मोरङ क्षेत्र नं ६ का उम्मेदवारहरुको घरदैलो अभियान तीव्र

मनोज दाहाल २०७९ कार्तिक १६ गते २२:२२ मा प्रकाशित

विराटनगर,१६ कात्तिक(रासस): आसन्न प्रतिनिधि सभा निर्वाचनमा मोरङ क्षेत्र नं ६ का प्रतिनिधि सभाका लागि उम्मेदवार रहेका दलका प्रतिनिधिहरुले रोजगारी, वाढी नियन्त्रणको आश्वासन दिदै मतका लागि जनताको घरदैलो अभियानलाई तीब्र बनाएका छन् ।

उहाँहरुले जनताका घर÷घर, टोल, चोक, चिया पसलमा नागरिकहरुसँग भेटघाट गरि वर्तमान अवस्थामा यस क्षेत्रमा रहेका समस्याहरु समाधान गर्ने आश्वासन बाँडदै मत माग्ने क्रम तीव्र बनाउनु भएका छन् ।

विराटनगरलाई दोस्रो ठूलो शहरको रुपमा विकसित गर्न संरचनाको निर्माण गर्ने, निर्यातमुलुक उद्योगको स्थापना गर्ने, विराटनगर विमानस्थललाई क्षेत्रीय स्तरको अन्तर्राष्ट्रिय बनाउने, रोजगारी उपलव्ध गराउने, स्वास्थ्य, प्राविधिक शिक्षामा सहज पहुँच उपलव्ध गराउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

यस्तै सुकुम्वासी समस्या समाधान गर्ने, जन्मसिद्धका सन्तानलाई नागरिकता उपलव्ध गराउने, खेलमैदान निर्माण गर्ने, खेलकुद प्रतियोगिता सञ्चालन गर्ने, विराटनगरको चक्रपथ निर्माणमा आवश्यक बजेट उपलव्ध गराउने, केशलिया खोलाको किनारमा विराटनगर रानीदेखि दुहवीसम्म सडक करिडोर निर्माण गर्ने जस्ता विकासका कार्य गर्ने आवश्वासन दिनुका भएका छन् ।

उक्त्त क्षेत्रमा नेपाली कांग्रेसले केन्द्रीय सदस्य डा शेखर कोइराला, नेकपा एमालेले पार्टीका स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री लालबाबु पण्डित,मंगोल नेशनल अर्गनाइजेशनले मोहनबहादुर राई ,राप्रपाले गोपाल क्षेत्री, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले दुखीराम माझी, जनमत पार्टीले वुद्धिराम माझी, लोकतान्त्रिक समाजवादी पार्टी नेपालले राजु मण्डल राजवंशीलाई उम्मेदवार बनाएको छ ।

यसैगरी अन्य उम्मेदवारहरुमा जनता प्रगतिशील पार्टी नेपालले प्रशान्त ठाकुर, वहुजन शक्ति पार्टीले नारायण पासवान, हाम्रो नेपाली पार्टीले टेकबहादुर अधिकारी क्षेत्री, राष्ट्रिय स्वतन्त्र पार्टीले यादवकुमार प्रधान, नागरिक उन्मुक्ति पार्टीले बलराम खवास, नेपाल मजदुर किसान पार्टीले चिरन्जिवी खतिवडा तथा स्वतन्त्रयद्वयमा सरोज नेपाल र सुशिल खडका उम्मेदवार रहनु भएको छ।

यस क्षेत्रमा कूल मतदाता एक लाख २६ हजार ७६१ रहेको प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ।

मोरङ क्षेत्र नं ६ अन्तर्गत वुढिगंगा गाउँपालिकाका सबै वडाहरु, विराटनगर महानगरपालिकाको वडा नं ४,५,६,७,९,११ र १२, सुन्दरहरैचा नगरपालिकाको वडा नं २,३,४,५,६ र ७ नं वडा रहेका छन् ।

गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा वुढीगंगा गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका जितनारायण थापा मगरले आठ हजार २९९ र उपप्रमुखमा सोही पार्टीका अमृता कुमारी गच्छदारले नौ हजार ५० मत ल्याएर विजयी हुनु भएको थियो भने नेकपा एमाले बलभद सदरदार थारुले सात हजार ८८० र उपाध्यक्षमा तुलसीकुमार कुँवरले छ हजार २२३ मत ल्याई पराजित हुनु भएको थियो ।

यस्तै विराटनगर महानगरपालिका अन्तर्गत वडा नं ४ को वडाअध्यक्षमा नेकपा एमालेका जितन थापाले दुई हजार ९२, वडा नं ५ मा नेकांका सन्तोष न्यौपानेले एक हजार ९९४ , वडा नं ६ मा नेकांका हरिषचन्द्र सहनीले दुई हजार २९५,वडा नं ७ मा नेकांका मधुवावु तिवारीले एक हजार ३१, वडा नं ९ मा नेकांका विश्वनाथ भगतले एक हजार ३४२, वडा नं ११ मा नेकपा एमालेका तीर्थेन्द्र न्यौपानेले एक हजार ५५२ र वडा नं १२ मा जनता समाजवादी पार्टी नेपालका हिरालाल कामतले एक हजार ३७४ मत ल्याइ विजयी हुनु भएको थियो ।

यसैगरी सुन्दरहरैचा नगरपालिकाको वडा नं २ मा नेकांका विवस प्रधानले एक हजार ५७०, वडा नं ३ मा नेकपा एमालेका विदुरप्रसाद ढुंगानाले एक हजार ८९१, वडा नं ४ मा नेकांका कैलास वस्नेतले एक हजार ७६०, वडा नं ५ मा नेकपा एमालेका गणेश चौधरीले दुई हजार ३३१ , वडा नं ६ मा नेकांका सन्तोष लिङ्देनले एक हजार ८२६ र वडा नं ७ मा स्वतन्त्र भुवनसिंह मगरले एक हजार ४२६ मत ल्याइए विजयी हुनु भएको थियो ।

प्रतिनिधि सभा निर्वाचिन २०७४ मा यस क्षेत्रमा नेकपा एमालेका लालबाबु पण्डितले ३३ हजार ९४१ मत ल्याइ विजयी हुनु भएको थियो भने नेकांका डा शेखर कोइरालाले ३३ हजार २६६ मत ल्याइ पराजित हुनु भएको थियो ।

-मनोज दाहाल

मनोज दाहाल

पत्रकार

प्रतिक्रिया