपछि वास्तवमा यस कृतिको लेखन गरिएको छ । जीवनको सार यसकारण यस कृतिले दिनेछ कि अन्य सबै क्षेत्रमा जे जति गरे पनि दुनियाँले सम्झिन्छन् कि सम्झिँदैनन् तर साहित्यिक कृति प्रकाशन गर्न सकेमा यसले चाहिँ दुनियाँमा सम्झिनयोग्य बनाइराख्छ भन्ने चाहिँ सत्य तुल्याउँछ । यस कृतिका कृतिकार डा. शर्माले आफ्ना मातापिताको नाममा संस्थाको स्थापना गरेका छन् र त्यसमा चार लाख रुपैयाँको अक्षयकोष स्थापना गरी साहित्यकारलाई सम्मान गर्ने सुरुआत पनि गरेका छन् । जीवनको उत्तराद्र्धमा आएर वास्तवमा भन्नुपर्दा वार्धक्यमा आएर अत्यन्त सक्रिय भएका साहित्य सिर्जनमा । यसको उदाहरण यो पनि छ कि डा. शर्माको ‘देहात तापेर आयुर्वेद’पछि अर्को संस्मरण पनि बजारमा आइसकेको छ ।

डा. शर्माको उज्ज्वल साहित्यिक जीवनको कामना गर्दै अझ स्तरीय साहित्यिक प्रकाशन होओस् भन्ने शुभाकांक्षा पनि व्यक्त गर्दछु ।

सञ्जय साह मित्र

पत्रकार/लेखक

प्रतिक्रिया