मालिनी छन्दकाे अभ्यास गर्दै “छन्दमा टुक्का अभ्यास श्रृङ्खला ४१” सम्पन्न 

इनेप्लिज २०७९ पुष १ गते २२:३६ मा प्रकाशित

काठमाडौँ,

टुक्का साहित्य समाजकाे आयाेजनामा २०७९ मङ्सिर २४ गते “छन्दमा टुक्का अभ्यास श्रृङ्खला-४१” सम्पन्न भएकाे छ। छन्द प्रशिक्षकद्वय अनिल खग्रास र रामशरण न्याैपानेले प्रशिक्षण गर्नु भएकाे उक्त अभ्यासमा विश्वका विभिन्न देशहरूबाट १४ नेपालीभाषी सर्जकहरूकाे सहभागिता रहेकाे थियाे । कार्यक्रमकाे सहजीकरण टुक्का साहित्य समाजका अध्यक्ष तथा परिकल्पनाकार ताराप्रसाद चापागाईँले गर्नु भएकाे थियाे ।

विभिन्न छन्दहरू सिकाउँदै छन्दमा टुक्का कविता लेखनकाे विकासगरि नेपाली भाषा साहित्यमा विशेष याेगदान पुर्याउने उद्धेश्यका साथ छन्दमा टुक्का लेखन अभ्यास श्रृङ्खला सञ्चालन भई रहेकाे छ । यस श्रृङ्खलाका सहभागीहरूले वार्णिक छन्द अन्तर्गत मालिनी छन्दमा अभ्यास गर्दै टुक्का कविताहरू सिर्जना गरेका थिए।

कार्यक्रमकाे समापन गर्दै अध्यक्ष चापागाईं तथा प्रशिक्षकद्वय खग्रास र न्याैपानेले प्रयाेगवादी नव काव्यिक उपविधा टुक्का कवितामा छन्दकाे प्रयाेग गर्दै केही मात्रामा भए पनि छन्दमा काव्य सिर्जना गर्न प्रेरित गर्दै नेपाली भाषा साहित्यकाे जगेर्ना गर्ने प्रयास गरिएकाे जानकारी गराउदै उत्साहपूर्वक सहभागी भई मालिनी छन्दमा सुन्दर टुक्का कविताहरू सिर्जना गर्नुभएका सहभागी सबै टुक्काकारहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्नु भएकाे थियाे ।

अभ्यासका क्रममा सङ्कलन भएका केही टुक्का कविताहरू

[१]
१.
अझ पनि जनतामा चेतना देखिएन
यस विपुल धराको भाग्य नै लेखिएन।
२.
कर बल दललाई भागभण्डा मिलाए
मुलुक र जनताका स्वप्न सारा बिलाए।
•रामशरण न्यौपाने
भक्तपुर
[२]
हरपल दिलको यो घाउ चस्किन्छ कस्तो,
स्वरुप छ नि सियोझैँ याद भो काल जस्तो।
•अनिल खग्रास
[३]
मन अनि मुटु चाेर्याे बैगुनी निष्ठुरीले
रहर नि सपनाझैँ त्याे उडायाे हुरीले ।
•ताराप्रसाद चापागाईँ
धुनिबेसी
[४]
१.
गलत गलत गर्दा बिग्रियो देश राम्रो
सफल मुलुक बन्ने कार्यनै छैन हाम्रो ।
२.
गति प्रगति हुनेछन् बन्न सक्नेछ शान्त
मनबिच अति राख्यौं पार्दछन् लुट्न प्रान्त ।
•चूडा निर्भीक
सिम्पानी गोरखा
[५]
१.
अझ पनि हिनतामा ,खै त खुल्ला तनैमा
विपत छ जनतामा , छैन आशा मनैमा ।
२.
अमिर जन छ साथी, दु:खमा कर्महारा
चहलपहल राखी , दम्भले दैत्य सारा ।
•प्रेम थापा “मन”
बागलुङ
[६]
अझ पनि जनतामा चेत भन्ने हरायो
किन किन जननेता सत्रु जस्तै ठरायाे।
•इन्दिरा प्रयास
सानाेठिमी भक्तपुर
[७]
१.
कल बल छलछामी हेर मान्छे लुकेको,
तन मन अपराधी दुष्ट बन्दै चुकेको।
२.
टपटप टिप चारो आजलाई अघाऊ,
छिन छिन किन मर्छौ व्यर्थ बाधा भगाऊ।
•होम प्रसाद नेउपाने
धरान,सुनसरी ।
[८]
१.
नगर न यतिधेरै अन्ध माया मलाई,
मन अनि मुटुमा नै मैनबत्ती जलाई ।
२.
गरिकन कर माया मिल्छ भन्ने छ काहीँ
अझ करबल गर्दा मिल्छ खाली तबाही ।
•वसन्त अनुभव
घोराही, दाङ
[९]
१.
कल कल कल पानी बग्न देऊ भिजाइ,
समथर थल डाँडा कन्दरामा सिँचाइ।
२.
अतिशय जलधारा राख दिक्पाल झारी,
रमण हरित राम्राे हुन्छ हेर्दा त टारी ।
•धन कुमारी रेग्मी
चितवन
[१०]
सहज गलत गर्दा , बिग्रँदो देश हाम्रो
सहज मुलुक बन्ने, चाह त्यो छैन राम्रो ।
•बेदु न्यौपाने
काठमाडौ
[११]
१.
उकुसमुकुस पार्‍यो धुम्म छाया नखस्दै
चिट चिट पसिनामा डुब्छु माया नबस्दै।
२.
झलमल बिजुलीले नै अँध्यारो भगायो
अलिकति झगडाले आज माया अघायो।
•बाबुराम गौतम
गुल्मी
[१२]
मन छ असल मान्छे भै सबैले हुँ मान्ने ,
बल नगर न त्यो ध्यानै नगर्दा छु जान्ने ।
•रामप्रसाद पुरी
बादेल,खाेटाङ ।
[१३]
१.
कलकल जलले बस्ती उज्यालो दिएका,
हरपल जडले गस्ती पुर्‍याई लिएका ।
२.
गहन रस त तानेका खिचेका सवार,
सघन चमक जानेका किनेका गवार ।
•जमुना आचार्य
सिन्धुपाल्चोक
[१४]
पवन सरर चल्दै, यो कुनामा नि आयो
झलल नभ भयो लौ, जून तारा उदायो ।
•डम्बर थामी ‘अनुपम’
कालिन्चोक गा.पा.-६, दोलखा ।

::::: जय टुक्का! जय साहित्य!! :::

प्रतिक्रिया