महाकवि अरुणसित मेरो सम्बन्ध

सञ्जय साह मित्र २०७९ माघ २१ गते २:२५ मा प्रकाशित

सञ्जय साह मित्र

अचानक छाती भारी भएर आउँछ । अप्ठ्यारो लाग्दै आयो । विद्यालयमा सरस्वती पूजा भइरहेको छ । बनारस पुगेर सरस्वती प्रतिमा ल्याउन गएको टोलीमा म पनि थिएँ । हामी शिक्षककै रगत र पसिनाको आर्जनबाट प्रतिमा ल्याइएको छ । त्यसै पनि सरस्वतीको पूजा र आफू सिर्जनासित रमाउने मानिस । केही साथी तथा शिष्यलाई आज कम्तीमा कुनै एउटा नयाँ सिर्जना होओस् आजको दिन हो भनेर भनिसकेको छु ।

असह्यजस्तो हुन थालेपछि महम्मदपुरमा रहेको प्राविका एकजना हेड सरको मोटरसाइकलमा बसेर विद्यालयबाट निस्कन्छु । घरमा पत्नी रेणु गुप्ता विश्राम गरिरहेकी छन् । भान्छामा गएर आफैँले पानी तताएर खान्छु । हलकोठामा ओछ्यानमा पल्टिन्छु । छटपटी कम भएको छैन, टेलिभिजनमा समाचार हेर्ने प्रयास गर्छु । अलिक मन बहलिएको जस्तो हुन्छ क्यारे ।

आफूलाई अलमल गराउने एउटा साधन मोबाइल पनि हो । डा. यशवन्त कुमारले ३ मिनेटअघि आफ्नो फेसबुक वालमा पोस्ट गरेका छन् – नहीं रहे बज्जिका के महाकवि मेरे पिताजी डा. अवधेश्वर अरुण ।

जतिखेर मेरो छातीभित्र पीडा भइरहेको थियो, सम्भवतः महाकवि अरुण महाप्रस्थान गर्दै हुनुहुन्थ्यो । उहाँको महाप्रयाण प्रस्थानप्रति मेरो छातीले पीडा दर्शाइरहेको थियो ।

बज्जिका भाषाको सेवामा लागेपछि भारतको दरभंगामा एउटा कार्यक्रममा निम्त्याइएको थिएँ । निकै उत्साहपूर्वक सहभागी भएको थिएँ र त्यस कार्यक्रममा सबैभन्दा बढी प्रभावित भएको थिएँ डा. अवधेश्वर अरुणबाट । यो कार्यक्रमको तिथिमिति अहिले सम्झना भएन तर कम्तीमा डेढ दशकपहिले भने अवश्य हो ।
पछि डा. अरुणले बज्जिका भाषामा रामायण लेखेको थाहा पाएँ । साहित्यकार सञ्जय सुदामाले रामायण देखाएका थिए ।

बज्जिका यात्रा निकाल्ने काम गरें । नेतृत्व मेरो थियो, सबैभन्दा समय, श्रम, मानसिकता र अर्थ मेरै लाग्ने यात्रा थियो । यही यात्राका क्रममा डा. अवधेश्वर अरुणको घरमा पुगेर एक ठाउँमा बसेर साक्षात्कार गर्ने सुअवसर प्राप्त गरेको थिएँ ।

