तपाईहरूले पनि भुटेको मकै खानुभएको होला । कुमालेले मेहनतसँग बनाएको माटाको हाँडीमा भुटेको मकैको स्वादै वेग्लै । हुन त किटको कराइमा पनि बालुवा राखेर मकै भुटेको खाएको छ । त्यसरी खाँदा मुखमा बालुवा पनि आएर कहिलेकँही नमज्ज अनुभूति स्मरण ताजै छ । हाम्रो पूर्वी पहाडतिर होर्लाङ्गेमा पनि मकै भुट्ने चलन थियो । यो होर्लाङ्गे भनेको मट्टीतेलको टिनलाई एकातर्फ काटेर खाली बनाइन्थ्यो । त्यसमा एउटा डण्डालाई काँटी ठोकिन्थ्यो । अनि डोरिले बाँधेर अगेनाको माथि दलिनमा झुण्ड्याइन्थ्यो । त्यसमा मकै हाली हर्ल्याङ हर्ल्याह पारेर भुटिन्थ्यो । भुट्न सजिलो हुने अनि फुलपनि उठ्ने भएको हुनाले यसलाई मानिसहरू प्रयोग गर्थे । यी तीनवटानै तरिकाले मकै भुट्दा ती मकैको हालत कस्तो हुन्थ्यो होला । यो त कल्पनाको कुरामात्र भयो ।
यसरी तातो कराईमा बालुवासँग मानिसले भुटिनु पर्यो भने कस्तो अवस्था होला । यो कल्पना गर्दामात्र पनि हाम्रो हाङ्ग सिरिङ्ग हुन्छ । हो , हाम्रा लाखौँ नेपाली दाजुभाइ र दिदिबहिनीहरूले यो यथार्थ भोगिरहेका छन् । मरूभूमिको देशमा तातो बालुवामाथि काम गर्दैछन् । नत कहिले सुनेको भाषा छ । न त त्यहाँकव कुनै संस्कृति र सभ्यता थाहाछ । त्यस्तो ठाउँमा गएर बाँच्नकालागि छट्पटाइ रहन बाध्यछौँ नेपालीहरू । पानीको हाहाकार भएको ठाउँ हो मध्यपूर्व । गर्मीमा काम गर्दा आएको पशिना लगाएकै लुगामा सुक्छ । शरिरको पानी सकिएर डिहाइड्रेड हुन्छ । गर्मीले बेहोस बनाउँछ । हृदयघात हुने र मस्तिष्क घात हुने जस्ता भयले सबैलाई बिचलित बनाउँछ । सँगैकाम गर्ने साथीहरूलाई रातो बाकसमा राखेर मातृभूमिका लागि हवाईजहाज चडाउँदा मननै भक्कानिएर आउँछ । बियोगको बेदनाले मुटुफुट्ला जस्तो हुन्छ । परदेशी मनले आफ्नै आकृतिलाई वाकसमा राखेको अनुभूति गर्दछ । तर केगर्नु , मर्नु भन्दा बौलाउनु निको भन्छन् । घर सम्झियो, बुबाआमा र परिवार संझियो । शाहुको ऋण सम्झियो, अनि आफ्ना साना नानी र बाबु सम्झिएर आँशु पिँउदै सिरानी भिजाउँन बाध्य बन्यो ।
आफ्नो जन्मभूमिको प्राकृतिक शौन्दर्यताले सन्सारलाई मोहित बनाएकोछ । संसारभरका मानिसहरू आकाश चुम्ने हिमालहरू हेर्नका लागि आउँछन् । यहाँका हिमाली झरना र नदीनाला हेरेर रमाउँछन् । पहाडका फाँटहरू , मन्दिरै मन्दिरको शहर र उपत्यका हेर्नेको भिड लाग्दछ । अन्नको भण्डीर तराईमा सुन फल्छ । बन्यजन्तुलाई संरक्षण गर्ने निकुञ्जहरूले सन्सारकै अमूल्य जनवारहरूलाई पालेको छ । यस्तो धरतीकै श्वर्ग हो नेपाल । तर जन्मभूमीले देवता जस्ता दूरदर्शी र सक्षम नेतृत्वलाई जन्माउन सकेन । जन्मिएकाहरूलाई संरक्षण दिन सकेन । कविशिरोमणि लेखनाथ पौड्यालको कविता” मैंखाउँ मैलाउँ ..अरू सबमरून दुर्वलहरू” भने जस्तामात्र नेतृत्व जन्मायो । बिदेशमा कामदार पठाउने व्याड राख्ने किसानमात्र जन्मायो । यसको नियति लाखौँ नेपालीले बिदेशमा गएर भोग्नु परेको छ ।
यती हुँदा पनि मातृभूमीमै फर्कन पाएको सपना देखेर रात बिताउँछन् नेपालीहरू । आफ्नो भाषा साहित्य र संस्कृतिलाई जोगाउन तम्सन्छन् नेपालीहरू । आफ्नो पहिचानलाई फैलाउन लागीपर्छन् नेपालीहरू । आफ्ना नानी बाबुलाई आफ्नो मातृभाषा र संस्कृत सिकाएर पहिचान जोगाउन अहोरात्र खड्छन् नेपालीहरू । यसैको परिणाम हो यो बालकविता क्यालेण्डर । साहित्यकार प्रेभ भट्टराई अनेसास कतारको पूर्व अध्यक्ष पनि हुनुहुन्छ । त्यस्तै अनेसासका पूर्वअध्यक्षहरू, अनेसासका आजीवन सदस्यहरू, नवोदित साहित्यिक वाचनालयका साहित्यकारहरू, र अनेसास बालसमितिका केन्द्रिय सदस्य गंगा गिरीहरूको अथक परिश्रम छ यसमा । नेपालबाट सगुन प्रेसका मित्र दिनदयाल रेग्मी सपत्नीको उत्तिकै योगदान रहेको छ । आफ्ना साना नानी र बाबुहरूलाई कविता लेख्न प्रेरित गर्ने अविभावकज्यूहरू । अनि प्यारा नानीबाबुहरू जो “बालुवामा फूलेका गुराँसका थुँगाहरू” सबैसबैलाई सधन्यवाद हार्दिक नमन सहित यो क्यालेणडर प्रस्तुत गर्ने अनुमति माग्दछु ।
साहित्यकार/कवि
प्रतिक्रिया