कर्मयोगी शोभाकर बरालको “मैले टेकेको धरती” पढ्दा

डा. खगराज बराल २०७९ असोज १९ गते ११:०० मा प्रकाशित

पुस्तक समीक्षा
वि.सं. २०७९ साल साउनमा शोभाकर बरालद्वारा लिखित “मैले टेकेको धरती” प्रकाशित भएको छ । लेखक स्वयं नै प्रकाशक रहेको यो पुस्तक बरालको आत्मकथा हो । वि.सं. २००३ मा पोखरा महानगरपालिका वडा २२, पुम्दीभुम्दी, ठूलिविणीमा जन्मिएका बरालले आफूँ ७५ वर्ष उमेर पूरा भएको हीरक जन्मोत्सवको उपलक्ष्यमा प्रकाशनमा ल्याएका हुन् । कुल १५२ को यो पुस्तकमा १३६ पृष्ठभित्र बरालका अनुभव र अनुभूति अटाइएको छ । बाँकी पृष्ठ ठूलिविणीमा प्रचलित आरती र लोकभजन सङ्ग्रह गरिएको छ । साथै, बरालका विभिन्न तीर्थयात्रा र देश विदेश भ्रमणका तस्बिर र बरालले शिक्षण सेवा अवधिमा पाएका प्रमाणपत्रहरु सङ्ग्रहीत गरिएको छ ।

बरालले आफूँले “मैले टेकेको धरती” नामको आत्मकथा किन लेखे भन्ने प्रसङ्ग लेखकका कुरामा यसरी व्यक्त गरेका छन्, “मैले आफ्नो जीवनमा भोगेका, अनुभव गरेका, देखेका र हाम्रा पुर्खाका सम्बन्धमा आफ्ना उत्तराधिकारी र भावी पुस्तासँग अनुभव बाँड्न उपयुक्त सम्झेँ । कतिपय कुराहरू हामीले हाम्रा सन्ततिलाई नभनिदिएका कारण लोप हुँदै गएका छन् । समयको अन्तरालमा हाम्रा पुर्खा, हाम्रा परम्परा, हाम्रा संस्कृति, हाम्रा वरिपरिका देव देवीका थान, पूजाआजा लोप हुन्छन् कि भन्ने मेरो चिन्ता र चासो हो । यो कहिलेदेखि भएको हो, यसको ऐतिहासिक तथा सांस्कृतिक मूल्य, मान्यता र विश्वास के हो भन्ने जिज्ञासाको समाधान हामीले समयमा नै भनिदिएनौं भने हाम्रा सन्तति र भावी पुस्ताले बिर्सने छन् र हाम्रा परम्परा र विश्वास लोप हुनेछन् भन्ने सोच ममा आयो । यसैको परिणाम यो पुस्तक तयार भयो ।” लेखकको यस स्वीकारोक्तिबाट नै यो पुस्तक लेखनको पृष्ठभूमि र महत्त्व आफैँ स्पष्ट हुन्छ ।

यस आत्मकथामा लेखकले जम्मा १३ ओटा शीर्षकमा आफ्ना अनुभव र अनुभूति सँगालेका छन् । विषय शीर्षकको उपस्थिति पनि कालक्रमिक छ । सर्वप्रथम ‘पुर्खाका कुरा’ शीर्षकमा आफ्ना पुर्खा र कुलका सम्बन्धमा साङ्गोपाङ्गो उल्लेख गर्दै कुलका नयाँ पुस्तालाई आफ्ना पुर्खाको परिचय, गौरव गाथा र अन्त्यमा आस्था जगाउने काम गरेका छन् । आफ्ना पुर्खाका सम्बन्धमा जानकारी नभएका, चाहेर पनि जानकारी पाउन नसकेका र पुराना पुस्ताको अवशानपश्चात हराउँदै गएका जानकारीलाई लिपिबद्ध गरेर बरालले आफ्ना कुल र सन्ततिका लागि गुन लगाएका छन् । यस्ता प्रयास अन्य कुल तथा वंशमा पनि हुनुपर्ने सन्देश यस लेखले दिन्छ ।

‘पुर्खाका कुरा’ बाहेक ‘पिताजीका कुरा’, ‘मातृकुलका कुरा’, ‘ससुरालीतिरका कुरा’, ‘पत्नीका कुरा’ गरी पाँच शीर्षक आफ्ना कुल, वंश तथा परिवारका लागि खर्च गरेका छन् । यी शीषकहरुमा लेखक बरालका पिताजी, मावली, ससुराली र पत्नीका सम्बन्धमा जानकारी, पुर्खा तथा पिताजीले भोग्नु परेका दुःख कष्ट, वैवाहिक जीवनका आरोह अवरोह पढ्न पाइन्छ । लेखकसँग समानुभूति हुँदा लेखकका पुर्खा र लेखकले भोगेका परिवेशले द्रविभूत गराउँछ, एक किसिमले आत्मबल पनि बढाउँछ ।

