‘मालामा नउनिएका फूलहरू’ का फूलहरू मालामा उनिए जस्ता

इनेप्लिज २०७९ कार्तिक ६ गते २:०४ मा प्रकाशित

पुस्तक समीक्षा

-गीता काफ्ले, प्रधानाध्यापक
नन्दी माध्यमिक विद्यालय, नक्साल, काठमाडौं


२०७९ साल जेठ ६ गते मेरो मेसेन्जरमा एउटा मेसेज आयो जसमा लेखिएको थियो, “२०७९ जेठ ७ गते शनिबार २ः३० बजे प्रज्ञा भवन, कमलादीमा डा. खगराज बरालद्वारा लिखित पुस्तक ‘मालामा नउनिएका फूलहरू’ को लोकार्पण र अन्तर संवाद कार्यक्रम छ । अवश्य आउनुहोला ।”


एकदम खुसी लाग्यो । मैले बल्ल बल्ल शिखा बुक्समा गएर किनेर ल्याएर पढेको पुस्तक थियो त्यो ‘मालामा नउनिएका फूलहरू’ । म निर्धारित समयमा कार्यक्रम स्थलमा पुगें । हल भरिन लागेको थियो । लेखकले मलाई पनि पुस्तकका बारेमा केही बोल्न भन्नुभएको थियो । पुस्तक विमोचन समारोहका प्रमुख वक्ताहरूमा प्रा.डा. जयराज आचार्य, लेखक तथा पूर्वसांसद डा.
शोभाकर पराजुली, पूर्वसचिव किशोर थापा, शिखा बुक्सका पुष्पराज पौडेल तथा लेखक स्वयम् हुनुहुन्थ्यो । मैले पनि उक्त समारोहमा समीक्षात्मक टिप्पणि गर्ने अवसर प्राप्त गरेको थिएँ । मेरो लेखकसँगको परिचय पनि पुस्तकमार्फत नै भएको थियो । लेखकको शिक्षासँग सम्बन्धित पुस्तक ‘सिकाउने शैली’ मलाई एकदमै मन परेको पुस्तक थियो । त्यस्तै, ‘सिकाइ र सहयोग’ पनि सर्वाधिक रुचाइएको पुस्तकमा पर्छ ।


ममतामयी आमाको बारेमा लेखिएको ‘स्यानी’ उपन्यास पनि मनै छुने कृतिको रूपमा स्थापित भैसकेको कृति हो ।
शिक्षा क्षेत्रमा लामो अनुभव हासिल गरेका लोकप्रिय स्रष्टा डा. खगराज बरालद्वारा लेखिएको पुस्तक
‘मालामा नउनिएका फूलहरू’ एउटा आत्मपरक निबन्धको सङ्ग्रह हो । शिखा बुक्सद्वारा प्रकाशित कुल ३२४ पृष्ठको
यस पुस्तकमा फरक फरक स्वादका २० ओटा लेखहरू रहेका छन् । यस कृतिमा लेखकले समाजमा देखेभोगेका
विषयवस्तुलाई कलात्मक ढङ्गले प्रस्तुत गरेका छन् । २० वटा निबन्धमा लेखकले बाल्यकाल, स्कुले जीवन, जागिरे
जीवनमा भेट भएका पात्र र तिनका प्रवृत्तिलाई शब्दका माध्यमबाट चित्रात्मक रूपमा उतारेका छन् ।

