केसी डान्स सेन्टरको पाचौ बार्षिक दिवस सम्पन्न ,कलिवुड नाइट २०२३ अक्टोबरमा हुने

इनेप्लिज २०७९ चैत ४ गते २३:०१ मा प्रकाशित

अमेरिकाको डिसी महानगर क्षेत्रमा स्थापित केसी डान्स सेन्टरको पाचौ बार्षिक दिवस सफलतापूर्वक सम्पन्न भएको छ । साथै यस क्षेत्रमा विभिन्न कार्यक्रमहरु मध्ये कै सर्वाधिक चर्चित तथा लोकप्रिय कार्यक्रम कलिवुड नाइट २०२३ अक्टोबरमा हुने घोषणा गरिएको छ ।

समारोहमा केसी डान्स सेन्टरका संस्थापक द्वय नबिन केसी तथा लुना श्रेष्ठले कलिवुड नाइट २०२३ अक्टोबरमा ७ शनिबारका दिन हुने घोषणा गरे । साथै बिगत बर्ष झैँ यस बर्ष पनि ५:३० साँझ सुरु गर्ने भन्दै यस क्षेत्रका सबै नेपाली समुदायलाई अहिले देखि नै दिन र समय कलिवुड नाइटलाई छुट्याउन आग्रह गरिएको छ ।

कार्यकम संचालक परशु तिमल्सिना तथा नबिन केसीले उक्त समयको सेरोफेरोमा त्यस्ता प्रकारका कार्यक्रमहरु नल्याउन आग्रहको साथै उक्त समयमा कार्यक्रम नराख्न समेत अग्रिम रुपमा सबै संघ/संस्था तथा नेपाली समुदायलाई आह्वान गरेका छन् । साथै यस पटक अझ राम्रा प्रस्तुति लिएर आउने प्रतिबद्धताको साथै अहिले देखि नै यस कार्यक्रमको तयारीमा आयोजक जुट्ने बताईएको छ ।

केसी डान्स सेन्टरको पाचौ बार्षिक दिवसमा साहित्यकार कृष्ण धरावासी प्रमुख अतिथि रहेका थिए | साहित्यकार गोबिन्द गिरी प्रेरणा तथा साहित्यकार बसन्त श्रेष्ठले पनि सहभागिता जनाएका थिए ।

प्रमुख अतिथि कृष्ण धरावासीलाई पन्च कन्या पुष्प गुच्छाद्वारा स्वागत गरेका थिए ।

बार्षिक दिवसमा केसी डान्स सेन्टरमै नृत्य सिक्ने बिधार्थीहरु र दोश्रो पुस्ताका बालबालिकाहरुका दर्जनौ प्रस्तुतिहरु रहेका थिए । समारोहमा केसी डान्स सेन्टरलाई निस्वार्थ र निसर्त रुपमा सहयोग गर्ने दुई व्यक्तिहरु यमोन श्रेष्ठ तथा दिपक शर्मालाई सम्मान गरिएको थियो ।

प्रमुख अतिथि साहित्यकार कृष्ण धरावासीले सम्मान गरेका थिए । समारोहमा केसी डान्स सेन्टरको बारेमा अभिभावकको तर्फबाट एक जना र कलाकार/नायिका सारङ्गा श्रेष्ठले पनि बोलेकी थिइन् ।

प्रमुख अतिथि धरावासीले पानसमा बत्ति बालि कार्यक्रमको शुभारम्भ गरेका थिए भने प्रमुख अतिथिको तर्फबाट मन्तब्य समेत राखेका थिए । कार्यक्रमको प्रारम्भमा नेपाली राष्ट्रिय गान र अमेरिकी राष्ट्रिय गान केसी डान्स सेन्टरकै बिद्यार्थीहरुले आफ्नै मौलिक स्वरमा गाएका थिए ।

कार्यक्रम संचालन परशु तिमल्सिना तथा केसी डान्स सेन्टर कै बिधार्थीले सयुक्त रुपमा गरेका थिए ।

प्रतिक्रिया