सर्बज्ञसँग साहित्यिक कुरा : राम लामा अविनाशी सँगको अन्तरवार्ता : शृंखला -२

इनेप्लिज २०७९ फागुन २१ गते २:१२ मा प्रकाशित

अमेरिकाको क्यालिफोर्नियामा बसोबास गर्दै आएका अनेसास केन्द्रका वरिष्ठ उपाध्यक्ष तथा साहित्यकार सर्वज्ञ वाग्लेले साहित्यकार तथा पत्रकार राम लामा अविनाशीसँग गरेको साहित्यिक चर्चा :

सर्वज्ञ वाग्ले : आजकल तपाई अध्ययन र लेखनमा कत्तिको व्यस्त हुनुहुन्छ ?

राम लामा : आजभोलि अध्ययन भन्दा बढी लेखनमा ब्यस्त छु ।

सर्वज्ञ वाग्ले : तपाईंले साहित्य, जीवन र दर्शनलाई कसरी हेर्नुहुन्छ ?

राम लामा : साहित्यलाई जीवनले प्रभाव पार्छ भने जीवनलाई दर्शनले प्रभाव पार्छ । त्यसैले यी तिनै चिजको समिश्रण बाट निस्केको साहित्य उत्कृष्ट हुन्छ जस्तो लाग्छ मलाई ।

सर्वज्ञ वाग्ले : तपाई पत्रकारितामा पनि उत्तिकै सक्रिय हुनु हुन्छ । साहित्य र पत्रकारितालाई कसरि हेर्नु हुन्छ ?

राम लामा : पत्रकारिता समाजको दिनचैर्या नियालेर बनाइने रिपोर्ट हो भने साहित्य तिनै रिपोर्टहरुको मन्थन बाट निकालिने नौनी घिउ हो ।

सर्वज्ञ वाग्ले : तपाई व्यापार, साहित्य,पत्रकारिता र समाजसेवा उत्तिकै समय दिनु भएको छ । कसरि समय मिलाउनु हुन्छ ?

राम लामा : व्यापार आयआर्जनको लागि गरिने भएकोले पहिलो प्राथमिकतामा समय छुट्ट्याईन्छ, पत्रकारिता समाजका बिभिन्न गतिबिधिहरूमा आफू अपडेट भई समाजलाई अप्डेट गराउनु पर्ने काम भएकोले यिनै गतिबिधिहरूले पत्रकारलाई दौडाई रहेको हुन्छ भने यी दुबै बाट समय चोरेर साहित्यलाई निकालिन्छ । समाज सेवा भने यी तिनै कुराहरूको माध्यम बाट पनि गर्न सकिन्छ । जहाँ इच्छ्या त्यहाँ उपाय भने झै समयको कमी नै भएको भए पनि जसो तसो चलिनै रहेको छ ।

सर्वज्ञ वाग्ले : तपाईले रूचाउनु भएका कुन कुन साहित्यिक पुस्तक हुन ?

राम लामा : पुराना पुस्ताका कविहरूका पुस्तकहरू सबैका राम्रा लाग्छन् । नयाँँ पनि केही कविहरूका पुस्तकहरू बेजोड छन् । समयनुकुल आधुनिकता सँग घोलिएका छन् ।

सर्वज्ञ वाग्ले : तपाईलाई कुन ठाऊॅ मन पर्छ ? किन ?

राम लामा : समुन्द्रको छाल हेर्दै ड्राइभ गर्दै गए पछी हिन्दू मन्दिर आउछ । त्यहाँ भगवान अगाडि निहुरेर आफ्ना दुखेसो पोखेर मन हल्का हुन्छ । मन्दिरमा जल स्वाद गरी प्रसाद ग्रहण गरी उकालो लागिन्छ । त्यो डाँडोको टुप्पोमा बसेर तल हेर्दा पुरा शहरको द्रिश्याबलोकन गर्दै समुन्द्र सँग भलाकुसारी हुन्छ । कहिले कल्पनामा मात्र डुबिन्छ भने कहिले कविता पनि लेखिन्छ । त्यस्तो आनन्द म आफुले घुमेको अरू कुनै पनि ठाउँमा पाउन सकेको छैन । त्यसैले त्यो ठाउँ मलाई अमेरिकाको लस एन्जलसमा रहेको मलेवु डाँडाको टुप्पो असाध्यै मन पर्छ ।

सर्वज्ञ वाग्ले : खाली समय कसरी बिताउनु हुन्छ ?