सानै उमेरमा आमा गुमाएका बरालले बालिक नहुँदै पिताजी पनि गुमाउनु परेको, त्यसपछि निकै कष्टपूर्ण रूपमा पढाइ र दैनिक जीवन गुजारा गर्नु परेको, पढाइलाई निरन्तरता दिन निकै मिहिनेत गर्नु परेको, विवाह र सन्तानहरूको जन्मपश्चात खेती किसानी र शिक्षण पेसामा आबद्ध हुने परेको अवस्था र बिस्तारै जीवनस्तर उठेको प्रसङ्ग ’जीवन सङ्घर्षका कुरा’ शीर्षकको लेखमा पढ्न पाइन्छ । जीवन भनेकै सङ्घर्ष हो र जीवनमा समस्या आउँदैमा निराश हुनु हुँदैन भन्ने सन्देश यस लेखमा बरालका अनुभव र अनुभूतिले पस्कन्छन् ।

‘मेरो पढाइको सेरोफेरो’मा बरालले आफूँ प्राइमरी स्कुलमा पढ्नभन्दा पहिला, प्राइमरी स्कुल पढ्दा र त्यसपछिको पढाइको अवस्थालाई चित्रण गरेका छन् । यो लेख पढ्दा तत्कालीन समयको शैक्षिक अवस्था, जनताको आर्थिक तथा शैक्षिक स्तर, पढाइमा उपयोग गरिएका सामग्रीहरुको जानकारी मिल्दछ । कस्तो कठिन परिस्थितिमा पनि बरालले आफ्नो पढाइलाई जारी राखे भन्ने कुरा मेरो पढाइको सेरोफेरो शीर्षक पढ्दा पाठकलाई जानकारी हुन्छ र पाठकले आफ्नो अवस्थासँग तुलना गर्न पुग्छन् ।

‘बाल्यकालका केही स्मरणीय घटना’ शीर्षकको लेख पढ्दा पाठन पनि आफ्नो बाल्यकालमा पुग्छन् । बाल्यकालमा गरिने उट्पट्याङ किसिमका घटना र कहिलकाहीँ घटेका दुर्घटनालाई बरालले नढाँटिकन पस्केछन् । यो शीर्षक पढ्दा पाठकमा उत्सुकता तथा त्रास पनि सिर्जना हुन्छ ।

लेखकले आफ्नो टोलको लक्ष्मी प्राथमिक विद्यालय स्थापना र त्यसपछिका विद्यालयका आरोह अवरोहलाई ‘लक्ष्मी आधारभूत विद्यालयमा मेरा ३७ वर्ष’ शीर्षकमा उल्लेख गरेका छन् । विद्यालय स्थापना गर्दाका कठिन परिस्थिति, विद्यालयको भौतिक निर्माण, थप कक्षा अनुमति र स्वीकृति, विद्यालयको विकासका लागि चन्दा, सहयोग र विभिन्न सरकारी तथा दातृ निकायबाट प्राप्त सहयोगको परिचालन सम्बन्धी अनुभव र अनुभूतिलाई लेखकले मिहिन ढङ्गले पस्केका छन् । विद्यालय स्थापना र सञ्चालनमा गर्नु परेको कार्य र भोग्नु परेको अनुभूति सँगसँगै पढ्न पाइन्छ ।

लेखकले गरेका नेपाल तथा भारतका विभिन्न तीर्थस्थल भ्रमणलाई ‘तीर्थ यात्राको कुरा’ शीर्षकमा सर्सर्ती परिचय दिएका छन् । नेपालको मुक्तिनाथ धामदेखि भारतको गया, काशी, प्रयागसम्मका विभिन्न तीर्थस्थलको फोटोसहित परिचय र आफूँले तीर्थ यात्राको अनुभवलाई पाठक सामु राखेका छन् । तीर्थ यात्राको वर्णन यति सजीव छ कि पाठक पुस्तक पढ्दा सम्बन्धित तीर्थस्थलमा पुगेको अनुभूति गर्न पुग्छ ।