पुस्तकको पहिलो लेख ‘आमाबाबुका कुरा’ शीर्षकमा छ । यस लेखले आफ्ना सन्तानमाथि अथाह माया पोख्ने
आमाबाबुलाई बुढेसकालमा तिनै सन्तानले अपमान र एक्लोपनको सिकार हुन बाध्य पार्ने सामाजिक परिवेशको हृदय
विदारक तस्बिर प्रस्तुत गरेको छ । अर्थात, सन्तानको त्यस्तो प्रवृत्तिमाथि प्रहार गरेको छ । आमाबुबाका साथ रहेका
सन्तानले ‘मैले आमाबाबु पालेको छु’ भन्नु आमाबाबुप्रतिको अपमान हो । यसलाई ‘म आमा बुबासँग छु’ अथवा ‘मैले
आमाबुबासँग रहने सौभाग्य पाएको छु’ भन्नु उत्कृष्ट हुने कुरा लेखकले सुझाएका छन् । आमाबाबुका नाममा अवसर,
सुविधा र सहानुभूति लिने तर तिनै आमाबाबुलाई उपेक्षा, अपमान, अवहेलना गर्ने सन्तानप्रति लेखकले कडा शब्दमा
विरोध प्रकट गरेका छन् । आफ्नो कार्यालयमा रहँदाको आमाबुबाको नाममा सुविधा लिन तछाडमछाड गर्ने तर तिनै
आमाबुबालाई भने वास्ता नगर्ने सन्तानसँगको अनुभवलाई लेखकले आफ्नो यस लेखमा समेट्दै सम्बन्धित
व्यक्तिहरूलाई केही जिम्मेवारिको बोध गराउन खोजेको देखिन्छ ।


‘हिजो र भोलि’ शीर्षकको दोस्रो लेखमा हिजोका बालकले हुर्किँदा प्राप्त गरेको परिवेश र आजका बालकले भोग्दै
गरेको परिवेश बिलकुल भिन्न भएको कुरा उल्लेख गरिएको छ। लेखकले आफ्ना बाल्यकालका अनुभवहरू
बालाबालिकासँग बाँडेको प्रसङ्ग पनि उक्त लेखमा समेटिएको छ । आजको प्रविधियुक्त जमानामा जन्मेका
बालबालिकाले अत्याधुनिक सुविधा भोग गरेको प्रङ्सग उल्लेख गर्दै उनीहरूले आफ्नो मौलिक संस्कृति, परम्परा र
नेपालीपन भुल्नुहुन्न भन्ने लेखकको अभिप्राय देखिन्छ । आफ्नो परम्परा र संस्कृतिमाथि गर्व गर्न सिकाउनुपर्ने कुरा
उल्लेख गर्नुका साथै आफ्नो पुर्खा, मातापिता, राष्ट्र र समाजप्रति आदर गर्न सिक्नुपर्छ भन्ने सन्देश दिन खोजिएको
छ । बालबालिकाहरूले झगडा र विवादजन्य तर्कभन्दा सिर्जनात्मक प्रश्नहरू गर्न सिक्नुपर्ने आसय पनि उक्त
लेखमा व्यक्त गर्न खोजिएको छ ।


‘बिहेको कुरा’ शीर्षकको निबन्धमा बिहेलाई वंश परम्परा धान्ने एक प्रक्रिया भनिएको छ । पहिला पहिला १८
वर्ष पुगेपछि छोरीको र २० वर्ष पुगेपछि छोराको बिहेको कुरा चल्ने गरेको प्रसङ्ग यसमा छ । बिहेको अनिवार्यताबारे
चर्चा गर्दै श्रीमान् श्रीमतीको संयुक्त प्रयत्नले मात्र दाम्पत्य जीवन सुखमय र सफल बन्न सक्छ भन्ने आशय छ ।
लामो समय बिहे नगरिकन बसेका व्यक्तिहरू पनि जीवनको एक कालखण्डमा बिबाह बन्धनमा बाधिने गरेका
प्रसङ्गहरूलाई पनि लेखले समेटेको छ।


‘खाना सबैको लागि’ शीर्षकको चौथो लेखमा लेखकले ‘अरू सबै दानभन्दा अन्न (खाना) दान उत्कृष्ट दान
हो’ भन्ने कुरालाई उदाहरण दिएर प्रष्ट्याइएका छन् । किनभने, अरू कुराको दानमा जति पायो त्यति मान्छेमा
लालच बढ्छ तर खाना मात्र त्यस्तो चिज हो जसले मानिसलाई एउटा विन्दुमा पुर्‍याएर तृप्त बनाउँछ । साथै, उक्त

