वरिष्ठ साहित्यकार गोपाल पाँडे “असीम”को ११२औं स्मृति दिवस सम्पन्न

इनेप्लिज २०८२ जेठ २८ गते ८:५१ मा प्रकाशित

वरिष्ठ साहित्यकार गोपाल पाँडे “असीम”को ११२औं स्मृति दिवस भव्यतापूर्वक सम्पन्न ८ जुन २०२५, केन्टकी, अमेरिका नेपाली भाषा, साहित्य र शिक्षामा अतुलनीय योगदान दिएका वरिष्ठ साहित्यकार, भाषाविद् र शिक्षाविद् गोपाल पाँडे “असीम”को ११२औं स्मृति दिवस अनलाइन कार्यक्रममार्फत श्रद्धापूर्वक सम्पन्न गरिएको छ। अमेरिकामा क्रियाशील साहित्यिक संस्था अनेसास केन्टकी च्याप्टरद्वारा आयोजित उक्त कार्यक्रम जुममार्फत आयोजना गरिएको थियो।

कार्यक्रमको सभापतित्व अनेसास केन्टकी च्याप्टरका अध्यक्ष बद्री दाहालले गरेका थिए भने सञ्चालन सचिव जीवन निरौलाले गरेका थिए। स्वागत मन्तव्य कोषाध्यक्ष जमुना पौड्यालले राखेकी थिइन्। कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति डा. गंगा उप्रेती रहेका थिए। प्रमुख अतिथिका साथै पूर्वराजदूत प्रा. डा. मोहन लोहनी, वरिष्ठ साहित्यकार प्रा. पिताम्बर दाहाल, अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदी, अनेसास बाल समितिका संयोजक सुरेन उप्रेती, गोपाल पाँडेका सुपुत्रीहरू प्रा. रमा शर्मा र इन्दिरा शर्मा, पूर्व अनेसास केन्द्रीय अध्यक्ष मोहन सिटौला, वर्तमान केन्द्रीय अध्यक्ष सर्वज्ञ वाग्ले, डा. बमबहादुर थापा ‘जिताली’, छन्दकवि रमेश खकुरेल, साहित्यकार प्रल्हाद पोखरेल, नेपाली शिक्षा परिषद्का सदस्य ज्ञाननिष्ठ ज्ञवाली, कवि प्रभा भट्टराई जस्ता विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा वक्ताहरूले गोपाल पाँडे “असीम”को व्यक्तित्व, कृतित्व, र नेपाली शिक्षा र साहित्यमा उहाँले पुर्‍याउनुभएको योगदानको चर्चा गर्दै उहाँप्रति श्रद्धाञ्जलि अर्पण गरे। यसरी आफ्नो विचार व्यक्त गर्नुहुने वक्ताहरूमा होमनाथ सुवेदी, सुरेन उप्रेती, डमरु पौडेल, पिताम्बर दाहाल, मोहन लोहनी, सर्वज्ञ वाग्ले, इन्दिरा शर्मा, ज्ञाननिष्ठ ज्ञवाली, मोहन सिटौला, रमा शर्मा, गङ्गा उप्रेती र बद्री दाहाल रहेका थिए। कार्यक्रममा साहित्यकार प्रल्हाद पोखरेलले गोपाल पाँडे “असीम”प्रति समर्पित रचना वाचन गरेका थिए, जसले उपस्थित सबैलाई भावुक बनायो। अनेसास केन्टकी च्याप्टरले यस कार्यक्रममार्फत गोपाल पाँडे “असीम”को योगदानलाई सम्झनुका साथै भावी पुस्तालाई प्रेरणा दिने प्रयत्न गरेको बताइएको छ।

प्रतिक्रिया