एउटा प्राथमिक विद्यालयको शिक्षकले वैदेशिक भ्रमण गर्नु पनि अवसरको कुरा हो । लेखक लक्ष्मी प्राथमिक विद्यालयको प्रधानाध्यापक हुँदा कोकोकु हाइस्कुलको आमन्त्रण जापान भ्रमण जाँदाको क्षण यस पुस्तकमा पढ्न पाइन्छ ‘जापान यात्राका कुरा’ शीर्षकमा । नेपालबाट जापानको ओशाका पुग्दा, जापानको स्कुलको भ्रमण गर्दा र नेपाल फर्किदाका यात्रा वर्णन यस शीर्षकमा छ । यो शीर्षक नियात्रा लेखनको एउटा नमुना बनेको छ । पाठकले पढ्दै जाँदा जापानी संस्कृति, संस्कारलाई नजानिदो पारामा सहसुस गर्छन् र आफूँ पनि यात्रामा सँगसँगै भएको अनुभूति गर्छन् ।

लेखकको विदेश यात्राको अर्को नियात्रा लेख छ ‘दक्षिण कोरिया भ्रमणका कुरा’ शीर्षकमा । लेखकले आफ्ना काहिँला छोराको दीक्षान्तमा दक्षिण कोरिया जाने तयारीमा पासपोर्ट र भिसा लिँदाको वर्णन ज्यादै आकर्षित ढङ्गले लेखेका छन् । भिसा प्रक्रियाका लागि छोरा पठाइदिएको कागजातमा पासपोर्ट नम्बर गलत भएको र सोही कारणले भिसा पाइँदैन कि भन्ने त्रास लेखकमा भइरहेका बेला दूतावासले सजिलै भिसा जारी गरिदिएको, मौसम खराबले जहाज नआएर ह्यात होटलमा रात बिताउनु परेका, धेरै टान्जिट हुँदै कोरिया पुगेको, कोरियाको विकास देखेर आफूँ अचम्मित भएको, कोरियाको विभिन्न स्थानमा घुमेरका कुरा चलचित्रको रिल घुमे झै घुमाउँदै पाठकलाई ती ती स्थानमा शब्दका माध्यमबाट पु¥याएका छन् । यो लेख पढेर पाठक रोमाञ्चित पनि हुन पुग्छन् ।

अनुभव र अनुभूतिको अन्तिम लेख ‘ठूलिविणी वरिपरिका देउताका थान र मन्दिरहरू’ हो । यो लेखमा लेखकले आफ्नो थालथलोका थानीमानी देउता र मन्दिरहरूको तस्बिरसहित सङ्क्षिप्त परिचय दिएका छन् । आफ्ना खेतबारी, भञ्ज्याङ, देउरानीमा स्थानीय रूपमा पूजापाठ गरिँदै आएका देउताका स्थानको क्रमैसँग परिचय दिएका छन् । यसरी परिचय दिँदा ती देउताका थानको पूजापाठ किन गरिएको हो, कहिलेदेखि गरिएको हो, कसरी गरिदै आएको छ भन्ने विभिन्न जिज्ञासाको उत्तर दिन भ्याएका छन् । पुराना पुस्ता अस्ताउँदै जाँदा नयाँ पुस्ताले पूजापाठ त गर्ने तर ती रैथाने देवदेवीका सम्बन्धमा अन्योल नै रहने स्थितिको समाधान लेखकले खोजेका छन् । त्यसैका लागि यो शीर्षक सिर्जना भएको जस्तो लाग्छ । यस लेखमा केही मन्दिरको पनि चर्चा छ । स्थानीय भक्तजनको सहयोगमा मन्दिर निर्माण तथा जिर्णाद्धार भएका प्रसङ्ग पनि लेखमा समेटिएको छ ।

यस पुस्तकको अर्को भाग ‘ठूलिविणीमा प्रचलित आरती र लोकभजन’ शीर्षकमा आरती भजन, गणेशजीको भजन, रामायण भजन र चुड्का राखिएका छन् । यी वास्तममा लेखकका अनुभव र अनुभूति होइनन्, आत्मकथामा पर्ने होइनन् । लेखकले आफूँ जन्मे, हुर्केको परिवेशमा प्रचलित आरती र लोकभजनलाई सङ्ग्रहीत गरेका मात्र हुन् । यहाँ लेखकको मुख्य चिन्ता आफ्नो परिवेशका प्रचलित आरती र लोकभजन लोप हुन्छन् कि भन्ने हो । पुराना पुस्ता अस्ताउँदै जाँदा आरती र लोकभजन पनि सँगसँगै अस्ताउने त होइनन् भन्ने चिन्ता र चासो लेखकमा भएको जस्तो देखिन्छ । त्यसैले, भावी पुस्ताका लागि भनेर आरती र लोकभजनमा लेख्य रूपमा उतारेका छन् । वर्तमान तथा भावी पुस्ताले यही लेख्य आरती र लोकभजनलाई गायनमार्फत चिरकालसम्म जीवन्त राखून् भन्ने लेखकीय मनसाय छ । यस पुस्तकको आरती भजन निकै महत्त्वपूर्ण पनि छ । गणेश र रामायणका भजन पनि उल्लेखनीय नै छन् । लोक भजनमा नाँच्नका लागि गाइने चुड्का; जसलाई रोइला पनि भन्ने गरिन्छ; को सङ्कलन पनि यस पुस्तकमा छन् ।