लेखमा लेखकले स्कुले जीवनमा खाइने मकै भटमास जस्ता खाजाबारे चर्चा गरेका छन् । स्कुलमा खाजा कार्यक्रमले
ल्याएका सकारात्मक परिवर्तन बारेमा पनि चर्चा छ।


‘वर, पिपल र समी’ शीर्षकको पाँचौँ लेखमा वर, पिपलको वैज्ञानिक तथा सांस्कृतिक महत्त्वको बयान गर्दै
त्यसलाई उमार्ने विधिबारे उल्लेख गरिएको छ । यस सवालमा सुर्खेतका प्रधानाध्यापक नारायण सिग्देलको प्रेरक
अनुभव पनि समेटिएको छ ।


‘कृष्णसारको कष्ट’ शीर्षकको छैटौँ लेखमा बर्दियाको कृष्णसार संरक्षण क्षेत्र भ्रमणको अनुभवसँगै
कृष्णसारबारेको धार्मिक विश्वास, तिनको आनीबानी, विशेषता सम्बन्धमा बिस्तारमा बताइएको छ । लेखकले एक
जना प्राविधिकको सहयोगमा बर्दियाको संरक्षण क्षेत्रमा कृष्णसारको अवलोकन गर्दा देखिएका क्षण र अनुभूतिलाई
रोचक तरिकाले समेटेका छन् । कृष्णसारको संरक्षणमा आएका कठिनाइ, खानपान, स्वाभाव आदिबारे सूक्ष्म रूपले
चर्चा गरिएको छ ।

सातौँ लेख ‘कुकुरका कुरा’ शीर्षकमा छ । महाभारतको प्रसङ्गबाट सुरु भएको यो लेखले कुकुरका कष्टहरू,
घरपालुवा र भुस्याहा कुकुरमा फरक, भुस्याहा कुकुरको संरक्षण र व्यवस्थापनमा रवि कर्माचार्यले गरेको कार्य र
उनमा रहेको जनावरप्रतिको प्रेमको मार्मिक बयान गरिएको छ । कुकुर पाल्दा पालनकर्ताले ख्याल गर्नुपर्ने न्यूनतम
प्रबन्धका बारेमा वणर्न गर्नुका साथै कुकुरका गुण र कुकुर पाल्दा हुने लाभको बारेमा पनि यस लेखमा बताइएको छ

‘मृगसँग बातचित’ शीर्षकको आठौँ लेखमा लेखकले केन्याको नौरेवी नेसनल पार्क भ्रमणको अनुभव र त्यस
अवधिमा मृगसँग भएको काल्पनिक संवादलाई रोचक ढङ्गले पस्केका छन । मृगसँगको मनोसंवादमार्फत लेखकले
मान्छेमा रहेका ह्रिंसक र प्रकृति विरोधी प्रवृत्तिको आलोचना गर्दै जीवजन्तुको संरक्षणको पक्षमा मर्मस्पर्शी ढङ्गमा
आवाज उठाएका छन् । यसमा मृगमार्फत नेपालले भोगिरहेको बाल मृत्युदर, मातृ मृत्युदर आदि समस्याबारे
बताइएको छ । यसमा जङ्गलमा आइपर्ने समस्यादेखि मानिस र जनावरबीचको संवादका माध्यमबाट मानिसको
कृत्रिम ज्ञान तथा गर्भपतनका विषयमा पनि चर्चा गरिएको छ ।