राम लामा : आजकाल खाली समय भयो कि, प्राय पढ्ने , लेख्ने र गीत सुन्ने गर्छु ।

सर्वज्ञ वाग्ले : तपाईलाई गित र कविता कुन बढी मन पर्छ ? तपाईका गित पनि उत्तिकै सशक्त छन् नि आंफूले लेख्नु भएको कुन गित सबै भन्दा राम्रो लाग्छ ?

राम लामा : कविता भन्दा बढी गीत मन पर्छ । “आफु गयौ नेटो काटी” र “आफ्नो बन्न नसकेको” यी दुइटा गीतहरू बढी मन पर्छ ।

सर्वज्ञ वाग्ले : तपाईले अहिले सम्म कतिवटा पुस्तक लेख्नु भएको छ ? र अहिले के लेख्दै हुनु हुन्छ ?

राम लामा : दुइटा कविता सङ्ग्रहका पुस्तक बजारमा आइसकेका छन् भने कथा सङ्ग्रह, सँस्करण र लेखहरूको सङ्गालोका अलग अलग ३ वोटा पुस्तकहरू पुरा गर्दै छु ।

सर्वज्ञ वाग्ले : कस्तो साहित्यिक पुस्तक मन पराउनु हुन्छ ?
राम लामा : जीवन दर्शन मिस्सिएका साहित्य मन पर्छ ।

सर्वज्ञ वाग्ले : तपाईको मन पर्ने साहित्यकार को को हुनु हुन्छ ? र किन ?

राम लामा : कवि सिरोमणि लेखनाथ पौड्यालका कविताहरू ज्यादै मन पर्छ । किनभने जीवन र जगतलाई उजागर गरेका छन् उहाँका कविताहरूले । हुनत: पुराना पिढिका सबै कविहरूका कविता सन्देश मुलक हुन्छन् । यस अर्थमा प्राय सबै कविहरू मन पर्छ ।

सर्वज्ञ वाग्ले : अन्त्यमा मैले सोध्न बिर्सेको र स्वयं तपाईलाई भन्न मन लागेका कुनै कुराहरू छन् भने भन्न सक्नु हुन्छ ?

राम लामा : आजकल, नेपालीहरू परदेशीने लहरनै चलेको छ । मान्छे मात्र बिदेश पुगेँ भन्ने लाग्छ । तर केही समयमा नै थाहा हुन्छ कि मान्छे सँगै भाषा, साहित्य, कला, सँस्कार र सँस्क्रिती पनि सुटुक्क पुगेको कुरा थाहा हुन्छ । त्यसैलेहोला परदेशमा यी सबै कुराहरूको सम्बर्धन र प्रबर्धनमा कटिबद्ध रहेको पाईन्छ । अव त नेपाली पुस्तकहरूले पनि परदेशी धुलो र हावा स्पर्ष गर्नपाएका छन् । त्यस्ता पुस्तक बिदेशमा हामी नेपालीले मात्र पढेर आनन्द लिनमा मात्र सीमित न रहेर परदेशका स्थानिय पाठकहरूले पनि नेपाली साहित्यको रस लिने अवसर दिनु पर्ने बेला आइसकेकोछ । बिदेशीले किताब हेरेर मात्र आनन्द लिन कहाँँ सक्छन् र !यस्को लागि उनिहरूले बुझ्न सक्ने भाषामा उल्था गरी दिनु पर्ने हुन्छ । यसो गर्न सकियो भने हामी नेपाली मात्र बिदेशी हुने होइन हाम्रा साहित्यले पनि बिदेशी बन्न पाउँने छन् ।

प्रतिक्रिया