पुस्तकको अन्तिम खण्ड ‘फोटो खण्ड’ हो । यस खण्डमा लेखकले विभिन्न स्थान खिँचेका फोटाहरू, लेखकले प्राप्त गरेका प्रमाणपत्रहरू, पासपोर्ट र हवाइटिकट पनि राखिएको छ ।

ध्रुव विपश्वीका शब्दमा “मैले टेकेको धरती” पढ्दा पाठक निदाउँदैनन् । आफ्नै परिवेश, लेकबेंसी, घर, गोठ, उकालीओराली, कुल धर्म मान्दै पुज्दै आएका देवी देवता, मौलिक परम्परा संस्कृतिबारे ठेठ स्थानीय प्रचलन र गाउँको परिवेश सुख दुःखले पाठकको मस्तिष्क तरङ्गित बनाउँछ । हृदयस्पर्श गर्छ । पछिल्लो पुस्तालाई साँच्चिकै प्रेरणा दिन, इतिहास खोज्न बुझ्न, केही नयाँ गर्न उत्प्रेरित गराउन यो महत्त्वपूण कृति पढ्न पाउनु आफैँमा सुखद सौभाग्य महसुस हुन्छ ।’ कुमार केसीका शब्दमा ‘यो पुस्तक जानकारीमूलक, कर्तव्य बोध गराउने र चाख लाग्दो छ ।’

पुस्तक सरल भाषामा लेखिएको छ । पुस्तक विषयवस्तु बोधगम्य छन् । पुस्तकका विषयवस्तु जटिल छैनन्, सरल र सरस छन् । पुस्तकमा लक्षणा र व्यञ्जना खोज्नु पर्दैन, अभिधा अर्थले नै पर्याप्त हुन्छ । पढ्न थालेपछि नसिध्याइकन उठ्न मन लाग्दैन । पुस्तकका विषयवस्तु हेर्दा साह्रै सरल छन् तर यी विषयवस्तुले दिन खोजेको सन्देश भने ज्यादै गम्भीर किसिमका छन् । आफ््ना पुर्खा, पितृ तथा मातृ पक्षका कुरा, तत्कालीन समाज र शिक्षाको स्थिति, जीवन सङ्घर्ष, एक जना शिक्षकको जीवनी, स्थानीय थानीमानी देवदेवता, नियात्रा जस्ता विषयले पाठकमा पढ्नका लागि विविधता ल्याएका छन् भने तत्कालीन समयको सन्देश पनि दिएका छन् ।

पुस्तक बाल, युवा तथा प्रौण सबैका लागि पठनीय छ, सङ्ग्रणीय छ । अझ, पुम्दीभुम्दी, ठूलिविणी समुदायको घरघरमा हुनुपर्ने पुस्तक बनेको छ । यस्तै किसिमका पुस्तक हरेक समुदायमा लेखिनु पर्छ भन्ने यो समीक्षकको ठम्याइ छ ।

पचहत्तर वर्ष उमेर नाघिसकेका लेखक बरालले जाँगर निकालेर वर्तमान तथा भावी पुस्ताका लागि अमूल्य कृति दिएका छन् । लेखकको आत्मकथा पढ्दा लेखक कर्मयोगी देखिन्छन् । लेखकको कर्ममा विश्वास अधिक छ । लेखकले जीवनको हरेक क्षणमा नआत्तिकन कर्म गरेका छन्, फलको आशा राखेको छैनन । कर्मअनुसार लेखकले फल पाएकै देखिन्छ । कर्ममा विश्वास गर्ने हर व्यक्तिले पढ्नुपर्ने पुस्तक हो यो । यो पुस्तक नेपालका विभिन्न पुस्तक पसलमा उपलब्ध हुनु पर्ने देखिन्छ ।

कृतिः “मैले टेकेको धरती”
विधाः गैह्रआख्यान–आत्मकथा
लेखकः शोभाकर बराल
प्रकाशकः लेखक स्वयं
संस्करणः पहिलो (२०७९)
पृष्ठः १५२
मूल्यः रु.२२५÷–

प्रतिक्रिया