‘अतिथि आसनमा अलमल’ शीर्षकको नवौँ लेखमा लेखकले नेपालीहरूमा रहेको कार्यक्रमको प्रमुख अतिथि
बन्ने चाहनालाई व्यङ्ग्य गरेका छन् । व्यक्तिको महत्त्व ऊ कुन दर्जाको अतिथि हो भन्दा पनि अतिथिको त्यो
कुर्सीबाट उसले कुन र कस्तो विचार सम्प्रेषण गर्छ भन्नेमा हुन्छ भन्ने कुरा बताएका छन् । अतिथिको कुर्सी क्रम,

आसन ग्रहणको प्रबन्ध बारेमा अलमल हुँदा कार्यक्रम आयोजकलाई पनि तनाव हुने गरेको पाइन्छ । त्यसैले अतिथि
को ठुलो भन्ने कुरा कार्यक्रम कसले गरेको र कुन प्रकृतिको हो भन्नेमा आधारित हुनुपर्छ भन्ने लेखकको सुझाव छ
। उक्त लेखमा बुटवल औद्योगिक मेला, संविधान दिवसलगायतका कार्यक्रममा प्रमुख अतिथि बनाउँदा भएका
अलमल र समाधानका विषयमा लेखकको अनुभव समेटिएको छ । यस्ता औपचारिक कार्यक्रम सञ्चालन गर्दा नेपाल
सरकारको मर्यादाक्रमलाई प्राथमिकता दिँदा समस्या नआउने उनको सुझाव छ ।


दशौँ लेख ‘विद्वान् र बुद्धिजीवी’ले पर्यायका रूपमा प्रयोग हुँदै आएका यी दुई शब्दको अर्थ छुट्याएको छ
। वास्तवमै यी दुई फरक कुरा हुन् । विद्वान् बुद्धिजीवी नहुन सक्छ र हरेक बुद्धिजीवीसँग औपचारिक शिक्षा र
विद्वता नहुन पनि सक्छ । लेखक भन्छन्-‘विद्वानहरू दिमागबाट काम गर्छन् भने बुद्धिजीवीहरू मनबाट । त्यसैले
विद्वानभन्दा बुद्धिजीवी माथिल्लो कोटिमा पर्छ भन्ने आसय लेखमा देखिन्छ।’


‘के राम्रो के नराम्रो’ शीर्षकको एघारौँ लेखमा लेखकले मृत्यु संस्कारमा रहेका समाजगत भिन्नताको कुरा
उठाएका छन् । मान्छे मर्न लाग्दा गरिने विविध कार्य, एकोहोरो शङ्ख फुक्नुको कारण, मलामीलाई पैसा दिनुको
कारण, मृत्यु संस्कार र कर्मचारीका हकमा बिदा दिनुपर्ने जस्ता विषयको गहन चर्चा छ ।


‘अपरिचित परिचित भएपछि’ शीर्षकको बाह्रौँ लेखको मूल कथा दृष्टिविहीन डिबी सरको संस्मरणको रूपमा
रहेको छ । यस लेखमा डिबी सरको प्रतिभा, मानवीय भावना, सजग, सभ्य र सुकोमल व्यवहारका प्रसङ्ग जोड्दै
लेखकले आफूभित्र रहेको सच्चा र सहृदयी मानव स्वरूपलाई सुन्दर ढङ्गबाट प्रकट गरेका छन् । यो लेख निकै
मर्मस्पर्शी छ ।


‘तीन पोर्टको रहर’ शीर्षकको तेह्रौँ लेखले कर्मचारीको विदेश मोहका बारेमा चर्चा गरेको छ । कुनै कर्मचारी
एयपोर्ट नै मात्र धाउने, कुनै कर्मचारी एयरपोर्ट देख्नै नपाउने अवस्थाको चित्रण गरिएको छ । साथै, यसमा कुनै
तालिम, गोष्ठी वा सेमिनारमा सहभागी हुन जाँदा कार्यकमको मूल विषयभन्दा घुम्ने, किनमेल गर्ने र फोटो खिच्ने
काममा बढी रुचि राख्ने नेपाली प्रवृत्तिमाथि प्रहार गरिएको छ ।


