पुस्तक समिक्षा:-मेरा स्मृतिका तरेलीहरु

सुशील निरौला २०७९ पुष २० गते ३:१२ मा प्रकाशित

पुस्तक समिक्षा:
मेरा स्मृतिका तरेलीहरु
लेखक: खग प्रसाद नेपाल
प्रकाशक: धरा-हरिश, धृति-सुशील तथा धारणा-सुधुम्न
पृष्ट: ४१५ ( कभर पृष्ट समेत)
मुल्य: छैन
संस्करण: पहिलो २०७८ चैत्र

नियात्राकार प्रतिक ढकालले यो पुस्तकको भूमिका लेखाईमा सार्वजनिक जिवनमा रहेका हरेक व्यक्तिले पुस्तक मार्फत आफ्ना सार्वजनिक जीवनका अनुभवहरु ईमान्दारीताका साथ आउँदो पुस्ताको लागी बताउन पर्छ भन्दै यस पुस्तकका लेखकको लेखकिय कला र ईमान्दारीतालाई जुन रुपमा पस्केका छन् त्यसले पुस्तक पडन उत्साहित गराउँछ ।

मेरो रहर भन्दै लेखक यो पुस्तक किन र कसरी लेखिन पुग्यो भन्ने कुरालाई बढो सरल शब्दमा बयान गर्दै पाठकलाई पुस्तक पढन आतुर गराउन सफल भएका छन् ।

मुलत: यो पुस्तक लेखकको आफ्नै आत्मवृतान्त हो भन्ने कुरा पुस्तकको नाम वाटै प्रस्ट हुन्छ ।तर पनि लेखकले थोरै भए पनि अरु विषयलाई पनि समेटने प्रयास गरेका छन् ।

बाल्यकालमा जीवन बुझ्न सुरु गर्दै गर्दाका संझना भए सम्मका घटनाहरु देखि धेरै उतार चढावहरु पार गरेर आज सेवानिवृत्त भएर घरमा बसीरहंदाका आरोह अवरोहहरु समेतलाई समेटेको यो पुस्तक रुपी पुलिन्दा पढिरहदाँ यस्ले बोकेको समायावधी र बिषयको विविधता यति धेरै छ की, पुस्तक पढिसक्दा अव लेखक, उस्को जीवन र परिवेश बुझ्न केही बाँकी छ जस्तो लाग्दैन ।

यो पुस्तक पढिसकेपछि एक पाठकको नाताले कुनै दिन लेखकसंग भेट भयो भने लेखकलाई उहाँको जीवनको वारेमा सोधिरहने कुनै बिषय बाँकी रहने छैन भन्ने मेरो बुझाई छ ।

यस पुस्तकमा रहेका ७१ वटा लेख रचनाहरुलाई ७ वटा खण्डमा प्रस्तुत गरिएको छ । प्रप्तेक खण्डले भिन्न बिषयलाई प्रस्तुत गरेको छ ।

खण्ड- क मा लेखक २१ वटा लेखरचना मार्फत आफ्नो बालापन, स्कुल र जागिरे जीवनका अनुभुतिहरुलाई व्यक्त गर्छन् ।’आमा’ लेखमा आमाले देखाएको माया र बालकले आमामा देखेको अपार शक्ति र विध्वत्वताको धमिलो संझनाको संस्मरण हो भने ‘विछोडको संझना’ एक छोराले आफ्नो बाबुमा देखेको बहुप्रतिभाको संस्मरण र बाबु प्रतिको समर्पणको भावनालाई शब्दमा उतार्ने ईमान्दार प्रयास हो ।‘मेरो हराएका चार महत्वपुर्ण चिठीहरु’ को स्मरणले लेखकको जीवनको विभिन्न मोडमा सही निर्णय लिन प्रेरणा गरेको देखिन्छ । ‘मेरा आर्दश व्यक्तिहरु’ मा ती व्यक्तिहरुको स्मरण गरिएको छ जस्ले लेखकको जीवनको गन्तव्य देखाईदिएका छन् ,सहयोग गरेका छन् अनी लेखकलाई प्रभावित गरेका छन ।’राष्ट्रीयताका कुरा’ मा नेपाली राम्रोसंग बोल्न र लेख्न समेत नजान्ने तराईका एक नेपाली जनप्रतिनिधीले देखाएको नेपाली राष्ट्रीयतालाई सटिक ढंगले प्रस्तुत गरेका छन् ।‘लगतकट्टा’ लेखले जग्गामा रहेको भ्रष्टाचारको जालोको उल्लेख गर्दै नचाहादा नचाहदै पनि कसरी भ्रष्टचारमा आफु पनि संलग्न हुन पुगिन्छ भन्ने कुरा ईमान्दारीताका साथ भन्न हिच्चकिचाएका छैनन् ।

