चित्रलेखा छन्दकाे अभ्यास गर्दै “छन्दमा टुक्का अभ्यास श्रृङ्खला ४८” सम्पन्न !

इनेप्लिज २०७९ माघ २० गते २०:२६ मा प्रकाशित

काठमाडौँ,
टुक्का साहित्य समाजकाे आयाेजनामा २०७९ माघ १४ गते “छन्दमा टुक्का अभ्यास श्रृङ्खला-४८” सम्पन्न भएकाे छ। ” छन्दमा टुक्का अभ्यासशाला ” मा सञ्चालन भएकाे उक्त कार्यक्रममा छन्द प्रशिक्षकद्वय अनिल खग्रास र रामशरण न्याैपानेले प्रशिक्षण गर्नु भएकाे थियाे । अभ्यासमा विश्वका विभिन्न देशहरूबाट १४ नेपालीभाषी सर्जकहरूकाे सहभागिता रहेकाे थियाे । कार्यक्रमकाे सहजीकरण टुक्का साहित्य समाजका अध्यक्ष तथा परिकल्पनाकार ताराप्रसाद चापागाईँले गर्नु भएकाे थियाे ।

विभिन्न छन्दहरू सिकाउँदै छन्दमा टुक्का कविता लेखनकाे विकासगरि नेपाली भाषा साहित्यमा विशेष याेगदान पुर्याउने उद्धेश्यका साथ छन्दमा टुक्का कविता लेखन अभ्यास श्रृङ्खला सञ्चालन भइरहेकाे छ । यस श्रृङ्खलाका सहभागीहरूले वार्णिक छन्द अन्तर्गत चित्रलेखा छन्दमा अभ्यास गर्दै टुक्का कविताहरू सिर्जना गरेका थिए।

कार्यक्रमकाे समापन गर्दै अध्यक्ष चापागाईं तथा प्रशिक्षकद्वय खग्रास र न्याैपानेले प्रयाेगवादी नव काव्यिक उपविधा टुक्का कवितामा छन्दकाे प्रयाेग गर्दै केही मात्रामा भए पनि छन्दमा काव्य सिर्जना गर्न प्रेरित गर्दै नेपाली भाषा साहित्यकाे जगेर्ना गर्ने प्रयास गरिएकाे जानकारी गराउदै उत्साहपूर्वक सहभागी भई चित्रलेखा छन्दमा सुन्दर टुक्का कविताहरू सिर्जना गर्नुभएका सहभागी सबै टुक्काकारहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्नु भएकाे थियाे ।

चित्रलेखा छन्द
गणः- म भ न य य य,
सूत्र:- SSS SII  III    ISS   ISS   ISS
(४ र ११ अक्षरमा विश्राम)

अभ्यासका क्रममा सङ्कलन भएका केही टुक्का कविताहरू

[१]
हाँसो कस्तो सुरम्य छ उनको छक्क पर्दै नियाल्छु,
भन्दै प्यारी तनमन सहजै मैन जस्तै पगाल्छु।
•अनिल खग्रास
[२]
१.
विद्या जस्तो, अचुक धन कुनै, छैन भन्ने बुझेर
गाएँ मैले, भजन अति मिठो, शारदाको पुजेर।
२.
वाग्देवी हौ, सकल भुवनको, गर्नसक्ने भलाई
देऊ माता, प्रमुदित मनले, ज्ञान-गङ्गा मलाई।
•रामशरण न्यौपाने
भक्तपुर
[३]
आफ्ना मान्छे, वरपर किन पो, राख्नु पर्थ्यो र हेर,
सानो गल्ती, पनि उदय भयो, खास फन्दा बनेर ।
•वसन्त अनुभव
घोराही, दाङ
[४]
कस्तो होला, सरल समय यो, खासमा बाघ आयो,
हेर्दा हेर्दै, धन र मनसँगै, आखिरी ज्यान खायो ।
•आर्त अकुलीन
कैलाली
[५]
एक्लाे मेराे विफल समयकाे, के गराैँ खै कहानी
पीडा पाेख्दै नयन पनि यसै, रित्तियाे छैन पानी ।
•ताराप्रसाद चापागाईँ
धुनिबेसी
[६]
आसाको दीप वरपर खसेको नदेखी रमायौ
आफैँमा पीर बहुत खनिदा आँसुधारा जमायौ।
•अम्विका अधिकारी
झापा विर्तामोड
[७]
१.
बोल्दा मीठो,सकल मनुजमा,वाक्य माला लगाऊ,
हाँसीहाँसी,मन मनबिचमा, प्रेम चाला जगाऊ।
२.
बाटो हिड्दा,सरल सडकमा,होसले राख पाउ,
साथी सङ्गी,प्रियजन सबमा,साथ माया बसाऊ।
•होम प्रसाद नेउपाने
धरान,सुनसरी ।
[८]
टाठाबाठा सरल सहजता पाउने नीति माला ,
देखाईमा अनवरत कथा धारिलो छैन ताला ।
•जमुना आचार्य
सिन्धुपाल्चोक
[९]
आमालाई निडर मन दिई दु:खमा त्यो नलेऊ
बाबालाई पनि अवसरको साथमा हात देऊ ।
•प्रेम थापा “मन”
बागलुङ
[१०]
१.
थुन्दै जाऊ रवि पवनहरू,हातले नै थुनेर
सक्दैनन् ती,कलुषित मनले,भावनामा बुनेर ।
२.
लाेभी पापी जनमन नबढी पाप बढ्दै नजाने
किर्ना फालाैं सदन सडकका देश चुस्ने र खाने ।
•इन्दिरा प्रयास
सानाेठिमी,भक्तपुर
[११]
उस्ले जैले सकल मनुजमा तुच्छ ठान्दा मलाई
लाग्दा आगो हृदय कुहरमा पोल्छ छाती जलाइ।
•बाबुराम गौतम
गुल्मी
[१२]
आमानै हौ, सकल भुवनको , गर्न सक्ने भलाई,
देऊ आशिष्, सहित अब मुमा , ज्ञान बिद्या मलाई।
•बेदु न्यौपाने
काठमाडौ
[१३]
कुर्सी लोभी, जनमत सब त्यो, कुल्चिए अन्नदाता,
बेवास्तामा, अघि बढिरहॅंदा, आरिसे छे विमाता।
•म्यामराज राई
भोजपुर ।
[१४]
हाम्रा कैयौं रहर कहरमा, बन्धकी राख्नु पर्दा
हामी सार्‍है निरस हुन पुग्यौं, कर्मले झेल गर्दा ।
•डम्बर थामी ‘अनुपम’
कालिन्चोक गा.पा.-६, दोलखा ।

प्रतिक्रिया