‘अमेरिकी प्रोफेसरको सरल मन्तव्य’ शीर्षकको चौधौं लेखमा रातो बङ्गला स्कुल पाटनढोकामा आयोजित
अन्तर्राष्ट्रिय शिक्षा सम्मेलनका बारेमा लेखकका अनुभव र प्रमुख वक्ताका रूपमा रहेका अमेरिकी प्रोफेसर जोन
डेभिड स्निडरको मन्तव्य छ । उक्त लेखमा अमेरिकि प्रोफेसरले उठाएको ‘क्याचर इन द राइ’ शीर्षकको पुस्तकको

प्रसङ्ग जोड्दै आजको संसार अपशब्दले ग्रसित छ भन्ने सार लेखकले प्रकट गरेका छन् । यस लेखमा शिक्षालय,
शौचालय, मठ मन्दिर र विरुवामा अपशब्द लेख्ने हाम्रो प्रवृत्तिप्रति लेखकले तीव्र विमति राखेका छन् ।
‘बालीको वास’ शीर्षकमा रहेको पन्धौं लेखले इन्डोनेसियाको बाली भ्रमणको अनुभव समेट्दै हरेक समाजले
आफ्नो संस्कृतिप्रति गर्व गर्न सिक्नुपर्ने सन्देश दिएको छ । जातीय विभेदरहित समाजअन्तर्गत जातीय शुद्धता र
नश्ल संरक्षणको प्रसङ्ग अनौठो र घत लाग्दो छ । यस लेखले विकास र पर्यटन प्रबर्दनका कुरा पनि उठाएको छ ।
सोह्रौँ लेख ‘फिलिपिन्सको सङ्घीयता’ शीर्षकमा छ । विकेन्द्रीकरणको उत्तम अभ्यास भएको एकात्मक मुलुक
फिलिपिन्सले क्षेत्रीय विकास र शासनमा सबै तह तप्का, वर्ग र भावनाको सहभागिताका लागि सङ्घीय स्वरूपमा जान
अध्ययन थालेको प्रसङ्ग यसमा रहेको छ । साथै, यस लेखले फिलिपिन्सको स्वतन्त्रता आन्दोलन र राजनीतिक
इतिहासको सङ्क्षिप्त विवरण समेटेको छ ।


सत्रौँ लेखको रूपमा ‘संसद् विघटनदेखि संसद् विघटनसम्म’ शीर्षकमा छ । यस खण्डमा २०५१ सालदेखि
२०७७ सालसम्म भएका संसद् विघटन र सरकार निर्माणका कुराहरू उल्लेख छन् । बारम्बारको संसद् विघटनका
कारण देशका उत्पन्न भएको अस्थिरताले विकास र लोकतन्त्रप्रतिको जनआस्थामा धक्का पुगेको मात्र होइन, लेखक
जस्तै आम पेसाकर्मीले समेत त्यस बापत अनाहकमा प्रताडित हुनु परेको वास्तविकता यस लेखमा उल्लेख छ ।
अठारौँ लेख ‘नेपालको शिक्षा मेकालेको मनोमानी’ शीर्षकमा छ । यस लेखमार्फत लेखकले भनेका छन्-
‘ब्रिटिस सरकारको पालामा भारतमा आएको मेकालेको शिक्षा पद्धति त्यताबाट नेपालसम्म आयो । यस पद्धतिले
पढेलेखेका नेपाली युवा पुस्तामा उद्यमशीलताभन्दा जागिरे प्रवृत्तिको विकास गरायो । यसले सदियौँदेखि प्रचलित
गुरुकुल शिक्षा पद्धतिलाई विस्थापित गरेर, पूर्वीय दर्शन, साहित्य र संस्कृतिमाथि अतिक्रमण गर्यो र त्यसको
स्थानमा पश्चिमा दर्शन, साहित्य र संस्कृति थोपरिदियो । यसैको घातक परिणाम आजसम्म पनि हामी भोगिरहेका
छौं । यसमा पुनर्विचार नगरेसम्म हाम्रो अधोगति रोकिने छैन ।’ भन्ने कुरालाई मार्मिक ढङ्गले उल्लेख गरिएको छ।
उन्नाइसौँ लेख ‘वैदिक दर्शनः गुरुकुलीय शिक्षाको आधार’ शीर्षकमा रहेको छ । यस लेखमा लेखकले वैदिक
दर्शन, वैदिक ग्रन्थहरू, परापूर्व कालदेखिको ज्ञानको वितरण र हस्तान्तरणको पक्रियाका बारेमा गम्भीर विचार व्यक्त
गरेका छन् । वैदिक कालमा ऋषि मुनिहरूले तपस्या र ध्यानबाटै ज्ञान आर्जन गरेको प्रसङ्ग पनि उल्लेख गरिएको
छ । यस लेखमा लेखकले बुद्धको ज्ञान प्राप्ति, चार आर्यसत्य, अष्टाङ्गिक मार्ग तथा पञ्चशीलका कुरा उल्लेख
गरेका छन् । ब्रह्म र मोक्ष आदिलाई परिभाषित गर्दै योग र ध्यानको महत्त्व समेत बताएका छन् ।