खण्ड-ख मा १४ वटा लेख मार्फत लेखक आफ्नो विदेश भ्रमणको बाध्यता, मोह र अवसरलाई कसरी सम्पन्न गरियो भन्ने कुरालाई सिलसिलेवार ढंगले प्रस्तुत गरेका छन् । ‘देवदुत नै भएर आए प्रोफेसर’ मा नेपाल कै एक ठाउँवाट अर्को ठाउँमा जान भारतीय रेलको निर्भरता बिच भाउजुसंग घर जादाँ भोग्नु परेको डर र सन्त्रास बिच एक अनजानको सहयोगले दिएको ढाडसको सचित्र बर्णन गरेका छन् । सरकारी आथित्यमा भ्रमण गर्दा राजदुवासको सहयोगको प्रशंसा गर्न चुकेका छैन भने चिन र अमेरिका जस्ता देश डुल्दा भ्रमणका प्रकृया र देखेको भोगेको विदेश रिठ्ठो नबिराई बयान गरेका छन ।अमेरिका भ्रमणको क्रममा Black Friday( बर्ष कै सबै भन्दा सस्तोमा सामान किन्न पाईने दिन )मा रातभरी लाईनमा बस्नु पर्दा अगाडी चिनिया र पछाडी भारतीय मुलका मानिस विच आफु बस्नु परेको संयोगलाई नेपालको भौगोलिक अवस्थिति संग तुलना गरेको प्रशंग बढो रोचक छ ।विदेशी भुमीमा आफुलाई लिन आएको व्यक्ति दौरासुरुवाल र टोपीमा देख्दा अनुभुत गरेको प्रसन्नता व्यक्त गरेका छन् भने एयरर्पोटमा सामान आउने Luggage Belt लाई ‘घुम्नेपेटी’ भनी लेखकले दिएको नेपाली नाम पढदा रमाईलो लाग्यो ।’भगवानले हात थापिदिए ‘ लेखमा छोरीले बस पल्टिन्छ म जान्न भनेर जान नमानेको बस यात्रामा आफु र श्रीमती सहित नेपालमा परेको दुर्घटनाको बर्णन पडदा मैले मेरो आसुँ रोक्न सकिन भने अमेरिकामा कार दुर्घटनामा परेकी छोरी भेटन जादाँ सानामा त्यस्तो भविष्यवाणी गर्ने तिमी कसरी आफै दुर्घटनामा पर्यो भन्ने बाबुको प्रश्नमा छोरीको मुस्कान प्रसंगले आँसु रोकिएको थियो ।

खण्ड-ग मा १० वटा लेख मार्फत विविध सन्दर्भको उल्लेख गरिएको छ ।’ऐना’ लेखमा बाल्यकाल देखि आजको दिन सम्ममा आफुमा आएको परिवर्तनलाई संस्मरण गरेका छन् । ‘कठिन काम’ मा आफुले गर्नु पर्ने हरेक काम कठिन देख्छन् तर सजिला काम चैं के के हुन त भन्ने कुरा उल्लेख गर्न चैं बिर्सिएका छन् लेखकले । ‘आधा दाम र डायरी’ मा विश्वको जुनसुकै कुनामा बसेका भएपनि आजको प्रविधीले जुराईदिएको पारिवारिक निकटता र निकटता बिचको ठट्टा रमाईलो पस्केका छन् लेखकले ।

खण्ड-घ मा भावनात्मक सम्बन्धमा बाँधिएका ८ वटा घटनाहरुको उल्लेख गरिएको छ ।‘समाचारमा नआएका मृत्युहरु’ भनेर आफ्ना सर्धषकालमा डेरामा बस्ता वनेका मित्रहरुको मृत्युवरणलाई शब्दमा उतारेर समवेदना प्रकट गरेका छन् ’अविस्मरणीय चित्रहरु’ मा परिवार भित्रका आफुलाई प्रभावित गरेका तस्विरहरुको बर्णन गरिएको छ ।’बिचरा म ‘ मा खान नहुने र हुने चिजमा रहेको चाहाना र वितृष्णाको अन्तरव्दन्दमा लेखक फसेका छन् । ‘ संक्रमित हुदाँ ‘ मा कोरोनाको महामारीमा संक्रमित हुदाँको अवस्थालाई बाल्यकालमा घरका महिला सदस्यहरु परसर्दाको अवस्थासंग तुलना गरेर हिजोको सामाजिक व्यवस्थाको अंध्यारो पक्षलाई देखाएका छन् ।

