थाहै हुँदैन

-कोमल अधिकारी,टिकापुर,कैलाली। २०७९ पुष २७ गते १०:२९ मा प्रकाशित

प्लेनभित्र बस्दा,
झ्यालतिर नहेरेसम्म,
उडेको हो कि ल्याण्डेड,
थाहै हुँदैन!
दरबारभित्र बस्दा,
दुधभात खान नपाउने पनि कोहि
होलान् र? भन्ने लाग्छ,पत्तै हुँदैन।

विदेशीको डिनर पार्टीमा हुने
प्रजेन्टेसन हेरेर पुष्ट्याइँ मात्रै बुझ्नेहरूले
नेपालीले के चाहन्छन्, थाहै हुँदैन!!

आफैँ सत्ता/सरकारमा रमाई रहँदा,
अत्याधिक समर्थन वा गठबन्धन
वा, अझै भनौँ महा-गठबन्धन
के हो पत्तै हुँदैन,
अग्रगमन वा प्रतिगमन के मा पर्‍यो
थाहै हुँदैन!!!

थाहा हुन्छ त केवल,
प्लेन वा गाडीमा बसी झ्यालतिर हेर्नेलाई;
दरबार छोडेर झुपडी-झुपडीमा पुग्नेलाई;
प्रस्तुतिलाई नेपालीपन अनुरूप बुझ्नेलाई;
मकै पोली जीविकोपार्जन गर्नेहरूलाई;
तुईनबाट खसेको छोरोको आमालाई;
थप रकम तिरी मल किनेर पनि,
समर्थन मूल्य नपाउने किसानलाई;
सीमामा बस्ने खुट्टासँगै मन चीरा पर्नेलाई;
दैनिक बिदेश हान्निने १४०० युवालाई;
दैनिक ३ शब सम्हाल्ने आफन्तलाई।

र, अन्तमा;
यसरी भाव ब्यक्त गर्नेहरू;
यस्तैमा रमाउनेहरूका लागि,
आँखाको कसिङ्गर बनेको
थाहै हुँदैन!!थाहै हुँदैन!!!!

-कोमल अधिकारी,टिकापुर,कैलाली

प्रतिक्रिया