लन्डन (जीएनएन) – बेलायतको लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानूनका प्राध्यापक डा सूर्य प्रसाद सुवेदीले कसैलाई पनि निषेध र प्रतिशोधको भावना नराखी राष्ट्र निर्माणमा योगदान दिन चाहने सबैलाई समेटेर मुलुकको सर्वांगीण प्रगतिको लागि काम गर्न आग्रह गरेका छन्।
राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा लन्डनबाट एक विज्ञप्ति जारी गर्दै प्रा सुवेदीले भने, ‘लोकतन्त्रको मर्म भनेको कुनै पनि राष्ट्रिय शक्तिले कसैलाई पनि निषेध र प्रतिशोधको भावना नराखी राष्ट्र निर्माणमा योगदान दिन चाहने सबैलाई समेटेर मुलुकको सर्वांगीण प्रगतिको लागि काम गर्नु हो। लोकतन्त्रको आत्मा भनेको देश र जनताका लागि सबै राष्ट्रिय शक्तिहरुबीचको संवाद, समन्वय र सहकार्य हो। राजनीतिक संस्कारमा देखिएको आदर्श, सिद्धान्त, दर्शन, निष्ठा प्रतिको विचलनलाई रोक्ने प्रण गर्न आजको दिनले सबैलाई प्रेरणा प्रदान गरोस्,’ उनले भने।
‘प्रजातन्त्र दिवस सबै राष्ट्रप्रेमी राष्ट्रिय शक्तिहरूले एकजुट भै लोकतन्त्रको मर्म बमोजिम राष्ट्रलाई संवृद्ध पार्न र लोकतन्त्रलाई राष्ट्रका सबै तहमा संस्थागत र सुदृढीकरणका लागि प्रतिज्ञा गर्नु पर्ने दिन हो,’ प्रा सुवेदीले भने।
नेपालमा जनमत संग्रह ल्याउने प्रजातान्त्रिक आन्दोलनमा नेतृत्व गर्दा जेलसमेत भोगेको, दोस्रो जन-आन्दोलनलाई अन्तरराष्ट्रिय स्तरमा बौद्धिक र नैतिक समर्थन जुटाउन अग्रणी भूमिका निर्बाह गरेको, देशभित्र वा बाहिर जता रहेपनि र सरकारमा जो आएपनि परि आउँदा राष्ट्रहितका लागि अन्तर्राष्ट्रिय र राष्ट्रिय कानूनका महत्वपूर्ण विषयमा सबैका साझा व्यक्तिको रूपमा नेपालका सबै प्रकारका सरकारलाई सल्लाह दिंदै आएको व्यक्तिको नाताले लोकतन्त्रलाई राष्ट्रका सबै तहमा संस्थागत र सुदृढीकरण गर्ने, राष्ट्रको स्वतन्त्रता र सार्बभौमिकता रक्षा गर्ने र राष्ट्रको छवि संसारमा उच्च राख्ने अभियानमा राष्ट्रलाई जुनसुकै सहयोग गर्न आफु तयार रहेको पनि प्रा सुवेदीले बताएका छन्।
प्रतिक्रिया