खण्ड-ङ मा विभिन्न कालखण्डमा लेखिएका ५ वटा फुटकर कविताहरु किन र कसरी लेखियो भन्ने कारण सहित प्रस्तुत गरिएको छ । कविताहरुले स्थान बिषेशको चरित्र चित्रण र प्रश्न सोध्ने कार्य गरेको छ ।

खण्ड-च मा लेखकले आफै माथी लेखिएका ८ वटा कथाहरु समेटिएको छ ।’त्यो ऊ ‘र ‘फेरी त्यो ऊ’ कथाहरुले एक सेवानिवृत्त मानिसको दैनिकी कसरी बित्छ भन्ने कुरा शब्दचित्र मार्फत बताउने प्रयास गरेको छ ।

’कति ढाँटनु ‘, ‘ऊ, उर्वशी र चुक्कुल’, ‘परालको आगो’ जस्ता कथाहरु पति पत्नि बिचको दैनिकी हुन जहाँ कुरा बनाउनु, ढाँटनु, झर्किनु, रिसाउनु, फकाउनु र फेरी फेरी त्यही दोहर्याई रहनु सामान्य कुरा हुन भन्ने जनाउ दिएको छ ।‘नलेखिएको कथा ‘ मा काठमाण्डौमा डेरा गरी बस्ने एक सरकारी जागिरेको दैनिकी उस्का आफन्तले देखे जस्तो सम्पन्नता र सुख सुविधाले भरिपुर्ण भएको हुदैन भन्ने देखाउन खोजेको छ ।

खण्ड-छ मा संस्मरण र पुस्तक समिक्षा गरिएको छ । एक कर्मशील व्यक्ति माघे, ईलामका मनोज कुमार अघिकारीको प्रेरणादायी संस्मरण छ। खगेन्द्रनाथ शर्माको ‘ अकविताका कवी’, प्रतिक ढकालको ‘त्यो उज्यालो कर्णाली’, विजय अधिकारीको ‘शम्भु ‘उपन्यास र होमनाथ शर्माको ‘ स्वदेशमै भेटौला’ उपन्यासको संक्षिप्त समिक्षा सहित त्यसका लेखकहरुको जीवनको वारेमा समेत संक्षिप्त चर्चा गरिएको छ ।

यसरी हेर्दा प्रस्तुत पुस्तक ‘ मेरा स्मृतिका तरेलीहरु’ ले लेखकको व्यक्तिगत जीवनको उतार चढावलाई मात्र देखाएको छैन । यस्ले तत्कालिन नेपाली समाजको समाज व्यवस्था, सरकारी कामकाजका तौर तरिका, एउटा सामान्य जनता देखी एउटा सरकारी जागिरेको अवस्था र बाध्यता पनि देखाएको छ ।यो पुस्तक कुनै एक सरकारी जागिरेको आत्मकथा भए पनि धेरैको आत्मकथासंग सामिप्यता राख्छ भन्ने मेरो बुझाई छ ।
त्यसैले यो पुस्तक धेरै भन्दा धेरै पाठकको हातमा पुग्नु पर्छ भन्ने मेरो धारणा छ । तर अफशोस यो पुस्तकका लेखक र प्रकाशकसंग पहुँच हुनेले मात्र यो पुस्तक पडन पाउने छन्। किनकी यो पुस्तक पसलमा पाईदैन । किनकी यस पुस्तकको मुल्य छैन । आशा छ यस पुस्तकको दोश्रो संस्करण प्रकाशित हुदाँ यस्मा मुल्य राखेर पुस्तक पसल सम्म पुगोस् । अनी यसका लेखक र प्रकाशकलाई नचिनेका पाठकले पनि अध्ययन गर्ने अवसर पाउन ।

-सुशील निरौला

January 2, 2023
Plainview, NY

प्रतिक्रिया