सन् १९३८ को असोज शुक्ल महानवमी तिथिका दिन बिहान ८–९ बजेको बिचमा जन्मनु भएका अवधेश्वर अरुणको जन्म वर्तमान वैशाली जिल्लाको बिठौली भन्ने गाउँमा भएको थियो । पिता यन्त्री प्रसाद सिंह र माता धनेश्वरी देवीका द्वितीय पुत्रको रुपमा जन्मनु भएका अवधेश्वर अरुणको परिवारको आर्थिक स्थिति अत्यन्त सामान्य थियो । सानामा आफ्नै गाउँमा प्राथमिक शिक्षा हासिल गनु भएका अरुणले विज्ञान विषय लिई प्रथम श्रेणीमा म्याट्रिक पास गनु भएको थियो । मुजफ्फरपुरमा आइए पढ्न हरेक दिन घरबाट रेल चढेर पुग्ने अरुणको आइएस्सी पढ्ने सपना आर्थिक अभावका कारण हुन सकेको थिएन । आइए पास भएपछि बिए र एमए पनि पूरा गर्नु भयो । गाउँका उहाँ प्रथम एमए बन्न पुग्नु भयो । सन् १९६२ मा अरुणले एमए पूरा गर्नु भएको थियो ।

सन् १९६६ मा पिएचडि र सन् १९७१ म डिलिट उपाधि हासिल गर्नु भएका अरुण आइए पढ्दादेखि नै साहित्यमा अभिरुचि लिन थाल्नु भएको थियो । प्राध्यापनसँगै प्रशासन र अन्य क्षेत्रमा सक्रिय डा. अरुणको बारेमा जति जति जान्दै गएँ उति उति उहाँको उचाईँ झन् झन् बढिरहेको पाएँ ।

डा. अरुणसित मलाई चिनजान गराउँदा नै साहित्यकार सुदामाले भनेका थिए – नेपालमा बज्जिका भाषा र साहित्यको जे जति प्रगति भइरहेको छ, सबैको मूल कारण मित्र नै हुन् ।

सुदामा पहिले नै डा. अरुणको घर पुगिसकेका थिए र यसपटक पनि यात्रामा सहभागी थिए ।

सुदामाको उक्तिपछि डा. अरुणले निकै नै स्नेहपूर्ण दृष्टिले मलाई हेर्नु भएको थियो । हेराइमा स्नेह थियो र मलाई लागिरहेको थियो कि भगवान गौतम बुद्धले आफ्नो आशीर्वादमूलक दृष्टिप्रकाशले मलाई प्रकाशित गरिरहनु भएको छ ।

मलाई दाहिनेतिर आफ्नो छेउमा राख्नु भयो । अनि भाषा र साहित्यका बारेमा थप धेरै गफ कुराकानी निकै सौहार्द्रपूर्ण वातावरणमा भयो । उहाँले हामी सबैलाई एक एक प्रति रामायण उपहार दिनुभयो । मैले थप चार प्रति रामायण किने । यो बज्जिका रामायण थियो ।

यसपछि पनि तिनपटक उहाँसित भेट गर्न उहाँको घर मुजफ्फरपुरस्थित आमगोलाको पडावपोखर लेन ३ मा भेट्न पुगेको छु । एकचोटि पुग्दा किशुनदयाल यादवलाई किशुनदयाल यादव श्रीकृष्ण र अर्कोचोटि पुग्दा उहाँले नै किशुनदयाल श्रीकृष्ण बनाउनु भएको हो । मेरो नामलाई उहाँले बडो हृदयले स्वीकार गर्नु भएको हो । मलाई सञ्जय साह मित्रभन्दा बढी उहाँले मित्र सम्बोधन गर्नुहुन्थ्यो । उहाँको मित्रको सम्बोधनमा मलाई अप्ठ्यारो वा गर्वानुभूति के हुन्थ्यो म बुझ्न असमर्थ हुन्थें ।