अन्तिम तथा बिसौँ लेखको शीर्षक ‘अदावी’ छ । यो लेख असाध्यै मार्मिक छ । यस लेखमा लेखकले
आफूले नपाउने सुविधा र सेवाका लागि दाबी गर्ने हामी नेपालीको प्रवृत्तिमाथि प्रहार गर्दै देशको उन्नतिका लागि
हामीमा अदावी अर्थात् त्यागको संस्कृतिको विकास जरुरी भएको सन्देश दिएका छन् । दधिची, शिवी, राम, कणर्,
हरिश्चन्द्र, वलि, युधिष्ठिर लगायतका पौराणिक पात्रदेखि सर्वोच्च नेता गणेशमान, लालबहादुर शास्त्री, नेल्सन मण्डेला
हुँदै शिव कङ्गाल र लोकबहादुर लामासम्मका व्यक्तित्वहरूका त्यागका प्रेरक प्रसङ्ग लेखकले समेटेका छन् । यस
लेखले पाठकलाई अदावीका लागि राम्ररी प्रोत्साहित गरेको छ । यसले मान्छेलाई मानवीय हुन सन्देश दिएको छ।
लेखकको आदर्श विचारहरू छचल्किएको यो पुस्तक अनुभूतिहरूको एक अनमोल सँगालो हो । सामान्य
विषयवस्तुलाई पनि ओजिलो ढङ्गले प्रस्तुत गर्न सक्ने लेखकको खुबीले पुस्तकलाई रोचक बनाएको छ । पुस्तक
सरल छ तर सरस छ । पठनीय र सङ्ग्रहनीय छ । यस अघि मैले लेखक बरालका ‘सिकाइ र सहयोग’, ‘सिकाउने
शैली’ तथा ‘स्यानी’ पढ्दाको अनुभवले पनि यी सबै एकपटक पढ्नैपर्ने कृतिहरू हुन् भन्ने लाग्छ । यो नयाँ कृतिका
लागि लेखक बराललाई धेरै धेरै बधाई दिन चाहन्छु । साथै, थप कृतिहरू लगातार पढ्न पाइयोस् भन्ने कामना गर्दै
लेखकको लेखन सफलताका लागि हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु ।


कृतिः ‘मालामा नउनिएका फूलहरू’
लेखकः डा. खगराज बराल
विधाः गैह्र आख्यान (निबन्ध-अनुभूति)
संस्करणः २०७८ पहिलो
प्रकाशकः शिखा बुक्स प्रा.लि.
पृष्ठः ३२४
मूल्यः ४७५ रुपैयाँ

प्रतिक्रिया