बज्जिका महाकवि प्रा.डा. अवधेश्वर अरुणको ८२ वर्षको उमेरमा देहावसान

इनेप्लिज २०७९ माघ १२ गते २३:०१ मा प्रकाशित

रौतहट

बज्जिका भाषाका महाकवि प्रा. डा. अवधेश्वर अरुणको मृत्यु भएको छ । डा. अरुणको निवास बिहारको मुजफ्फरपुरमा विहीवार मृत्यु भएको हो ।

बिहारको वैशाली जिल्लामा जन्मनु भएका अरुणले डि.लिट् उपाधि हासिल गर्नु भएको थियो । बिहार विश्वविद्यालयमा लामो समय प्राध्यापक तथा विभागाध्यक्षको भूमिकामा रहनुभएका डा. अरुण मुजफ्फरपुरको आमगोलास्थित पडावपोखरको लेन ३ मा स्थायी निवासी बन्नु भएको थियो । केही समयदेखि वार्धक्य जीवन व्यतीत गर्दै निवासमा नै रहनुभएका डा. अरुण अंग्रेजी, हिन्दी र बज्जिका भाषाका प्रकाण्ड विद्वान हुनुहुन्थ्यो । डा. अरुणको बंगाली, संस्कृत, भोजपुरी, नेपाली, अंगिका, मैथिली तथा मगही भाषाहरुमाथि पनि पकड रहेको थियो ।

गाउँ गाउँ गएर मातृभाषा बज्जिकाबारे जनचेतना फैलाएका डा. अरुणको हिन्दी र बज्जिका भाषामा दर्जनौँ कृति प्रकाशित छन् । डा. अरुणले बज्जिका भाषामा लेख्नुभएको रामायण निकै चर्चित रहेको छ । प्रगतिशील चेतनाका धनी डा. अरुणका सिर्जना, अनुसन्धान तथा समालोचना गरी सबै विधामा रचना प्रकाशित छन् । विषयवस्तुमाथि धाराप्रवाह बोल्न सक्ने सामथ्र्यवान डा. अरुणलाई सम्पूर्ण बज्जिका भाषासेवी तथा साहित्यकारले उच्च सम्मानको दृष्टिले हेर्दथे ।

८२ वर्षअघि असोज महिनाको दशैँको महानवमीका दिन आँखा उघार्नु भएका डा. अरुणले वसन्त पञ्चमीका दिन आँखा चिम्लनु भएको छ ।

डा. अरुणको जन्म दिवसको अवसर पारेर हरेक वर्ष १४ अक्टुबरको दिन मुजफ्फरपुरमा तथागत सांस्कृतिक फाउन्डेसन र अरुणादित्य ट्रस्टले संयुक्त रुपमा महाकवि अवधेश्वर अरुण सम्मान कार्यक्रमको आयोजन गर्दै आएको छ । महाकवि अरुणको जन्म दिवसलाई भारतमा बज्जिका दिवसको रुपमा पनि मनाउन थालिएको छ । बज्जिका दिवस र महाकवि अरुणको जन्म दिनमा गत १४ अक्टुबर २०२२ का दिन नेपालका बज्जिका साहित्यकार सञ्जय साह मित्र तथा भारतका साहित्यकारद्वय डा. विद्या चौधरी र अखौरी चन्द्रशेखरलाई महाकवि अवधेश्वर अरुण सम्मानले सम्मानित गरिएको थियो । डा. अरुणको जीवनको अन्तिम औपचारिक कार्यक्रम त्यही भएको साहित्यकारहरुले जानकारी गराएका छन् ।

नेपाल आउने रहर पूरा हुन नसकेको भए पनि महाकवि अरुणले नेपाली साहित्यकारलाई भेट्नासाथ उच्च सम्मान प्रकट गर्ने गर्नुहुन्थ्यो । नेपाली भाषा र संस्कृतिको साथै नेपालको बज्जिका भाषाको बारेमा पनि डा. अरुण जानकार हुनुहुन्थ्यो ।

डा. अरुणको निधनले नेपाल तथा भारतका बज्जिका भाषासेवी तथा साहित्यकारहरुले शोक तथा समवेदना प्रकट गरिरहेका छन् ।

प्रतिक्रिया