अन्तिम दर्शन १४ अक्टुबर २०२२ मा भएको हो । उहाँको मस्तिष्कको आकाशमा विस्मृतिको बादलले अलिक बाक्लो उपस्थिति जमाइसकेको थियो । यसपटक शरीर निकै जीर्ण भइसकेको पाएको थिएँ । हरेक वर्ष उहाँको जन्म दिवसको अवसर पारेर १४ अक्टुबरका दिन बज्जिका दिवस मनाउन थालिएको छ र यसपटक उहाँको उपस्थितिमा उहाँको जीवनकालको अन्तिम बज्जिका दिवस मनाउने काम भयो । संयोग नै भन्नुपर्छ उहाँको अन्तिम जन्म दिवसको समयमा नेपालबाट पनि उल्लेख्य सहभागिता रह्यो । नेपालमा बज्जिकाका विशिष्ट अभियन्ता शिवचन्द्र साह, स्वनामधन्य विन्दा साहनी, बज्जिका सम्राट उपाधिले विभूषित किशुनदयाल श्रीकृष्ण, अत्यन्त विचारवान कवि मनमोहन सिंह मनोहर तथा बज्जिका सेवी जियालाल राय यादव सहभागी थियौँ । रौतहट र सर्लाहीका साहित्यकारहरुको उपस्थितिमा मलाई सोही दिन महाकवि अवधेश्वर अरुण सम्मान २०२२ ले सम्मानित गरिएको थियो । यस सम्मानबाट नेपालमा सम्मानित हुने म पहिलो व्यक्ति हुन पुगें भने मेरो जीवनको पनि पहिलो अन्तर्राष्ट्रिय सम्मान बन्न पुगेको थियो ।

डा. अरुणको अगाडि उभिएर मैले भाषण गर्ने अवसर दोस्रोपटक पाएको थिएँ यस कार्यक्रममा । पहिलो भाषण तत दरभंगामा नै गरेको थिएँ जसबाट उहाँ निकै प्रभावित हुनु भएको थियो र दोस्रो भाषण चाहिँ उहाँको उपस्थितिको सम्भवतः अन्तिम औपचारिक कार्यक्रममा उहाँकै घरमा सम्मानित हुँदाको भाषण हो । पहिलो भाषणमा उत्साहित थिएँ र दोस्रो भाषणमा भावुक थिर्एँ । जसको अनुहार मेरो नाम सुनेरै प्रफुल्लित हुन्थ्यो उहीँ महाकविले मलाई पहिले चिन्न सक्नु भएन । जसले रामको वाणी बोले, उहाँले आफ्नै वाणीलाई राम्ररी प्रकट गरिरहनु भएको थिएन वा सकिरहनु भएको थिएन । जसले अनेक ग्रन्थ लेख्नुभयो, अनेक सम्पादन गर्नुभयो उहाँको हातले कलम समातिरहेको थिएन, लेख्न सकिरहेको थिएन । चिन्न त चिन्नुभयो तर आँखा र अनुहारले । वाणीले अब के बोल्दै हुनुहुन्छ भन्ने कुरो ठम्याउन उहाँकै घरका कोही व्यक्तिले मात्र बुझ्न सक्ने अवस्थामा पुग्नु भएको थियो ।

उहाँले स्नेहले मेरो ढाडमा धाप दिन खोज्नुभयो, मैले सोही हातलाई आफ्नो शिरमा आशीर्वादका लागि पनि ल्याउने प्रयास गरें । यही आशीर्वाद उहाँको अन्तिम रह्यो मेरो लागि ।

मेरो प्रयास हुन्थ्यो कि म हरेक वर्ष दशैँको महानवमी वा विजयादशमीको दिन फोन गरुँ । धेरै वर्ष मैले फोनमा पनि सम्वाद गरेको छु विशेष गरेर उहाँको जन्मदिवसकै अवसरपारेर ।

उहाँले बज्जिका साहित्य र भाषामा दिनुभएको योगदानको कसैसित तुलना गर्न नै सकिँदैन । ममाथि पनि उहाँको ठूलो प्रभाव छ । मेरो हृदयमा उहाँप्रति ठूलो सम्मान छ ।

उहाँको महाप्रस्थानले यस्तो लागिरहेको छ म अहिले रित्तो भएको छु र बज्जिका साहित्यको आकाशमा भयावह रिक्तताको बादलले साम्राज्य जमाएको छ । उहाँको अभाव कसैले पूरा गर्न सक्दैनन् ।

सञ्जय साह मित्र

पत्रकार/लेखक

प्रतिक्रिया