स्रग्विणी छन्दकाे अभ्यास गर्दै “छन्दमा टुक्का अभ्यास श्रृङ्खला ४४” सम्पन्न!

इनेप्लिज २०७९ पुष २१ गते २२:२६ मा प्रकाशित

काठमाडौँ,

टुक्का साहित्य समाजकाे आयाेजनामा २०७९ पाैष १६ गते “छन्दमा टुक्का अभ्यास श्रृङ्खला-४४” सम्पन्न भएकाे छ। छन्द प्रशिक्षकद्वय अनिल खग्रास र रामशरण न्याैपानेले प्रशिक्षण गर्नु भएकाे उक्त अभ्यासमा विश्वका विभिन्न देशहरूबाट १९ नेपालीभाषी सर्जकहरूकाे सहभागिता रहेकाे थियाे । कार्यक्रमकाे सहजीकरण टुक्का साहित्य समाजका अध्यक्ष तथा परिकल्पनाकार ताराप्रसाद चापागाईँले गर्नु भएकाे थियाे ।

विभिन्न छन्दहरू सिकाउँदै छन्दमा टुक्का कविता लेखनकाे विकासगरि नेपाली भाषा साहित्यमा विशेष याेगदान पुर्याउने उद्धेश्यका साथ छन्दमा टुक्का लेखन अभ्यास श्रृङ्खला सञ्चालन भइरहेकाे छ । यस श्रृङ्खलाका सहभागीहरूले वार्णिक छन्द अन्तर्गत स्रग्विणी छन्दमा पुन:अभ्यास गर्दै टुक्का कविताहरू सिर्जना गरेका थिए।

कार्यक्रमकाे समापन गर्दै अध्यक्ष चापागाईं तथा प्रशिक्षकद्वय खग्रास र न्याैपानेले प्रयाेगवादी नव काव्यिक उपविधा टुक्का कवितामा छन्दकाे प्रयाेग गर्दै केही मात्रामा भए पनि छन्दमा काव्य सिर्जना गर्न प्रेरित गर्दै नेपाली भाषा साहित्यकाे जगेर्ना गर्ने प्रयास गरिएकाे जानकारी गराउदै उत्साहपूर्वक सहभागी भई स्रग्विणी छन्दमा सुन्दर टुक्का कविताहरू सिर्जना गर्नुभएका सहभागी सबै टुक्काकारहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्नु भएकाे थियाे ।

अभ्यासका क्रममा सङ्कलन भएका केही टुक्का कविताहरू

[१]
प्यार पोख्दै अहो! पासमा आउँदा,
हुन्छु बेहोसझैँ नेत्र झिम्काउदा।
• अनिल खग्रास
[२]
१.
बन्धकीमा परे, लौन मेरा खुसी
गाउँ छोडी तिमी, मार्दछ्यौ बुर्कुसी।
२.
आममाफीतिरै, लाग्छ नेता जहाँ
देशमा न्यायको बास होला कहाँ?
•रामशरण न्यौपाने
भक्तपुर
[३]
दृष्टिकाे बाणले घाइते नै भएँ
माेहनी रूपमा डुब्नलाई गएँ ।
•ताराप्रसाद चापागाईँँ
धुनिबेसी
[४]
खेल्नु खेल्यो हरे जिन्दगीले हँसी,
टक्क आई उसै माझमा नै बसी ।
•वसन्त अनुभव
घोराही, दाङ
[५]
१.
दुष्ट कै आँटको चाहना देखियो,
भ्रष्ट कै छाँटको लालसा लेखियो।
२.
आमनेसामने लालचा भेटिने,
बाँझिए योजना कामनै मेटिने।
•अच्युत घिमिरे
भुटानबाट🇧🇹
[६]
१.
साथमा छैन त्यो, रातमा के गनौं
बातले आज नै, व्यस्तमा के भनौं ?
२.
योजना छैन त्यो,के दिऊँ हातमा
चाहना के थियो, छैन लौ साथमा ।
•प्रेम थापा “मन”
बागलुङ
[७]
जिन्दगी भन्नु नै के छ है आखिर
बाँच्न कै लागि नै खुल्दछन् जागिर ।
•इन्दिरा प्रयास
सानाेठिमी, भक्तपुर
[८]

पारिलो घामले उर्वरा भ्याउने,
मौसमी पारले जाँगरै ल्याउने ।

साबिकै मौनले तौलने खापमा,
भर्सिलो देखियो पातलो दापमा ।
•जमुना आचार्य
सिन्धुपाल्चोक
[९]
१.
माकुरो जालमा त्यो गयो कालमा,
वेदना हुन्छ के सोच्नु है हालमा।
२.
पादरी जोडले नाँचने देशमा,
वन्दना के गरूँ साधुको भेषमा।
•होम प्रसाद नेउपाने
धरान,सुनसरी ।
[१०]
खेल खेल्नेहरूले त सुक्खै सहे,
सानले जो बसे ती त सुत्तै बहे।
•पवन कुमार बुढाथेाकी
काठमाडौं
[११]
खोज्दछन् पिण्ड झैं वंशका खातिर
देश शेषै बन्यो छाड्दिने आखिर ।
•धनश्याम बराल
[१२]
१.
दुःखमा हाँसने पाखुरा भाँचने,
देशका टाकुरा मासदै नाँचने ।
२.
नामका दामका कामका छन् जुनै,
बोलदा नम्रता देखिने झन् उनै !
•बिबस पारदर्शी
भक्तपुर-७
[१३]
चल्छ हावा चिसो शीतको याममा
पर्छ गाह्रो दुखी माझ हो काममा।
•शाेभा आचार्य गाैतम
काठमाडाैँ
[१४]
१.
साथमा बस्दछन् कर्मका साधना,
हातले छेक्दछन् दर्दको सामना ।
२.
चेतना भर्दछन् बालिका हालमा,
प्रेमले सिक्दछन् खेलकै तालमा ।
•भगवती दवाडी
झापा
[१५]
१.
साथ तिम्रो हुने सोचमा आइयो
सम्झनाको मिठो गीत यो गाइयो
२.
यो चिसो मौसमी याम भो हारको
सम्झना झाँङ्गियो व्यर्थमा पारको।
•अम्विका अधिकारी
झापा विर्तामोड
[१६]
१.
कामले नामले, सम्झना आउने,
कर्मले धर्मले, धाममा धाउने।
२.
छन्दले बन्दले, त्रासको शासना,
कीर्तिमा साहसी, चल्नगो वासना।
•बेदु न्यौपाने
काठमाडौ
[१७]
बोलिछ्यौ प्याकुली बैशको मातमा
ढुक्ढुकी सम्झिएँ पार्दियौ घातमा ।
•बाबुराम गौतम
गुल्मी
[१८]
गर्नुहोला सबैले सही काममा,
व्यर्थ लाग्नै नगर्ने कुनै नाममा।
• रामप्रसाद पुरी बादेल
खाेटाङ।
[१९]
घामको राप लौ शैलमा देखियो,
वेदना पोखियो गीत पो लेखियो ।
•डम्बर थामी ‘अनुपम’
कालिन्चोक गा.पा.-६, दोलखा ।

::::: जय टुक्का! जय साहित्य!! :::::

प्रतिक्रिया